Wednesday 24 July 2013

सुवर्ण-पर्ण-पत्र

सुवर्ण-पर्ण-पत्र

सहरको भींडबाट, यातायातको चाप  प्रदुषणबाटजीवनमा बिना लगामको दौडाइबाट एकैछिन पनि अडेर हेर्ने सकियो भने (कहिले काहिँ साधारण सुकेर मर्न लागेको, हुरीले हुत्याएर ल्याएको, झ्यालमा अड्किएको) पातले पनि जीवनलाई समय सुहाउँदो महत्वपूर्ण दर्शन दिनसक्छ ! साधरण अर्थमा आफ्नो पन, जिउने कला, समय-गति र आफ्नो उपयोगिता मात्र बुझ्न सकियो भने पनि यो भव-सागरमा श्वरीय कृपा बर्सिनेछ! 'देता है तो भगवान् उपरसे क्यों, खिड्कीसे ही ज्ञान दे सकता है' कुराको चरितार्थ यो सानो कबिता द्वारा प्रस्तुत गर्न खोजेको छु! मित्र-दाई, बद्री पौडेललाई साधु-बाद दिंदै उहाँको घरको झ्यालमा पाइएको यो 'मेपल' पातको फोटोलाई हेरेर यो कबिताको श्रस्टा बन्ने सौभाग्य मिलेको छ! मेपलले (Wisdom Letter of Golden Maple Leaf -) हाम्रो सहरी, प्रवासी, मानव जीवनमा के सेवा र सन्देश दिएको छ त? 



जीवन-प्रेम-चक्र

आकाशमा उड्छु माथी, घर छानी छानी
जस्ले मेरो माया गर्छ, हेर्छु मन मानी !
आफ्ना मार्ग,गति छैनन्,ढल्पल् बगिदिन्छु
संदेश छन्? भन केही, घर्घर् लगिदिन्छु ।१।


धर्म-कर्म भोगुं भनी,ईन्द्रिय यी धसें,

लाखौं बर्ष भूमण्डल, स्वर्गतल फसें,

धर्म-पाप बराबरी, रुखबाट खसें !
ईश्वर-को?खोजी गर्दै, झ्यालमा आइबसें, 

मानिसले हेरे होलान्,जिउँदो छँदा रूख,
मरेपछि बल्ल बुझ्छु ,के हुन्?सुख-दुख?।२।


यौटा पाटो पारदर्शी,र्को लुकेका ती
मरे पछि थाहा होला,मेरो माया,किर्ति,
फल भने फली दिन्छु, फूले मरिदिन्छु,
संगै राख्छु मात्रै भन, म त झरिदिन्छु।३।
पूर्वजन्म-कर्म
भाग्य मेरो, रेखा कोर्यो, देश-विदेश पुगेँ,
उत्तरको जन्म, पल, टापू, टाढा डुलें ।
नसा नसा छामी हेर, बंश मेरो यिन्मा
प्रलयले रूख ढाल्छ,बल्छ एकै छिन्मा।४।   


झ्यालबाट टिपी, राख, किताबको पाना             
हृदयको भित्र बस्छु, अक्षर साना-साना,
सुकी जाउँला भोली,पर्सी, आज माया गर,
छोडी जालाउ घर-डेरा, तिम्रो के को भर? ।५।


छाती भरी,वेद-मन्त्र, केही लेखिदेउ,
एक-दुई अक्षर,सम्झनामा,हृदयको छेउ।
च्यातिएका धर्म-कर्म,फेरि सिउने छु
सन्तानले स्मृति गरुन्,हेरी जिउने छु
ईश्वरको स्मृति गरी,त्यतै जान पाउँ,
उन्कैसाथ छहारी भै,फेरि आउँन पाउँ!।६।

संसार, मायाको जाल

रातो रङ्ग, पहेँलो र हरियो को जोडी
हुरी लाग्यो, बिछोडीएँ, नाता,मोह तोडी,
यौटा मात्र आश तिम्रो, 'क्यामरा'को भित्र
मित्र भन्नु को नै छ र? टाँसिएको चित्र ।७।


जन्मिएको घर फेरि, जान भ्याउँदिन   
आमा, बाबु, साथीलाई, चिन्न पाउँदिन !
हिउँदमा तल खस्छु, कुल्चिएर हिँडछन्
बतास र पानी, सास्ती,आपसमा भिंडछन् ।८।

मृत्यु निश्चित छ
चुँडिएको चङ्गा सरी, छैन मेरो पाप
तीनकुने,पान-बुट्टे, हृदयको छाप!
त्रिशक्ति छन् विचित्रका,सोध्लाउ के छ हात्मा ?
ईश्वरको रुप उही, आत्मा-परमात्मा ! ।९।


हल्का छु म, हल्काराले देख्न पाउंदैन,
स्वतन्त्रको मार्ग लिन्छु, खर्च चाहिंदैन!
आज यता,भोली उता, मौषमको शिक्षा
संयम र साधनामा,जीवन हो भिक्षा !


अंश हामी उनैबाट, छुट्टीएर आयौं
बिर्सिएर आफ्नैरूप,कस्को गीत गायौं?
कामना या कल्पना क्यै,कुरा गर्न सक्छु,
पखेटा र प्वाँख छैनन्, कति उड्न सक्छु ? ।१०।

तर मेरो नाश छैन
विवशमा निर्जिव भै,आत्मा छुट्टीएछ-
आखाँ,कान,नाक छैन, कहाँ गएँ? म-छ?        
ईश्वरको विधान छ, मिति-नियमको  
मूल हाँगाबाट छुट्यौं, पाँचै-तत्व, न हो! ।११।  


नाश हाम्रो हुने छैन, निवास यो डेरा,
छोडी जानु पर्ने रैछ, नाता,मान,घेरा!
साधु, सन्त व्यवहार, ढोका घच्घच्याँए
झ्यालबाट बैराग्यको,झण्डा फर्फराएं,
भोगबाट मुक्ति लिन, बाँच्नलाई खाएं,
निमेषको जीवनी यो, खरानी छ, लाएं।१२।

म कहाँ कहाँ पुगेको छु त?

बीजबाट हात-खुट्टा, हाँगा, रुख बन्छु,
धर्तीबाट शुरु हुन्छु,आकाशलाई छुन्छु!
हुरीसंग पिङ्ग खेल्दै, मच्चिएर, उड्छु
बिना भिसा,बेतालमा, देश-विदेश गुड्छु!

जापान र नर्वे पनि भ्रमण गरेको छु,
मीठा मीठा रस बनी, सेवा गर्न सक्छु!
ईटाली र जर्मनीमा सम्मान् मिल्यो पैले,  
भारतको एकादश, स्थान पाएँ, मैले!
फ्रान्स हुँदै, युरोप र क्यानडामा पुगें,
प्रकृतिको, राष्ट्र-चिन्ह, प्रतीक यो बुझें! ।१३।


कतै नदी, सागरमा, वर्लिएर, बग्छु,
चरा, किरा,खियाएर,किनारामा लग्छु
जीवन मेरो बितेको छ, सेवा, समाजमा
नियम र निषेधको,घेरा, साधनामा!।१४।

मेरो मूल र विवर्त-रुप
पिपल र मेपलका, बान्की मिलेका छन्,
ब्रह्मा विष्णु महेशले बाश गरेका झन्
सत्व-रज-तम भिन्न, देव-दानवका,
विश्वरूप दर्शन् गर यौटै, मानवका
चांडै फूल्ने,फल्ने हुँदा, प्रेम पाएँ मैले,
घर,बजारमा देख्छौ, जताततै ऐले!


तीखा तीखा नंग्रा जस्ता,तामसको भान
सत्व,ज्ञान,तपस्यामा,के को अभिमान?
चैतन्य र आनन्दको,स्वानुभूति चाख

नाम-रुप-जप स्वाद,यौटै नशा राख!
सहनशील शक्ति हुँ म,महत्वको चिन्ह,
तिमी जो हौ-त्यही हुँ म,छैन केही भिन्न।१५।


ईश्वरीय पत्र , उपयोगिता
शृंगारको रूख हुँ म, देख्दै रातो-पीरो,
तन्नेरीको जवानीमा, सिनेमाको हिरो!
सजिलो रे! रोपाईं झैँ, भन्छन् आक्रामक,
गुणगान, प्रशंसाले, विश्व-ब्यापक! ।१६।  


'बोन्साई' भन्छन् सानालाई, शाखा-उपशाखा,
मन-मोही,दृश्य-दर्शन्,जात लाखा-पाखा !
हाँगा काट्यो सारीदियो, जरो गाडी हाल्छु,
सजिलो छ पेट,थाली, पात हाली हाल्छु ।१७।


अम्रिकाको पर्यटन,हाम्रै भर पर्छन्,

उत्तर्दक्षिण-पूर्व-पश्चिम्,जै-जैकार गर्छन्

कतै दाउरा बनी तातो,स्वागत् सर्बतले,

हाम्रै गुण गाउँछन् सबै, तराई-पर्वतले ।१८।



गाइले खाए दुध,मल, बनको स्याउला
यज्ञ,पाठ,पूजा,ध्यान-स्वर्ग जाउँला !
बारी,'लन','मल्च' हाले,राम्रो देखिने,
काठ-घर,कागज बने,पुस्तक लेखिने !

चास्नी मीठो सिरपले, धूँवा कोईलाले-
जिब्रो चाटे एसियाले, खैरे-गोरे, काले
‘चिनी भनी चिनिँ हालें,’ भन्छन् चिनियाँ
नजान्नेमा मलाई कोही,छैन दुनियाँ ।१९।


‘मै पो रे छु यौटा सत्य’, सबै रैछ झुट्टा,
तिम्रो घर बनेको छ, हाम्रै हात,खुट्टा,
कठोर छु हिर्काउँछु, खेल्ने ब्याट, डण्डा
बोकी हिंड्छु, सम्मानले, प्यारो देश झण्डा ।२०।


संगीतले भरिएको, उपकरण यन्त्र,
सजाउँछन् बाजालाई, औजार,लेख-पत्र
गितारको तारलाई, बल गरी थाम्छु,
कालीगढि रुचाउँछन्, चंचल छु, जान्छु ।२१।


ढोलकादी बनेको छु, शब्द बजिदिन्छु
माहुरीले हुल बाँधे, मह बनिदिन्छु
कागज बन्छु आकारमा, आयतन छैन-
कहिले काहिँ अल्मलिन्छु, आफैँ होकी हैन ।२२।


राजादेखि रंकसम्म, बिचित्रको रुप
बालिदिन्छन् भक्ति भाव, मग्मगी यो धूप,
सयौँ वर्ष सेवा गर्दै, जीवन यो जावोस्!
ढल्की, पल्की शहरमा, फर्की आउन पावोस् ! ।२३।

No comments:

Post a Comment