Sunday 28 November 2010

धन्यवाद कस्कस्लाई?


धन्यबाद दिवस् लाई धन्यवाद दिन्छु
नचाहिने सामान्हरु सस्तो पारी किन्छु
फर्सि-पाई, खाँदा लाखोँ टर्किहरु मर्-छन्?  
पार्टि,गोष्ठी, म्यारिइजमा साथी नयाँ बन्छन्

ईश्वर्लाई धन्यवाद पहिलो र अन्त
आमाबाबु पित्रीहरु बंश कति छन् त?
भूमी जन्मी-हुर्कीएको ज्ञान, गाउँ, देश
प्रवासी यो जीवनी भो, आफ्नै परिवेश!

गुरुहरु साथी-संगी केटाकेटी दिन
मीठा गीत संगितले रंगिएको छिन
छिमेकी र गल्ली गल्ली घुमिएको बाटो
धन्यवाद सबैलाई गाँसिएको नातो

जीवनमा साथदिने संगीनीको प्यार
सुख-दुख: आपतमा ठट्टा गर्ने यार
दाजु दिदि बैनी भाई छोरा छोरी सारा
कति कहाँ पुगे होलान् नजिक् कोहि टाढा

नदेख्दामा को हो को हो, भेट्यो भट्टी भोज
सबैलाई सलाम् मेरो, हराएमा खोज
छिमेकको विश्वाशमा,खुल्ला वार-पार
प्रेम गढ्छ मोह बढ्छ, न्यानो परिवार
    
जिल्ला अँचल् नाता बस्छ बोली बानी मिले
शरीरको संबन्धलाई जित्छ मन दिल-ले!    
जरुरत्मा पराईले निक्कै साथ दिन्छन्
आफ्नै भन्ने मान्छे पनि टाढा टाढा हुन्छन्

चिन्तन र संगतले उजागर ध्येय       
बुद्धी बढ्छ आदरले श्रेय मन प्रेय
मामा भान्जा भतीजी र साहित्यिक कवी
बेला मिल्दा भेट्नु पर्छ,समाजका सेवी

कति साथी संघ संस्था बने प्रवाशमा
नाच्यौँ गायौँ कुराकानी कतै निवाशमा
पार्क बाटा शिक्षालय काम वरपर
धन्यवाद दिनै पर्छ विदेशको घर

फोर-लान्छ ट्रकआई घरैबाट टाढा
हाइवे छिर सफा सुख छैन कहिँ काँढा         
बिजुली र फोन पानी इन्टर्नेट टिवी  
धन्यवाद देशलाई दियौ चिट्ठा डिभी

ज्वाईँ जेठान् भाउजु र मेक्सिकानी, काली
ठूली आमा, सानो बाबा,शशुरा र शाली
बिराएका बखतमा दिनु भयो गाली    
धन्यवाद कस्कस्लाई दिउँ यसपाली?

-अनन्तगोपाल रिसाल [26th Nov 2010]
This poem was recited on 27th Nov, 2010, the Poetry event organized by Nepal Center of North Carolina (NCNC) at the NC State University.

No comments:

Post a Comment