Wednesday 23 February 2011

संसार यो ईश्वरको फूलबारी संझ



प्रवासमा बस्ने रहर् परदेशीको मन
बादल् पारी देश कहाँ, कस्तो हुन्छ भन?
उकाली र वरालीको मोडमा भेटियो
चौतारीको छहारीले थकाई मेटियो

बास्ना आउँछ संझनाको नाता साईनो पर्ने
देव-देवी भक्ती भाव मनै, मन गर्ने!
पानी मिठो स्वदेशको विदेशको बाटो
माया भन्नु यस्तै रै छ,घाम पानी माटो!
   
विश्व यौटै देश बन्यो,राष्ट्रहरु जिल्ला
राजधानी हिमाल होस्, जे जे त्यहाँ मिल्ला    
घुम्दै फिर्दै संसारको दर्शन् गरी हेर
कहाँ,को को, दु:ख सुख होला यती खेर!

कला आफू स्वतन्त्र छ, संरक्षण गरुँ
साहित्यको निर्माण र ज्ञान घर छरुँ
सभ्यताको मर्म सेवा समाजको द्रष्टा
स्वच्छन्दको विचारमा दिग्विजयी श्रष्टा  

गरीवको धन के हो? नाङ्गो सादा शुद्ध
जाँगर र मेहनत, हेर शिव बुद्ध!
ज्ञान ज्योति तेज दिन्छ चीसो गूफा न्यानो
धर्तीमा यो अलौकिक हिमाल छ छानो

काला खैरा गहुँ गोरा, योटै,मिल खाउ       
धर्म जात बर्ग बर्ण मिलाएर जाउ
राहदानी ईश्वरको दानी सेवी बन
बास बस साँझ घर जहाँ बस्छ मन

सभ्य सौम्य संपदा र संस्कृतिको घेरा        
विज्ञान र प्रविधिको विश्व सानो डेरा  
उदारको जीवनमा डर के को? छैन
दिल खोज भित्र के छ?जात ठूलो हैन

राज-मार्ग बनुन् पर-देशलाई छुने!   
योग्य मार्ग ठूलो सफा सबैलाई हुने
भौतिक र अध्यात्मलाई साझा मानी बाँच  
निर्माणको उँचाइमा प्रेम-नियम् साँच

समाजमा समानता अर्थ नीति एक
ईश्वरको नजरमा सबै पूर्ण देख
धेरै भए देउ बाँड दया धर्म जे छ!
गाँस बास कपासै हो मरी लानु के छ?

जन समावेशी तन्त्र उद्द्योगको खाका
पहाड र तराईको हिमालको भाका
समाजमा मिलिवरी साटासाट माया
समून्द्रको पारी पुग्यौँ न्यानो घाम-छाँया

हिमालमा सृष्टी भयो सातै ऋषिजन   
सातै द्वीप सागरले विभाजित मन
कोही शिव बुद्ध भज्छन् कृष्ण क्राईस्ठ जो
देवी सूर्य दिगँबरी सेवा अल्लाहको

जन्म सिद्ध कर्म सिद्ध संस्कारको धर्म
वैदिकी वा लोक-नीति सनातनी मर्म   
जन जाति संस्क्रिति र मार्ग मीठा खाना
सभ्य कथा विभिन्नता संगीत् बाजा गाना

मानवको सं-रचना कार्य विभाजन
शिक्षा रक्षा ब्यापारमा कृषि संरक्षण   
चारै वर्ण फूलबारी टोल गाउँ जिल्ला
यो धर्तीको बिचित्रता, ब्रह्माण्डमा मिल्ला?   

विचारको सम्मान होस् खुसी जनजाती
सृजनाको आकासमा फूलौँ मन भाँती   
मानवता दया प्रेम जोगिएको बँश    
संसार यो ईश्वरको फूलबारी संझ

अनन्तगोपाल रिसाल- 22 Feb 2011

Sunday 13 February 2011

हृदयकी 'भ्यालिन्टाइन्' मुस्कुराउन् आज



प्यार के हो? बिरुवा कि बोट्मा फुल्ने फूल?
अवसर, मान, सम्मान्, जिन्दगीको भूल?
प्रेम क्या हो? जिम्मेवारी,सम्झौताको डोरी?
जती घुमे,डूले पनि माया लाग्छ मोरी!

माया के हो? सपना की? विपनाको खोजी
थाक्ने गरी लड्लाउ बाबै, थेरै रोजी रोजी!
सरलता समानता दिल भरी भारी
माया देउ लेउ चाँडै बूढो भयौ, दारी?

जीवनको यात्रा, हिँड, नदी-सरी बग
कुरा काट्न, रोक्न, भन्न सक्दैनौ है जग!
समाजको सेवा गरी परिवार साथ
भक्ति प्रेम जागिरहोस् ईश्वरको,माथ!

भोग हो कि? कानूनको प्रेम-थाँती-पत्र
फसी गयौ ब्यवहार्मा? केक्के गर्थ्यौ नत्र?
उपहार ठानी धन्य नम्रताको चिन्ह
ईश्वरको भर परी, सत्यता त्यो चिन!  
'डार्लिङ्',प्यारी भन्नु यौटै उर्वसी वा रम्भा
जुहारात सुनै-सरी हिरामोती चम्पा
सात फन्को अग्नि साक्षी 'सिरियस शिन'
रङ्गी फिल्मी दुनियाँकी 'सिरियल क्विन'

संगै गाउ नाँच हाँस कस्ले गर्छ रीस?
'उ त्यो चाहिँ किन त्यस्ती? उत्ताउली, ‘मीस?’
मुस्कुराए दिनै मीठो रात निन्द्रा लाग्ने
आफ्नी प्रिए रिसाएमा अब कता भाग्ने?

जस्तो लाए पनि राम्रो पोते पाउडर् पीठो
खाना उस्तै स्वादिला छन् वास्नादार मीठो
मन्की रानी धन्की खानी मिजासकी नारी
'स्कट-प्यान्ट' सुहाउँने,'हाइ-हिल'-सारी          

पड्दा नामी काम राम्रो ब्यवहार जाति
दिनभरी सूर्य घाम चन्द्रमा झैँ राती   
न्यानो भनुँ शितल छिन् चीसो न की पोल्ने
अंग्रेजी र हिन्दी पनि नेपाली झैँ बोल्ने!

दिन रात जन्म मृत्‍यु चन्द्र सूर्य हेर
यौटा जान्छ अर्को आउँछ पालो उत्निखेर
मुटु मन बुद्धी आत्मा ज्योति कल्पनाकी
शिव-शक्ति देख्दा भिन्दै एकै अङ्ग हो की?

संस्क्रिती र कला प्रेमी गरीवकी दु:ख
अतिथिको प्रसन्नता धर्म घर्मा जे छ    
आमा छोरी श्रीमति र बहिनीकी रुप
साथी-संगी मन् पराउँछन् 'डान्स-पार्टी'-खूप  
'यस्ती भैदे हुन्थ्यो किन ?'-पैले आफू बन

बाँड देउ समाजमा राख सब्को मन
आफू बने बन्छ देश,बन्छ संसार यो
सफा मार्ग छ जो माया, प्रेम नियमको  
जतिसक्दो माया गर प्राणी जन माथी
कस्ले भन्न सक्छ किन कहाँ हुन्छ साथी
दु:ख पर्दा कस्ले साथ दिन्छ कस्लाई थाहा?   
बुद्धि विद्या संयमले जित्छ द्वेश डाहा

झगडा र रीस राग स्वार्थी रैछ वीउ
मन टाउको दु:ख्छ संधै पेट घाँटी जीउ
घाऊ बिर्स पूराना ती मलम छ लाउ
आदर र प्रेम गर सम्मानको भाउ

परिवार सानो ठीक्क राख मन भित्र
प्रवासको जीवनमा सबै नाता मित्र  
घर-घर्को दुख-सुख भोली देखा जाला
‘जल्ले लान्छ-माया दिन्छ,उस्ले म्वाई खाला!’

प्यार साथ अझै बढुन् मिली हिँडे जोडी
जीवनको लामो मार्ग पुग्छौँ स्वार्थ छोडी    
संसारमा माया प्रिती गर्ने सबैलाई

शुभ-भाव ह्रिदयत: टिकोस् सधैंलाई
मानवता-प्रेम गर्दा राम्रैराम्रो हुन्छ   
निस्वार्थमा श्रद्धा भक्ती दिनु,पछि मिल्छ       
ईश्वरको नजरमा सानो-ठूलो को छ?

हज्जारौँमा दिल दिने सच्चा मित्र खोज!   
आज भयो भोली हुन्न,हुन्न यस्तो माया
चौतारीको छहारी झैँ साथी घाम छायाँ  
बर्ष दिन्मा आउँछ सँझ सम्मानले राज    
हृदयकी 'भ्यालिन्टाइन्' मुस्कुराउन् आज!

- अनन्तगोपाल रिसाल  {14th Feb, 2011/12, Happy Valentine’s Day}

Tuesday 8 February 2011

नेपाली मौलिक प्रविधि ज्ञानको संरक्षण होस्


मन बुद्धि बिचारले ज्ञान पाइरहोस्  
सज्जन र ईश्वरको साथ लागिरहोस्     
ईर्श्या द्वेश घमन्डले सर्वनाश गर्छ
बर्षोँ वर्षा जमे पनि संघ राष्ट्र ढल्छ

गरीव र दुखी रोगी बाल नारी ब्रिद्ध
समाजका सबै अँग साधु संत सिद्ध   
पढ्ने कुरा काम सेवा कुनै सानो हुन्न  
चित्त दिल दिए पछि आत्मा कैले रुन्न
 
देवी माता हाम्रो बुद्धि सद्-भावमा लागोस्
सहमति सम्मानमा राष्ट्र माथी जागोस्
ब्युँझिएर जन-जाति शिक्षा आचरण
पानी बत्ती विद्यालय अस्पताल भन   

संघ-संस्था मिलिवरी सेवा ध्यान भरौँ  
किसान झैँ देश निम्ति गोडमेल गरौँ  
जैविकी र स्वास्थ मीठा तरकारी दिन्छ   
खेती योग्य बनाएमा अन्न फल मिल्छ

श्रुती शास्त्र समाजको लोक सभ्य नारा
सिक जान उत्खनन ईतिहास सारा
विज्ञानले सीप यन्त्र बत्ती बाल घर
जुक्ती लाउ तर्क साँध अनुभुती गर

गरा खेती, गाई पालन्, जैविकीको गाथा
विश्वलाई सिकाउनु पर्व तिथी कथा    
हिमालको बसाईमा रोपाँईको मेला
रोदी भैली उल्लासको जीवनको खेला  

विद्यारम्भ शिक्षा जागोस् कला सीप जानौँ
साहित्य र लेखन् गीत कबितामा राखौँ
थोत्रै लूगा किन नहोस् किताबको ठेली
ज्ञान बाढौँ गाँउघर भेटी बेटी-चेली

घुमीवरी संसारको फन्को लाइसक्यौँ   
राज्निती र रणनिती थाहा पाईसक्यौँ     
खर्पन र टूँडालको बन्चरोको चोट
लोकतन्त्र सिक्यौँ अब योजनाको भोट

ढुँङ्गे धारो हेर बुझ हज्जारोँ ती बर्ष
कसो गरी बनाएछन्? शैली,ज्ञान,खर्च
प्राक्रितिक भ्यागुता र सर्प योजनामा    
हेर देश कहाँ पुग्यो मिल्न नसक्दामा          

त्रिकोणको मन्दिर र मदिराको स्वाद
बली प्रथा तन्त्र यन्त्र पूर्व-जन्म याद
ज्ञान-भूमी, त्याग तप पहाडका गूफा
पहरा र छहरा-मन् स्वतन्त्र छ फूका   
   
स्वच्छन्दमा सिक बुझ वर्ण ब्यवस्था के?
मिलिजुली घर आँगन् दुख-सुख छन् जे!    
शान्ति धर्म स्वर्ग यौटा संसारको स्तूप
एसियाको शिर ताज टल्किएको रूप  

कला सीप मूर्ति रँग पोखरी र ताल
संगीत र नाच छ्न्द थरी थरी ताल
संसारमा पुग्ने पानी बाँडौँ फालाफाल
साधौँ आफ्नै सीप धन हुन्छोँ मालामाल

पर्यटन स्वर्ग भूमी देख्दै मन पर्ने
हिमालको दर्शन् गर नजिकैमा चढ्ने?
आकाशमा बादलमा चिल सरी घुम्छौ?
हैन बुद्ध शिव संझी भित्रै ध्यान गर्छौ?

सौर्य शक्ति हावा हूरी पानी तातो घाम
रोटे पिङ माथि तल घिर्नी विधी जान
पानी तान्ने प्रकरण प्रयोगले सिद्ध
खेती योग्य गरा-धरा बन्ने छ प्रसिद्ध    

नदी नाला बगी बगी सफरको धोको
शहरमा देव-भूमी ईस्ठ-मित्र पोको   
घुम्दा नाता पटुकी र काल्नो नाम्लो डोको
कति बने नयाँ साथी चिन्यौ भन को को?  

के पो हुन्न यै देशमा मिली गर्योँ भने  
धर्म पर्व संस्क्रितीको पाठ पढ्यौँ भने   
प्रविधि र तन्त्र मन्त्र वैदिकी यो जान  
हाम्रो आफ्नै उत्कर्शको मौलिकता ज्ञान!

- अनन्तगोपाल रिसाल  { श्री पन्चमी 8th Feb, 2011}