Thursday 10 October 2013

पार्वतीका दैनन्दिनी-(शिव दर्शन खण्ड)

पार्वतीका दैनन्दिनी - (शिव दर्शन खण्ड)


पार्वती
म बाह्र बर्षकी थिएँ, मलाइ स्पष्ट भान भो
किशोर दिव्य छन् कहीं,पिता मलाई ज्ञान भो!
कठै विषाद बढ्दछन्, नरोक हे-निदान झन्
ल,झट्ट त्यैइं पुर्याउने, ससल्ल कैं विमान छन्?
    
दया गरेर हे जनक्, दिखाईद्दयौन है-म-ता?
ल, हेर्न जान मन् थियो, मलाइ ईश-देवता
कसोगरी, कहाँ गए,त्रिलोक-नाथ भेट्दछु?
बिचार रङ्ग खारने, म दंग, साथ मेट्दछु  !  


कृपा, तड्प नदेउ है,म सुन्दरी- हिमालय !
म खोज्छु कैं कता छ कुन्? कहाँ छ त्यो सदा-शिव?


हिमालय -  
सु-पुण्य,धर्म-पार्वती सु-स्वर्गमा त जन्म भो
अपूर्व सम्झना थियो र पूर्वजन्म-धन्य हो
अगी सती भएर नै त पार्वती पछी भईन्
सुरम्य योगकी धनी,यी आज सौम्य,धन्य छिन्!
     
सभक्ति-भाव-संस्कृति, सनातनी परम्परा
अखण्ड व्योममा बसी,रचे मिठा, हराभरा  
नदी बहन्छ बेगले, प्रफुल्ल भै, समुज्वल-
छ-छल्ल,चम्कने गरी,हिरासरी,तँ, रत्न ल!


म लग्छु त्यो उचाइमा, जहाँ बिराग बस्दछन्
छ पूर्ण आत्म ज्योतमा, रमाइ व्यस्त मस्तछन्
हिमाल-बन्द,राज-काज,आज साँझ भन्दछु!   
पुजा र प्रार्थना त्यहीं गरौँ, सुनाउ बन्द छु !


छ सत्य-सुन्दरी तिमी, प्रसिद्ध, गर्दछ्यौ पुरा
प्रबोध बालिके ल बन्, अनात्मको त के कुरा?
म बुझ्छु क्वै अरु कतै, महल्, मुमा र साथमा-          
तयार है गरीवरी बसे, बिहानको प्रभातमा

परिवार सहित शिवालय प्रस्थान


हिमालयै मिनावती, तयार भै ति पार्वती
सुरम्य, रत्न, सोढसी,अपूर्व, चांद,उर्वसी
ति पावनी मुहारमा,छ सौर्य धप्धपी बली
अपार दृश्य योजना सुगन्ध मन्द मग्मगी


कुबेर बेर गर्दिए, ढिला ति नाग राजले
मुसुक्क हाँस्दछिन् तिनी,अनर्घ सर्म लाजले


मुमा बसिन् त साथमा, रथी बने कुनै जन
घडा र दीप स्थापना,पला छ पुण्य पावन
सवार घोडको गयो, उदिप्त छन् हिमाल यो  
कतै त लस्करै गए, अरण्य भोज झैं भयो !



पार्वती (शिवको बाह्य-दर्शन)
जगाइ ज्ञानको धुनी,गुफा नजीक बस्दछन्
छ आशुतोष शंकरै, बिना गुणी विशुद्ध छन्
र छैन मोह मन्दता, न कर्म, लोभ, क्रोधता  
छ,दृष्टि दिव्यता अहो! छ बन्द मै त दिव्यता


स्वछन्दता मनोरता स्वतन्त्रता अखण्डता
अनादि भाव पूर्णता, छ शीतता अनन्तता   
म हेर्छु, लाजले कहीं, कतै छ दाग?नङ्ग छन्
शरीर भस्म भूतले, असङ्ग पुस्ठ अङ्ग छन् !      


म सत्यता, पवित्र छु, रजस्-स्व-लाभ गर्दछु
तमस् म हैन छैन है, गुणातितै म बन्दछु


म शैल-पूत्रि ताण्डवी,सुयोग ब्रह्मचारिणी  
स्वछन्द-चन्द्र-घन्टकी, सुहाग भग्वती मणी
म सत् र चित्, बिकारमा,मयूर बाहनी सती,  
अखण्ड ज्ञान दीपकी, गिरीस-सुन्दरी,मती


अनन्य ब्रह्मरूपकी,म मस्तकी महामुनी
असङ्ग-द्वैतमा सदा, अगम्य, गम्य-योगकी!
प्रसन्न रत्न छन् गला,अभिन्न सूर्य-चन्द्रमा
प्रफूल्ल देख्दछू सबै,गुफा नजिक् भूमा उमा


न तीन ताप क्यै म मा, सबै छ स्पष्ट पेटमा
सबै म लिन्छु दुख्ख ती, चढाउ प्रेम भेटमा
कतै छ ब्रह्म-अण्ड झैं,म भित्र लुक्छ सोखमा
सुटुक्क सुम्सुमाएर, पवित्र पूर्ण कोखमा !


कहीं सु-स्वप्न नींदमा, सुषुप्त झैं मिले-भए
सनत्कुमार-स्कन्द ती, म बाट जन्म ली गए
सुदृष्टि वेद मन्त्रमा, सुपूज्य छ्यौ समाहित
सुकार्य सिद्धिमा सधैं,रहोस है प्रभावित


महर्षि-धर्म कर्मका, विशिष्ट त्यै प्रभावले
म जन्म लिन्छु यै धरा, विभिन्न यूग-योगले    
विशेष सत्य रात्रमा, विनाश लूप्त कालको
अदृश्य छन् कतै क्षमा कृपा अन्याय राष्ट्रको        
        
सुवर्ण पूर्ण उज्जल विशुद्ध श्वेत चाँदको
छ स्वच्छता महानता, सशंख-घोष नादको  
सहश्र-रूप सून्यता हजार नाम छन् समा  
म सिद्ध मोक्षकी धनी सुपुष्प दक्षकी रमा   


पार्वती देवीको (पहिलो शिव स्व-स्वरुपको अन्तर दर्शन)   


न छन् शङ्का केही,न त मन महा शोक पनि क्यै
न मेरा ईछ्या ती, अब किन गए? खोज गरुँ के?  


उकुस मुकुस लाग्छन् खुल्दुली लाज लाग्ने
शिव छ सरल नङ्गा, खै म पोके छ माङ्ग्ने ?
भनन स्वजन प्यारा, शर्मले निहुरिन्छु
मन छ कमल मेरा - पुष्प यो पाउ दिन्छु


गहन लगन लाग्यो छैन केही विषाद
मगन भजन गर्ने शान्त छन् चित्त याद
नगर सब उज्यालो चन्द्र-सूर्यादि आज
बिधि रिति पल साक्षी धन्य छन् ती रिवाज


कवच तन लगाई प्रेममा मस्त-मग्न
सुमधुर बन सारा लाग्दछन् क्या अचम्म
बस मन बिच आई देख्न सक्तिन भिन्न
हृदय तल जमाई आई बस्नोस् अभिन्न



शिव स्तुति ध्यान नमस्कार
गङ्गा माथमहाँ सधैं लडिबुडि,लुक्छिन् जहाँ चन्द्रमा
नन्दी भाव र भक्तिले शरणमा,बोक्छन् प्रभो पीठमा
जस्को याद गरे, दया हुन गए लाटो मिठो बोल्दछ
त्यस्ता पूर्ण अखण्ड ब्रह्म शिवमा मेरो नमस्कार छ !


माला सुन्दर सर्प नागहरुका नाडी गला शोभिने
नीलो कण्ठ बनाउने विष पिई योगी सदा लोभिने
ज्ञानी मस्त समाधिको रसलिने,वैरागको सार छ
जस्को दर्शन दुर्लभै छ शिव हे! मेरो नमस्कार छ !


नेपाली जन-भक्ति भाव ऋजुता सेता हिमाली जटा
पग्लिन्छन् जड-पत्थरै पनि हरे प्यारा पहाडी बुटा
जस्को त्याग र ज्ञानले शिखरमा कत्रो चमत्कार छ
शम्भो शाश्वत आशुतोष भगवन् मेरो नमस्कार छ


हात्ती भालु र ब्याघ्र चर्म शिवका ओड्ने र ओछ्याउने
तेश्रो नेत्र खुलाउने सहज नै नेपाल ब्युँझाउने
नौलो शृष्टि हिमाल बाट शिवको रुद्राक्षको हार छ
श्रस्टा नित्य अवर्णनीय भगवन् मेरो नमस्कार छ


गौरी-शंकरको सुदृष्टि छ यता प्राचीनको संस्कृति
नागा, वैष्णव, शाक्तका रचयिता लीला कलाका कृति
ज्योतिर्लिङ्ग अहा विचित्र रचना निर्लिप्त साकार छ
एकै गम्य अनेक मार्ग जनका शम्भो नमस्कार छ !

No comments:

Post a Comment