Tuesday 1 June 2010

नेपाल जिउँदै स्वर्ग भैसक्थ्यो ?


भैँसीको न्वारन गरेर गाई हुने भए,दिनभरी नुहायेर परालले किन पुछ्नु पर्थ्यो?
धान रोपेर तुलसी फल्ने भए, बारीलाई सम्याउनु र सुद्याउनु किन पर्थ्यो?
पशुलाई लूगा लगाइदिएर मानिस बन्ने भए, खोरमा थुनेर किन राख्नु पर्थ्यो?
खोरमा थुनिएर टीको-लगाई नेता हुने भए, जनताले भोट किन हाल्नु पर्थ्यो?

जनताले चुन्दैमा विद्वान हुने भए,दूर्-दर्शिताले किन हेर्नु पर्थ्यो?
बुद्ध जन्मिदैँमा शान्ति आउने भए,विश्वमा संयमका पाठ किन पढाइनु पर्थ्यो?
पाठ सिकाएर सभासद बन्ने भए संविधान किन बनाइ रहनु पर्थ्यो?
संविधान बन्दैमा देश बन्ने भए- बाटा, धारा र स्कूल किन बन्नु पर्थ्यो?

बाटा,स्कूल बन्दैमा विद्द्यार्थीले पढ्ने भए, हड्ताल किन गरिनु पर्थ्यो?
हड्ताल गर्दैमा जादुले सबैकुरा उब्जिने भए बन्दूक किन भिर्नु पर्थ्यो?
बन्दूक भिर्दैमा बलिया हुने भए,बुद्धी र कलम किन तिखार्नु पर्थ्यो?
अँगार दल्दैमा कला हुने भए, साँझ बिहान अँगेना किन पोत्नु पर्थ्यो?

योजना गर्दैमा संपत्ती फल्ने भए, दिन-साँझ किन पसिना पुछ्नु पर्थ्यो?
तारहरु रेट्दैमा संगीत हुने भए,रियाज र आलाप किन गाउनु पर्थ्यो?
आलाप र भाषण गर्दैमा बत्तीबल्ने भए, हिम-नदिमा बाँध किन बाँध्नु पर्थ्यो?
बत्ती र जात्रा गर्दैमा समझदारी हुने भए,आली-आलीमा साँध किन गाड्नु पर्थ्यो?

बोल्यो भन्दैमा सबले सुन्ने भए, लेख्यो भन्दैमा सबले पढ्ने भए,
श्रस्टा र सर्जकलाई बोलाएर किन,सत्यताको रहस्योद्घाटन गर्न सम्मेलन गर्नु पर्थ्यो?
'कन्फरेन्स'-गर्दैमा प्रेम गड्ने भए,महिनै पिच्छे किन 'रजिस्ट्रेसन' बाँड्नु पर्थ्यो?
कुरा गर्दैमा भान्छामा भात पाक्ने भए,प्राविधिक जागिर किन खानु पर्थ्यो?

रम-झम् जात्रा साँझैले हाम्रा चुनौतीहरु निखर्ने भए, बिदेशमै किन लाग्नु पर्थ्यो?
विश्वका गैर-नेपाली र पर-देशीले केही गर्न सक्ने भए,धेरै अघिनै केही भैसक्थ्यो!
पूँजीवादको गाँजर देखाएर गधालाई केही जमीन्दारले काम लगाए झैँ,
निस्वार्थ समाज सेवीलाई नपुँसक बनाएर नेताहरुले खच्चड् चडेझैँ,

तिनै भैँसीहरु अब देशभित्र मात्रै नभएर विदेशमा पनि जात्रै-जात्रामा घाँस खान पल्केका छन्,
बोलाउन नबिर्सिनु होला, सोखले टीको लगाएर,गाई दान चन्दा गरिदिनु होला,
भोली पर्सी सम्ममा तपाँइकै ठेगानामा लगानी-परिचय-पत्र आइपुग्थ्यो,
ईमेल र चिठ्ठीले बाढी बगाएर संस्था अगाडी बढ्ने भए,
हिमाल पनि अहीले सम्म बगेर,पग्लीएर सागरमा बिलिन भईसक्थ्यो,

दोहोरो नागरिकता मिलेका भए सारा बिदेशी आज नेपाल गैसक्थ्यो?
नेपाल जिउँदै स्वर्ग भैसक्थ्यो ?

-अनन्तगोपाल रिसाल [June 1st, 2010]

No comments:

Post a Comment