Wednesday 9 March 2011

नारी सम्मान् आन्दोलन, जारी- बाँकी छ!


नारी सम्मान् हुनै पर्छ,आदि-बासी जस्तै
ईश्वरको विधी हेर, किन छैन उस्तै?
आमा तिम्री दिदि बैनी, श्रीमतीका रुप
पानी शिक्षा चुल्हो खेती,दु:खमा छन् खूप

के पो गर्न सक्दैनन् यी राजनिति देखी
समाजका निर्माण र संविधान, सेखी
पुरुषले दवाएर अब बस्ने हैन   
आन्दोलन जारी हुन्छ विभेद छ,छैन?

ईज्जत र सम्मानले सँसारमा पुग्ने
बराबरी हक तिम्रो यौटै धोको लेख्ने  
खेती घर मिजासले न्याय दिन सक्छौ
आफू छाडी सन्तानको भलो तिमी देख्छौ!

दान,प्यार, समानता मन्दिरमा भेटी
राष्ट्र-वाद एकताको प्रेम मरीमेटी
रण दण्ड सेवा धर्म राजनीति बुझी     
रोपाँई र अन्न पात भर्छौ रुझी रुझी

गाउँ शहर्बाट अब आन्दोलन फूट्छ      
नारीजाती उर्लिएर मेला-बारी जुट्छ  
विश्वलाई हेरी सिक जाँगर र जोस  
दबिएर हैन, उठ, अधिकार खोस

नेतीहरु जाग अब आगामी र भूपु
दिदी बैनी भाउजु साली संधीनी र फूपु
सासू काकी भान्जी छोरी बुहारी र सँगी
परराष्ट्र पर्यटन सरकारी जँगी   

पेट पीठ निक्कै बोक्यौ मालिकको भारी
कला नाच संस्क्रितीको कूटो, चिया बारी
कल्पनाको असीमित प्रतिबिंव मूर्ति
सामन्जस्य समूहको सौदा ईछ्या शक्ति

तिम्रो मन उदार छ हिँसा रोक्न सक्छौ  
शान्ति धर्म उदारको चाहे गर्न सक्छौ
कोरीबाटी चिटिक्कले सिँगारीदेउ केश        
ह्रिदयमा ईश-राखी पाखूरीमा देश

ब्यवस्था र निर्माणमा अर्थ परिचालन्
पढाउने सिकाउने गर जन पालन्
कमजोरी नदेखाउ,आँट, सोच लुक्छ  
तिम्रै नेत्रित्वमा अब राष्ट्र माथि पुग्छ!

हामी तिम्रै भविश्य हौँ, काम थाँती छ!
नारी सम्मान् आन्दोलन, जारी बाँकी छ!  

- अनन्तगोपाल रिसाल [8th March 2011,Int'l Women's Day]
(Disclaimer:all the images referenced here are from Google search)

Wednesday 2 March 2011

श्री पशुपतिनाथ ! हाम्रो नमस्कार छ!

[वैदिक धर्म सनातनी एवँ हामी धेरै नेपालीहरुको आराध्य देव श्रीपशुपतिनाथ भोले बाबाको ठूलो अनुकम्पाले यो संसार,बैभव र विश्व संभव भएको छ भनी मान्दछौँ! भारतले र विश्वले अपनाइसकेको अध्यात्म तथा योग साधनाका पिता, गुरुदेव, प्रमाता, आविष्कारक, अन्वेषक, वेदान्त शास्त्रको ज्ञेय र ध्येय-तत्व, आत्माका शास्वत पथ प्रदर्शक भगवान सदा शिवको जन्म-क्रिडा स्थल नेपाली हिमाली प्रान्तमा अब पून:जागरण हुँदैछ! विशेषत: पशु-पंक्षी, जीव-जन्तु प्राणीका सह्रीदयी, प्रेमी, संरक्षक, प्रतिपालक, तारक, उपकारक र संवर्धक भगवान शिवको बयान गरेर साध्य छैन! आत्मरुप शिवको 'एकोहं वहुस्याम्' शुद्ध-संकल्पले सृष्टिको सुरुवात हिमालयबाट भएको थियो भन्ने भौतिक प्रमाण पाश्चात्य शिक्षाका धूरँधर वैज्ञानिकहरुले गर्लान नगर्लान्, साक्षात प्रमाण पाउलान् न पाउलान् तर पूर्वीय संस्कारले त्यसलाई प्रमाणित, शूत्र-सिद्ध अनि प्रकाशित गरिसकेको छ! ध्यान, निधिध्यासन र प्राणायामका विधामा हामीले विश्वसंग 'लाइसेंस्', राजस्व तथा अधिकार-दान-पत्र, अँश मागेका छैनौँ (आज विश्व बौद्धिक संपदा दिवस) तर त्यस्का लागि चाहिने संरक्षणका लागि विश्वले पूर्वाधार बनाईदियोस् भन्ने सानो अनुरोध मात्र हो!! धर्मका नाममा अविश्वाश र आस्थाका झुपडीमा धर्म विलयन दूर-आशा,संकिर्ण लालचता र बिलासितताको बल्छी र घाँटीमा डोरी नदबाईयोस्! मिलेर रहेको समाजको आस्थाका समीकरण न बिगारियोस, जन-जातीका नाममा सांस्क्रितिक,राजनैतिक असन्तुलन नगराइयोस्! बरु वेद र शास्त्रले; ऋचा र शूत्रले दिइएका अक्षर-अक्षरको अनुसन्धान बढोस्!

सीमा-रहित नेपाल र नेपाली समाजको श्रिजना अब विश्व तथा अमेरिकामा पनि भैनै रहेको छ! बिभिन्न प्रान्तमा बनाईन लागेका श्रीपशुपतिनाथ मन्दिर, स्वयँभूका शान्तिका सन्देश मूलक भव्य नेपाली-मन्दिर, नेपाली-घर, नेपाली-सांस्क्रितिक तथा आध्यात्मिक केन्द्रहरुले यो सिद्ध गर्छ| नेपाली चित्रकला, पौराणिक मंगलमय आङ्गिक दर्शनकला, मूर्तिकला, झ्याल, टूंडाल-चैत्य र वास्तुकला विधानले हाम्रो यथार्थ गणित ज्ञान, ज्योतिषी शास्त्रको निचोड रहस्योद्घाटन गरेको छ! हामी पनि हाम्रो बिश्वमा हराउन लागेको आध्यत्मिकता, योग, परंपरा, संक्रिती अनि भाषा र भावलाई अब पून: जिँउदो बनाउने प्रयासमा छौँ ! विश्वको आध्यात्मिक उच्च शिखर नेपालको हिमालय स्तूपका प्राचीन कृषि पद्धतीलाई, जैविक तथा दैवी जडिबुटीलाई जोगाउनु, जीवन-अम्रित-रस स्वच्छ हिमाली पानीलाई प्रदुषण मुक्त राख्नु, वायु-वाताबरणमा पवित्रता,विशुद्धता र निर्मलता राखसक्नु - आजको बैज्ञानिक यूगको ठूलो अनिबार्यता हो! श्रीपशुपतिनाथ भोले नंगा बाबा सँग केही छैन तर सब थोक छ! मितब्ययिता, शीत-उष्ण सहनका उदाहरणमा खरानी लेपन देखि त्रसित विश्वको विष-पान जस्ता समाज सेवाका असंख्य अलौकिक उदाहरण छन्! निराकारबाट साकार रुप किन लिनुभयो, सारा पशुका पति एक मात्र आशुतोषले किन हिमालयलाई जन्म, क्रिडा-किनार बनाउनु भयो त? सोचौँ, खोजौँ र बनौँ! सनातन धर्मको श्रोत, अपौरुषेय वेदलाई अनुसंधान गर्नु, मौलिक तन्त्र र मन्त्र-शक्तिको सँरक्षण, संबर्धन र समायोजित शिक्षण गर्नु, तिनमा भएका वैज्ञानिक उत्खननलाई पून: व्यवाहारिक र प्रौद्योगिकी इंजीनियरिंग गर्नु हामी सबैको लागि चुनौती को विषय हो! योग, साधना संबन्धी उद्योगका अनुकूल बातावरणको श्रिजना गरिदिनु, स्वाध्याय सत्संगत उपासना परंपरालाई दीर्घरुप दिनु-आजको विश्वको माग हो, यो कुरा सबै राष्ट्र-भक्तले सोच्नु पर्ने बिषय छ! तत्वत: स्वत:स्फूर्त स्वयम्भू, बुद्ध र शिव, कृष्ण र क्राईस्टमा द्वेतता छैन-यो अध्यात्म वेदान्तको सार हो, यही शिवको विश्वलाई अमूल्य संदेश पनि! 
आराद्य देव श्री पशुपतिनाथका परिसरबाट कान्तिपूर टेलीभिजनले गरेको प्रत्यक्ष प्रसारणबाट यो पूस्ठी हुन्छ की अब विस्तारै क्यामरा, दूर दर्शन यन्त्र र भविस्यका प्रविधिले साक्षात् कैलाशबाटै भगवान शँकर कै आशिर्वाद बर्सिने हो कि? जति आशिर्वाद बर्से पनि, घर आँगन बाटै गँगा बगे पनि आस्था, भावना, आत्म-विवेचनामा घडेरी लाग्यो भने केही काम लाग्दैन!]


 श्री पशुपतिनाथ ! हाम्रो नमस्कार छ




गङ्गा माथमहाँ सधैँ लडिबुडि, लुक्छिन् जहाँ चन्द्रमा
नन्दी भाव र भक्तिले शरणमा, बोक्छन् प्रभो! पीठमा
जस्को याद गरे, दया हुन गए, लाटो मिठो बोल्दछ
त्यस्ता पूर्ण अखण्ड ब्रह्म शिवमा हाम्रो नमस्कार छ ||१||




माला सुन्दर सर्प नागहरुका नारी,गला शोभिने
नीलो कन्ठ बनाउने विष पिई योगी सदा लोभिने
ज्ञानी मस्त समाधिको रसलिने,वैरागको सार छ
जस्को दर्शन दुर्लभै छ शिव हे! हाम्रो नमस्कार छ ||२||


नेपाली जन भक्ति भाव ऋजुता सेता हिमाली जटा
पग्लिन्छन् जड पत्थरै पनि हरे! प्यारा पहाडी बुटा
जसको त्याग र ज्ञानले शिखरमा कत्रो चमत्कार छ
शम्भो,शाश्वत, आशुतोष भगवन्! हाम्रो नमस्कार छ ||३||


हात्ती, भालु र व्याघ्र चर्म शिवका, ओड्ने र ओछ्याउने
तेस्रो नेत्र खुलाउने सहज नै नेपाल व्युँझाउने
नौलो सृष्टि हिमालबाट शिवको, रुद्राक्षको हार छ
स्रष्टा, नित्य, अवर्णनीय भगवन्, हाम्रो नमस्कार छ ||४||


गौरी-शंकरको सुद्रिष्टि छ यता, प्राचीनको संस्क्रिति
नागा, वैष्णव, शैवका रचयिता लीला, कलाका-क्रिति
ज्योतिर्लिङ्ग अहा! विचित्र रचना निर्लिप्त साकार छ
एकै गम्य, अनेक मार्ग जनका, शम्भो! नमस्कार छ ||५||

- अनन्तगोपाल रिसाल [सोमबार-अप्रिल २६,२०१०]