Saturday 1 May 2010

लोक-तन्त्र? गण-तन्त्र ? प्रजा-तन्त्र खै ?

[राजाबादीले प्रजा-तन्त्र, राजनैतिक दलहरुले लोक-तन्त्र, माओबादीले गण-तन्त्र जे नाम दिए पनि अब जनताहरु जनतन्त्रका लागि जागिसके! नेताहरुको जनतालाई झुक्क्याउने, फुटाउने र कुर्सिका लागि खेल्ने हिँस्रक खेल गाँउ-गाँउले र बस्ती-बस्तीले,तराई-हिमालले बुझिसके, नगर नगरबाट देश भक्त युवाहरु देशको झण्डा बोकेर निस्किसके! आपसी सहयोग र सम्मान गरौँ ! सबै परिश्रमी, मेहनती, कामदार, कार्यालय प्रमूख, व्यापारी, व्यायामी, उद्योगी, पत्रकार, डाक्टर, एन्जिनियर, कुचिकार, सुजिकार, ड्राइभर, प्राध्यापक, राजनैतिक प्रसव-वेदना लिएका राष्ट्र-भक्त मजदूरहरुलाई यही संदेश दिनु होला है! समयमा संविधान लेख्न सकेनन् भने नेताहरु सबैलाई टुंडिखेलमा ल्याएर श्रमजीवी मजदूरले सिस्नो पानी लाउने व्यबस्था गरियोस्!]












बाटै बन्द भयो छ दूर घर त्यो, पैरो गयो भीरमा
पानी बन्द भयो, हिमाल मूल छन्, आली फुट्यो तीरमा !
बुद्धु भै जन संठले धन लूटे, त्यै बुद्धको देशमा
“मौका रे, अब मिल्छ है” भनी पसे, भागेर बेदेशमा

बन्दी, बन्द भयो, गयो-खबरले गर्नु नगर्नु गर्‍यो,
टोलै बन्द भयो अहो, जनमतै-बन्दी नहोस् भन्छु यो!
सासै बन्द भयो-अझै ढुकढुकी? दूर्गन्ध के हो, कहाँ?
शासन् छैन भनौँ? छ पूर्ण नगरी, कोटी रहन्छन् त्यहाँ!
आयो! भन्दछ है-कतै बिरहमा जानी-नजानी कन
नेपाली,बन-बाटिका-सहरमा, द्यौता? सरी सज्जन !
उँचा सोच त छैन है जन कहिँ, मागेर,घेर्दै-हक?
आगो बन्द-छ खै?अझै?सडकमा बाली, नमानी धक|

राजा-रंक मिली लूटान गरियो, नेता निकै चोर छन्
जंगल्कै भरमा लूकेर हिंङने, आतंक-आधार छन् ।
भाँडै हुन् निज देशका कसर यी, भाँडा बन्यो देश ता
मागेरै कति जीवनी चलने हो? चाहिन्छ नेतृत्वता |

बेचे-देश, अझै लिलाम गरने? ईच्छा कहाँ? ए-कता ?
“माराकाट गरुन्, सबै अझ मरुन् ?” रित्तो बनोस् सभ्यता ?
त्यस्ताको अझ चाकडी? बुझ तिमी –‘झुन्डेर मर्नु निको’
लप्वा ख्वाइदिनु, नमान्छ मनले, थप्पु थमाए भलो

खुल्ला भो जन-तंत्र त्यो विवशको, खुल्ला पसे खोरमा
खुल्ला कि भनि योजना जन-चरी, आशा गरेका त्यहाँ !
खुल्ला छन् नर-नारीका हृदय ती, खुल्ला भए संस्कृति
खुल्ला मन्दिरका, पीडा घर-भरी, खुल्ला रहे विकृति

आस्थाका नव-योजना अब गरी, आवाज उठ्नु प-यो
मौरीका अब गोल भै दश-दिशा, शिक्षा बटुल्नु प-यो ॥
देशै भित्र अझै नयाँ सृजनका, विज्ञान जुट्नु प-यो
पर्खालै अब बन्नता नसके नि, सीमा त कोर्नु प-यो ?


कस्तो दुख्ख ग-यौँ, अनिद दिनका श्री-संपति संचियौं
अन्धा छन् जनता, विशाल मनका, आँखा ऊघारी दियौँ !
धोका भो अबता, कठै कति मरे, आमा रूदैँ कुर्दछिन्
“कैले हो, अब बा मिलेर बसने?” दिदी त्यहाँ, सोद्धछिन्


शक्ति कस्रत गर्दछु अब भनि, 'हाम्रा छ-तिम्रा जति'
राजा-काँग्रेसले मिली कति गरे?मावो छ शक्ति-कति?
तिम्रा साथ दिने-छ को त सबमा?आफ्ना,मलाई भन!
देख्यौ?अग्रजका व्यथा मनभरी, आस्था-बिलायौ मन?

कुर्सी मिल्न सके अबश्य बलियो, सैनीक साथी भर
आफ्नै गूट बने सकिन्छ बलले, उक्लिन्छ माथी घर!
आफ्नै-साख्य,मिलौँ छ भ्रष्ट तलको-माथि मिले हुन्न र?
भाँडैमा पनि मित्रता सटहीको-नैतीक को हुन्छ र?

शान्तीपूर्ण छ रे,नयाँ अब हुने?क्रान्ति त भ्रान्ती भयो!
बन्दूकै किन? ह्रिस्रँकै-विवशका? लट्ठी नछुने छ यो!
पड्कन्नन् जन गल्तीले अब कहीँ, बारुद् नबल्ने छरुँ,
भत्कनन् नव-योजना,कहिँ कतै? मजदुर् मिलेरै गरुँ?


शिक्षा छैन अभाग्य त्यो नगरमा, खोजी र रोटी गरी
पर्खिन्छिन् बन पाशमा सजन ती,मिल्दो छ तातो झरी|
नेपाली अबला, बदाम-बिचरी,प्यासा र भोको छ है!
आँशु धर्धर बग्दछन् हीमनदी,यिन्मा दया गर्छ कोई?

“माराकाट गरेर देश नबसे, जाऊ मलाया बरु,
तिम्रो आश त छैन है अब कतै, भाइ नमर्दिऊन् अरू !”
“शिक्षामा अब योजना कति ग-यौ?” सोधिन् नमानी धक
आयो तन्त्र,अझै छ की? दशक भो ! भाग्यो प्रजाको हक !

- अनन्तगोपाल रिसाल [1st May, 2010 - Labor Day]

No comments:

Post a Comment