तेरो मेरो स्वार्थले नै सर्वनाश हुन्छ
लालाबाला दुखै दुख: नारी मन रुन्छ!
हवाइजहाज अप-हरण हाम्रै मन जस्तो
जता हावा धम्की डर किन्न सक्ने सस्तो
दसै वर्ष हुन लाग्यो न्युयोर्कको हरण्
आतँक र विध्वँसमा ईश्वरको शरण्?
'अल्काईडा' र 'अम्रिकाको' घमासान युद्ध!
सँसारमा कतिजना रैछन् खोज शुद्ध?
हेर्दा उस्तै प्रतिरूप ब्यापारको क्षेत्र
सँसारको केन्द्रलाई ताकी क्षेप्यास्त्र
हाहाकार योजनाले कति मुटु रोयो
लोभ पाप बिनाशले बिमारले छोयो!
जुम्ल्याहालाई-तारो पारी हिर्काइ अस्त-व्यस्त
कौरबले मुटुभित्र पाण्डवको ध्वस्त
युगौँ युग शत्रुताले महामारी ल्यायो
रिस-राग बुद्धिलाई अँगारले खायो!
रावणले विज्ञानको जनतन्त्र खोसी
भयाभय संसारमा राक्षसलाई पोसी
स्वर्ग-नर्क के नै रे छ?जान्यौँ आफन्तमा?
धर्म-हुने-सर्वनाश डाहा आतँकमा?
जनतन्त्र मात्रै पनि पुग्दो हो त किन?
विश्वबिच समानता थोरै, धेरै ॠण
मिलिवरी साथ दिए हुन्न विभाजना
मन-मिले पुगिहाल्छ यौटै समाजमा
स्वतन्त्रकी सँरक्षिका सीता शान्ति हेर्छिन्
लँकालाई कालो धुवाँ पवनले फेर्छिन्
जटायु झैँ धर्म-चरी घुम्छे रहरमा
हजारौँको जीवन गो ब्यर्थ नगरमा
आगो मुस्लो दन्दनाई गोला बारुदमा
स्वप्न सरी भयो कति दँगा फसादमा!
लाखौँ लाख बस्ती सरे मार्यो हतासले
दु:ख-दिन-ल्यायो कठै किन बतासले?
लूकी हिँड्ने साथी शत्रु चिन्नलाई गाह्रो
भित्रै भित्र खाइ सक्छन् दिल गर्छन् साह्रो
आफू चिन अर्काबाट हुने छैन सुख
सँसार् तर देखाउँछ, खाने-अर्कै-मुख!
मनलाई हरण् गर्छ लोभ क्रोध काम
बुद्धिसँग सँधी खोज्छ चित्त आराम
भने जस्तो नपाएमा बुद्धि सम्हालिन्न
अहँकार आगोसरी ज्वाला मासिन्न
श्रेय-प्रेय जीवनका दुबै हुन् आधार
प्रेम-नियमले बाँध समाजको धार
निडर र निष्पक्षको कदर् गर्नुपर्छ
जन्मे पछि शरीरले कठै! मर्नुपर्छ
रोकौँ ठोकौँ आँफैभित्र बाहिर् आउनेलाई
सँयमको चरित्रता सँधै भरीलाई
जीवनको परिक्षामा लथालिङग् गर्यो
यौटै सानो जहाजले भताभुँङग् गर्यो!
परिवार साथै थिए जादु-गौरवको
युद्ध अब शुरु भयो पान्डु-कौरवको
तिमी पनि यौटा पक्ष लिनै पर्ने भयौ
यता छैनौ भने साथी उतातिर गयौ
निश्पक्षको अब कुनै सरोकार छैन
भोटहाल्ने?निर्णयको सरकार हैन
जस्को शक्ति उस्कै भक्ति कतातिर जाने?
सँस्कार र सिद्धान्त खै?आतँकले ताने?
हाम्रो मन रोकौँ त्यस्तै अपहरण् गर्ला
कतै माथि चढाएर अर्काले पो लग्ला
बारुदका झोला लिइ बोल्छन् मनपरी
होश गरौँ पल-क्षण घुम्ने वरिपरी!
मोह-जाल रिस-राग नाम-रुप हुन्न
नाटकको पात्र सरी भन दृढ रुन्न
विवादको जरो फ्याँकौँ जानी मल-मूत्र
न्यायाधीश जस्तै गरौँ निर्णयको शूत्र
विमानको दुर्घटना बाँकी छैनन् यात्री
वरिपरी रमिते र फसिगए जात्री
नजावौँ ती बाटो कुनै जानु छैन गाउँ
दुखै दु:ख सँसार यो केमा मन् रमाउँ?
सोचौँ कि त राम्रै राम्रो-नदी बगे सरी
नसोचेर बस्न सक्छौँ?द्वार टम्मगरी!
आउन दिवौँ कि त चित्त छान्नेकाम गरौँ
बुद्धिलाई सँझाएर ईश भर परौँ !
मृत्यु सरी दुर्घटना ठ्याक्क आउँदैन
अथिती झैँ ढोका खोलौँ थाहा पाईँदैन
तयार हौँ सधैँभरी कुनै रुप लेला
ईश भर पर्ने अब निडर त्यो होला
आँखा चिम्लौँ ईश्वरले हाम्रो भलो गर्छ
सत्व-रज-तम मिले सँसार यो बन्छ
गुण भन्दा माथि बसौँ गर्दैन बिनाश
काम लोभ आतँक यी रिस सर्वनाश!
- अनन्तगोपाल रिसाल [June 17th 2010]
No comments:
Post a Comment