Thursday 7 November 2013

दिपा-बली


काती धागो सहज-सुत ली योजना भाव बुन्छु
न्यानो पाई शितल दिपमा छुन्छु डुब्छु नुहुन्छु
बत्ती गाँसी झलल बलने सत्य सान्भी प्रकाश
साक्षी प्याला अडिग-रहु आ-धार छन् योग-पाश

हावा हूरी चमक गुम भै लाग्न सक्ला बतास
छोपी धैर्यी सहनशिल भै संयमी तेज पास
जल्दा बाँकी तरल मद गै छैन केही नि-शेष:
चिम्ली आँखा सघन म बलूँ भक्ति-भावै विशेष

हेर्ने दृष्टी फरक नव भो ज्ञानमा स्पष्ट सुन्छु
जल्दो-मार्गै लिइकन म ता तापमा नष्ट हुन्छु
हीरा मोती निरस चमकुन् दियो उम्दो जवानी
आत्मा जानी झलमल बल्यो दिव्य ज्योती कहानी

बुझ्नै पर्ने असल छ कुरा स्थिति कुन् हेर्नु कर्-छ
कस्तो मीठो चलन छ-हरी पाँच यो जोड्नु पर्छ
चाहेको त्यो परम सुख खै? बाल बल्दैन निभ्छ
ज्वाला पानी अमर गरदै धर्ती आकाश मिल्छ

तारा हुन्छन् नव-ग्रह कयौं खै त?आफू उज्यालो
राती यौटै झलमल गरी चाँदनी सूर्य ल्यायो-
गूणी त्यो हो सरल मंनको सोचदै झट्ट गर्छ
सानो बत्ती तर छ नजिकै अन्धमा चट्ट बल्छ

No comments:

Post a Comment