Sunday 1 October 2000

नमाग देश के दिन्छ?

नमाग देश के दिन्छ? देशलाई दियौ त के?
गरीब मनको शुद्ध,धन मात्र भएर के?
अन्याय सहनु पाप, अन्यायी अब मेट्नु छ
शान्तिका दूत हौँ हामी,एक भै अब जुट्नु छ |१|

बनायौँ राज्य-संयुक्त,छ एक नव-तन्त्रको
देश मन्दिर हो मेरो,छ यो साझा स्वतन्त्रको!
वीरताले बन्यो देश, जनमानश बिउँझियो,
सीमाना नदिका हुन्थ्ये, रेखा रगतले भिज्यो|२|

इतिहास यहाँ बोल्छ,धन्य मानव दर्शन
कोटी तेत्तीस छन् देव,तिमी एक सनातन|
भण्डार,योगको खानी,प्रयाग,तीर्थको मूल
नेपाल स्तूप हो,विश्व-संम्पदा,प्रेमको पूर|३|



माहुरी हुरीमा बग्छ,तर साथ छ गोलमा
महको रसको मूल्य,बदलिन्न भूगोलमा|
मन्दिरै देश हो मेरो,छ योग-धर्मको पुरी
परस्पर रहेका छन्, मिलेका घरका धुरी|४|



नयाँ जीवन फुल्दैछ, विश्वका हर देशमा
प्यारो सृस्‍टि कतैबाट,हिमाली-बन शेषमा|
नेपाली सब लौ जागौँ, जहाँ छौँ है पूरातन
रँगियो,फर्कियो दिन, खुशीको घर-आंगन|५|

सन्देश शान्तिको आयो,हरायो देशको दशा
विज्ञान-ज्ञान मौलायो,पलायो एकता जरा|
विशाल मनको फाटो,गयो टाटो विभिन्नता
बर्सियो ज्ञानको धारो,बिर्सेर दीन-हीनता |६|

माराकाट गरौँ बन्द, भिन्नता यो समाजको
बोका-बाच्छा सबै एक, परिवार छ गोठको
जात भिन्न सबै एक, हैन मानव निर्मित
अधिकार दया प्रेम, अखण्ड गर सिर्जित|७|

नेपाली अब ता,मिलाउ समता,शिक्षा नयाँ छर्कन
यस्तो योज-नयाँ गरेर सबमा,सँसारमा गर्जन!
शक्ति छन् सबमा,गरा-हिमधरा,आशा नयाँ चम्कन
शान्तिका अबधूत हौ नव-मूना,विद्या नयाँ छम्कन|८|

- अनन्‍तगोपाल रिसाल (Oct 2000)