Monday 21 October 2013

यहाँ र वहाँ

यहाँ (नेपाल, अमेरीका या कुनै पनि प्रान्त, समाज, रास्ट्र या महाद्वीप बुझिदिनु होला, यस धरतीमा या भोगभूमि स्वर्ग वा शोक दुख पूर्ण नरकमा भनी बुझ्दा पनि हुन्छ) र वहाँ (ईश्वरको दरबारमा, आत्यन्तिक सुख, सत्य-दर्शन र सुन्दर-आनन्दको समागममा भनि बुझिदिनु होला)

यहाँ

रस छैन यहाँ जस छैन यहाँ
डस सर्प कतै डर बस्छ यहाँ
सब लूट-न यार तयार यहाँ
धन मान घिसार हतार यहाँ

छ विदेस र देस करार यहाँ
चिन-भार-त भूल विचार यहाँ
छ पहाड हिमाल दरार यहाँ
तर-आइ कठै घरबार कहाँ?

नव शोषक शोषण भार यहाँ
किन दूर्गुण सज्जन मार यहाँ?
हिंड, ठेस लगाउन खोज्छ भने
म भनूँ कसरी अझ दौड यहाँ

बल हिम्मत मिल्छ र चैन कहाँ
किन जान्छ युवा बस खै-न यहाँ
नतमस्तक भै म त मस्त यहाँ
कम काम गरीकन व्यस्त यहाँ

नव जोस भए जन खोस यहाँ
सरदार र चोरको दोस कहाँ?
मद-घोस गरी घर पोस यहाँ
रज तामस राज छ, होस कहाँ?

छ असूर विकार कसूर जतै
न कि न्याय चुनाव गनिन्छ मतै
किन दूर्जन छन् त जताततै
मन दर्दर हुन्छ र रुन्छ कतै


सहयोग गरौँ भनि खोज गर्यो
कुन सज्जन संकट माझ पर्यो
खन ढाँटन खेत ल साँझ पर्यो
बस खै कसको अब कोट भर्यो?

वहाँ

रिस छैन वहाँ कर छैन वहाँ
डस सर्प कतै डर छैन वहाँ
पिर छैन वहाँ, मद खै मनमा  
भर एक उनै प्रभुका घरमा

सब प्यार छ जीत र शोक कहाँ?
धन मान र मोह हटेछ वहाँ
न छ राग र ईख सुखी-पुरमा
अलमस्त छ संगित स्वर् सुरमा

पस द्वार छ सत्य सही जनमा
शिव सुन्दर शान्त उषा-थलमा
भज सूर्य सती गणकाधिपति
बुझ बुद्ध र कृष्ण छ है सुगति  
हिमका शिखरै पगलिन्छ कहाँ?
जल मार्ग लिएर बहन्छ नयाँ
अब दुष्ट र स्वार्थ छ क्वै दुनियाँ?
अझ खोज न पुष्प छ मग्मग याँ

सुनका दिन भब्य सुनिन्छ अरे!
शुभ-आशिक बर्सिन पर्छ हरे !
तम स्वप्न ति भङ्ग भएर भुले
जनमानस मन्दिर दङ्ग खुले

बन राज अहो अनुमान थियो
जन-बानर यो हनुमान भयो
सत-संगतले बलबान भई
सब द्वार खूले भगवान कहीं

मल कल्मष क्यै अपराध कुनै
रहु सज्जन सद्गुणका पुरमै
नव आश सबै अवकाश भयो
जग त्राश बिनाश निवाश छ यो

गुण सात्विक मार्मिक धार्मिक भो
म त नाश कहाँ, रछ पार्थिव यो
सुखमा दुखमा अब धर्म कहाँ
ल त पुग्नुछ ईश्वर लान्छ जहाँ


No comments:

Post a Comment