Wednesday 2 March 2011

श्री पशुपतिनाथ ! हाम्रो नमस्कार छ!

[वैदिक धर्म सनातनी एवँ हामी धेरै नेपालीहरुको आराध्य देव श्रीपशुपतिनाथ भोले बाबाको ठूलो अनुकम्पाले यो संसार,बैभव र विश्व संभव भएको छ भनी मान्दछौँ! भारतले र विश्वले अपनाइसकेको अध्यात्म तथा योग साधनाका पिता, गुरुदेव, प्रमाता, आविष्कारक, अन्वेषक, वेदान्त शास्त्रको ज्ञेय र ध्येय-तत्व, आत्माका शास्वत पथ प्रदर्शक भगवान सदा शिवको जन्म-क्रिडा स्थल नेपाली हिमाली प्रान्तमा अब पून:जागरण हुँदैछ! विशेषत: पशु-पंक्षी, जीव-जन्तु प्राणीका सह्रीदयी, प्रेमी, संरक्षक, प्रतिपालक, तारक, उपकारक र संवर्धक भगवान शिवको बयान गरेर साध्य छैन! आत्मरुप शिवको 'एकोहं वहुस्याम्' शुद्ध-संकल्पले सृष्टिको सुरुवात हिमालयबाट भएको थियो भन्ने भौतिक प्रमाण पाश्चात्य शिक्षाका धूरँधर वैज्ञानिकहरुले गर्लान नगर्लान्, साक्षात प्रमाण पाउलान् न पाउलान् तर पूर्वीय संस्कारले त्यसलाई प्रमाणित, शूत्र-सिद्ध अनि प्रकाशित गरिसकेको छ! ध्यान, निधिध्यासन र प्राणायामका विधामा हामीले विश्वसंग 'लाइसेंस्', राजस्व तथा अधिकार-दान-पत्र, अँश मागेका छैनौँ (आज विश्व बौद्धिक संपदा दिवस) तर त्यस्का लागि चाहिने संरक्षणका लागि विश्वले पूर्वाधार बनाईदियोस् भन्ने सानो अनुरोध मात्र हो!! धर्मका नाममा अविश्वाश र आस्थाका झुपडीमा धर्म विलयन दूर-आशा,संकिर्ण लालचता र बिलासितताको बल्छी र घाँटीमा डोरी नदबाईयोस्! मिलेर रहेको समाजको आस्थाका समीकरण न बिगारियोस, जन-जातीका नाममा सांस्क्रितिक,राजनैतिक असन्तुलन नगराइयोस्! बरु वेद र शास्त्रले; ऋचा र शूत्रले दिइएका अक्षर-अक्षरको अनुसन्धान बढोस्!

सीमा-रहित नेपाल र नेपाली समाजको श्रिजना अब विश्व तथा अमेरिकामा पनि भैनै रहेको छ! बिभिन्न प्रान्तमा बनाईन लागेका श्रीपशुपतिनाथ मन्दिर, स्वयँभूका शान्तिका सन्देश मूलक भव्य नेपाली-मन्दिर, नेपाली-घर, नेपाली-सांस्क्रितिक तथा आध्यात्मिक केन्द्रहरुले यो सिद्ध गर्छ| नेपाली चित्रकला, पौराणिक मंगलमय आङ्गिक दर्शनकला, मूर्तिकला, झ्याल, टूंडाल-चैत्य र वास्तुकला विधानले हाम्रो यथार्थ गणित ज्ञान, ज्योतिषी शास्त्रको निचोड रहस्योद्घाटन गरेको छ! हामी पनि हाम्रो बिश्वमा हराउन लागेको आध्यत्मिकता, योग, परंपरा, संक्रिती अनि भाषा र भावलाई अब पून: जिँउदो बनाउने प्रयासमा छौँ ! विश्वको आध्यात्मिक उच्च शिखर नेपालको हिमालय स्तूपका प्राचीन कृषि पद्धतीलाई, जैविक तथा दैवी जडिबुटीलाई जोगाउनु, जीवन-अम्रित-रस स्वच्छ हिमाली पानीलाई प्रदुषण मुक्त राख्नु, वायु-वाताबरणमा पवित्रता,विशुद्धता र निर्मलता राखसक्नु - आजको बैज्ञानिक यूगको ठूलो अनिबार्यता हो! श्रीपशुपतिनाथ भोले नंगा बाबा सँग केही छैन तर सब थोक छ! मितब्ययिता, शीत-उष्ण सहनका उदाहरणमा खरानी लेपन देखि त्रसित विश्वको विष-पान जस्ता समाज सेवाका असंख्य अलौकिक उदाहरण छन्! निराकारबाट साकार रुप किन लिनुभयो, सारा पशुका पति एक मात्र आशुतोषले किन हिमालयलाई जन्म, क्रिडा-किनार बनाउनु भयो त? सोचौँ, खोजौँ र बनौँ! सनातन धर्मको श्रोत, अपौरुषेय वेदलाई अनुसंधान गर्नु, मौलिक तन्त्र र मन्त्र-शक्तिको सँरक्षण, संबर्धन र समायोजित शिक्षण गर्नु, तिनमा भएका वैज्ञानिक उत्खननलाई पून: व्यवाहारिक र प्रौद्योगिकी इंजीनियरिंग गर्नु हामी सबैको लागि चुनौती को विषय हो! योग, साधना संबन्धी उद्योगका अनुकूल बातावरणको श्रिजना गरिदिनु, स्वाध्याय सत्संगत उपासना परंपरालाई दीर्घरुप दिनु-आजको विश्वको माग हो, यो कुरा सबै राष्ट्र-भक्तले सोच्नु पर्ने बिषय छ! तत्वत: स्वत:स्फूर्त स्वयम्भू, बुद्ध र शिव, कृष्ण र क्राईस्टमा द्वेतता छैन-यो अध्यात्म वेदान्तको सार हो, यही शिवको विश्वलाई अमूल्य संदेश पनि! 
आराद्य देव श्री पशुपतिनाथका परिसरबाट कान्तिपूर टेलीभिजनले गरेको प्रत्यक्ष प्रसारणबाट यो पूस्ठी हुन्छ की अब विस्तारै क्यामरा, दूर दर्शन यन्त्र र भविस्यका प्रविधिले साक्षात् कैलाशबाटै भगवान शँकर कै आशिर्वाद बर्सिने हो कि? जति आशिर्वाद बर्से पनि, घर आँगन बाटै गँगा बगे पनि आस्था, भावना, आत्म-विवेचनामा घडेरी लाग्यो भने केही काम लाग्दैन!]


 श्री पशुपतिनाथ ! हाम्रो नमस्कार छ




गङ्गा माथमहाँ सधैँ लडिबुडि, लुक्छिन् जहाँ चन्द्रमा
नन्दी भाव र भक्तिले शरणमा, बोक्छन् प्रभो! पीठमा
जस्को याद गरे, दया हुन गए, लाटो मिठो बोल्दछ
त्यस्ता पूर्ण अखण्ड ब्रह्म शिवमा हाम्रो नमस्कार छ ||१||




माला सुन्दर सर्प नागहरुका नारी,गला शोभिने
नीलो कन्ठ बनाउने विष पिई योगी सदा लोभिने
ज्ञानी मस्त समाधिको रसलिने,वैरागको सार छ
जस्को दर्शन दुर्लभै छ शिव हे! हाम्रो नमस्कार छ ||२||


नेपाली जन भक्ति भाव ऋजुता सेता हिमाली जटा
पग्लिन्छन् जड पत्थरै पनि हरे! प्यारा पहाडी बुटा
जसको त्याग र ज्ञानले शिखरमा कत्रो चमत्कार छ
शम्भो,शाश्वत, आशुतोष भगवन्! हाम्रो नमस्कार छ ||३||


हात्ती, भालु र व्याघ्र चर्म शिवका, ओड्ने र ओछ्याउने
तेस्रो नेत्र खुलाउने सहज नै नेपाल व्युँझाउने
नौलो सृष्टि हिमालबाट शिवको, रुद्राक्षको हार छ
स्रष्टा, नित्य, अवर्णनीय भगवन्, हाम्रो नमस्कार छ ||४||


गौरी-शंकरको सुद्रिष्टि छ यता, प्राचीनको संस्क्रिति
नागा, वैष्णव, शैवका रचयिता लीला, कलाका-क्रिति
ज्योतिर्लिङ्ग अहा! विचित्र रचना निर्लिप्त साकार छ
एकै गम्य, अनेक मार्ग जनका, शम्भो! नमस्कार छ ||५||

- अनन्तगोपाल रिसाल [सोमबार-अप्रिल २६,२०१०]

No comments:

Post a Comment