[चाहे समाज-सेवामा होस्, चाहे राजनीतिमा, धर्मको अनुसन्धानमा या त प्राविधिक वा साँस्क्रितिक विधामा - अर्थ-नीति वा आध्यात्मिक उत्कर्षमा होस् जीवनको धार धेरै जसो एक्लो हुन्छ! आफ्नो मान्यता र पत्यारमा सम्झ्यौता र समझदारी गर्दै गइन्छ मात्रै हो नत्र त प्राय:जसो मार्ग पथ भिन्दा भिन्दै भए पनि एक्लो हुन्छ! त्यो मार्गमा हिँड्न डरायौँ भने हामी गन्तब्य-स्थानमा कहिल्यै पुग्दैनौँ! कहिँ नहिड्नु भन्दा - हिँडेर, बाटो हराएर भए पनि यात्रा पूरा गर्नु सफलता मानिएला! मार्ग प्रवृतिको या निवृतिको होस्-सबैले एक्लै हिँड्नु नै पर्छ!यो कवितामा चार-पुस्ता, चार-आश्रम र चार-रस (हाँस्य,शान्त,शोक,श्रिंगार)प्रधान छन्! यो कबिता कोर्दा कवि केवल उन्नाईस बर्षको पठ्ठो हुनुहुन्थ्यो र हालसालै ANA Boston Convention-3rd July 2010 कविता गोष्ठी - मा पाठ गर्नु भएको थियो]
एक्लो आफू कसले हेर्ला भनी प्रिये ल्याएँ
एक्ली प्रिये,एकलै पर्ली भनी छोरो पाएँ!
एक्लै पर्ला फेरि छोरो,बूहारी भित्र्याएँ
च्याँच्याँ म्याँम्याँ,बढन् थाले-ब्यर्थै दु:ख पाएँ|१|
साथी भनी बिहे गरेँ, छोरो हेर्न थाली
छोरो फेरि आफैँ जस्तो स्वास्नी हेर्छ खाली!
मेरी प्यारी झाडा लागि मरिन् त्यसै पाली
आफू फेरि एक्लै परेँ, बिहे गरेँ साली |२|
साली,काली नखर्माउली सिंगारिनु पर्ने
गर्नु पर्ने सेवा मेरो, आफ्नै मात्र गर्ने!
अति लोभी, कमाएको ढूकुटीमै भर्ने
अझ डाँको उस्कै ठूलो,भन्थी-'नखाइ मर्ने?'|३|
एका बिहान् रिसै-रिस्मा पोईला पो गैछ
ओहो!लगी भए भरको,बेईमान पो रैछ!
'हल्ला-खल्ला-नगर्नोस् बा-हाम्रो ईज्जत खै त?
अर्काबाट सुख हुन्न,एक्लै बस्नु है त?'|४|
लालाबाला ठूला भए, जिस्काउने खाले
हुँदा,हुँदा 'पेन्सिन'पनि फुस्काउन थाले!
घरका सबै मेला जान्छन,घर कुर्ने पाले
'म पो साह्रै दु:खमा छु'-भन्थे हाम्रा बाले|५|
पैले पनि यस्तै हुन्थ्यो आज भोलि जस्तै
जस्तालाई त्यस्तै ठीक्क, बूढालाई निस्तै!
जति नजिक हुँन खोज्थेँ,उती उती फस्तै
बुईगेल-थ्यो सुत्ने कोठा,छिँडी पुगेँ खस्तै|६|
चिसो छिँडी आगो बाली-कोठा तातो पारेँ
एक्लै हुँदा कैले काहिँ आलु-बोडी तारेँ!
धर्म गर्ने निहुँ पारी,चुह्लो चाजोँ टारेँ
मनमोजमा पल्किँए म,नजिक् डेरा सारेँ|७|
ह्रीस्ट-पुस्ट बन्दै आयो, महिनामै जिउ
चाहे जति खाँए कैले दाल-भात-घिउ|
सारा चिन्ता मरी गए,काटी दिँए बिउ
आफ्नो दु:ख आफै टार्ने,साधन यो लिउ|८|
आज-भोली एक्लै छु म,जसो तसो गरी
साग खान्छु वस्ल्याङ-पस्ल्याङ,जाउलो माना भारी!
न्यानो छोडी बजारको खान्न हुरी झरी
फर्माउँछु देश-विदेश् बरु 'सूप-करी'|९|
दुइ-दिनको जिन्दगीमा एक्लै लाई-खाई
आफ्नो नाँच,आफैँ हेरौँ आफ्नै गीत गाई!
आफ्नै-हात-जगन्नाथ,सुन्नोस् दाजुभाई!
एक्लै आयौँ एक्लै जान्छौँ,एक्लै हाई हाई|१०|
- अनन्तगोपाल रिसाल (२०४३ साल मंसिर)
No comments:
Post a Comment