Thursday 2 September 2010

कृष्णँ-बन्दे-जगत्गुरुम्

वाशुदेव-देवकीका प्रिय,पुत्र,प्यारा
आफ्नै सृष्टि आफ्नै रुप, ब्रह्माण्डमा सारा
अणु भन्दा पनि सूक्ष्म, परमाणु आत्मा
स्वर्ग, अन्तरिक्ष भरी, रहिरहू साथ्मा !
बर्ण, लिङ्ग भेद छैन, आश्रम न गुण
निर्गुण र निराकार, साकार-सगुण

देखिने र नदेखिने, मन बुद्धि प्राण 
शिव राम बुद्ध तिमी, धन्य नारायण!
सृष्टी शुरु पालनमा शक्ति कति लायौ?
मान्छे अर्ब खर्ब पूगे,जन्तू वृक्ष पायौ
रुप धेरै, गाई सेवा,नारी गोपी प्यारा
प्रेमी स्वामी अवतार,ज्योत शान्ति नारा
यसोदाका नन्द कृष्ण, राधारानी प्रिए-
गाई,ग्वाला,नन्दी सबै,तिम्रै रुप थिए?

काले गोरे श्रेष्ठ उच्च महा-माया-सृज
धर्म-क्षेत्र, कुरुक्षेत्र, राधा-रानी वृज
द्वारका र वृन्दावन, जेल जन्म किन?
'ननिदाउ-नचिताउ'-आफूलाई चिन
ब्रह्म भित्र बाहिर छौ, जता हेर्यो त्यता
पाताल र स्वर्ग भूमि,ज्ञान विज्ञानका
आकर्षक रंग नीलो, कालै-कपाल कोरी
गुरु,ज्ञानी युद्ध गर्ने, बालक झैं चोरी-
लीला कस्तो बुझ्न गाह्रो, रत्न आभुषण
गोलोकका ग्वाल-बाल, गोमाताको गण
धर्म अर्थ काम मोक्ष सत्य ब्यवहार
कर्म गर तर फल ईश, उपकार
भजन र तपस्याको योग साधनले
अहिँसा र सद्भावको प्रेम-संयमले
हरि-हर पार तार, भव-रोग खोला
'छैन नाश-निवाश' रे!छाड्नु पर्ने चोला

सारा सृष्टी दियौ यौटा पूण्य उपहार
के के लिने दिने होला?के छ यस्को सार?
संगत र खाना पिना शुद्ध राख्नु छ छ
चोरी गर्नु हुन्न झुटो,सत्य बोल्नु पर्छ

गीता गान अमृतको पूर्ण योगी त्यागी 
दर्वारका,गरीवका,सन्यासीका,रागी
कृष्ण शुद्ध बुद्ध तिमी,आत्म रूप शिव
यौटै अँश अटाउने, संसारका जीव

लीला हो की?खेल-खाल,जन्म-मृत्‍यु जानी
जगतका गुरु तिमी वेदान्तका ज्ञानी
- अनन्तगोपाल रिसाल [2nd Sept, 2010]
** Disclaimer: All images referenced here are from Google Images**

No comments:

Post a Comment