Friday, 12 November 2010

काष्ठमन्डप उपत्यका - ईश्वर छ साथ!


[Kathmandu has changed her look, structure and outer identify. Some places, she has lost her-self. She has become old and retiring. Remembering how it was before and how it has taken this course. We hope we can learn lessons and improve her health and quality. Despite of old age she still showers her knowledge and injects her traditions on all of us and reminds her eternal life.]
'न्वारन्',पास्नी:

कमलको फूल थियौ हरियाली ताल
स्वर्ग बन्न सक्ने तिमी नरक् नालै नाल?
शिवपुरी नगर्कोट गोदावरी लेले
फर्पिङ र नागार्जुन रमाइलो के ले? 

भक्तपूर पाटन र थान्कोटको घेरो  
नाता साथी तेरो मेरो यिन्कै सेरो फेरो

पानी हावा माटो बत्ती अन्धकार छायो
सनातन धर्म लाई तामसले खायो
सत्यपूजा राम सीता द्वापरले गायो
काम क्रोध लोभ बढ्यो कलि-काल आयो  

उहिले ताल पोखरी रे? पैले, घाँटी, खाल्डो !   
‘नेपाल’-भन्थे पूरानाले, बस्छ्न् सबै-को-हो?
रमाइला मिजासिला स्वर्ग-जन पास
नेवा: धेरै परिवार, ब्यापारी छन् खास !

नब्बे साल भूईचाँलोले गर्‍यो निक्कै नाश
उपत्यका देव-देवी तिम्रै यौटा आश
कालो फोरी ईनार् बन्यौ, नदी खोला खनी
सुन्दरता छैन किन? बस्छ्यौ दिन गनी?
ईही:

बस्छन् हिन्दू बौद्ध मुस्लिम् ईसाइको घर
झगडा त्यो कैले हुन्न छैन रीश डर
हजारौँ-छन् तीर्थ चाड, लाखौँ मिली गर्छन्
तन्त्र-मन्त्र सिपालु छन्, ईशसंग डर्छन्!  

शैशव्-काल बाग्मती र विष्णुमति बिते
राणा-शाहा-कांग्रेसी र मावो कोहि जिते
खेल्न डुल्न घुम्न नदी हुन्थ्यो नुहाउन
ढल मिल्यो समाजको सभ्य-गन्हाउन

सानो सहर, उदारको मन
सानै थोरै मिठो प्यारो मस्ती उपत्यका
गरीवीले साथी भाई लाग्यौँ यता उता
काम गर्ने सोध खोजी, संझना छ कुटी
नीको पार्छे पूराना घाऊ, त्यहि जडीबुटी

मन्दिरै छन् घर भित्र, मन्दिरै छ घर
दुबै आँखा खुल्ला,तेश्रो, दिब्य दर्शन् गर
स्वयंभूको बाह्य चक्षु, शिव आत्म-सात
सूर्य देवी गणेशको सब्मा आशीर्बाद

स्वयंबर-ग्रिहस्थी
भानुभक्त, मोति-सम, लक्ष्मी सिद्धी पाए
राज्नेता र धार्मिकले मनो ज्ञान चाहे
किर्ती कला विद्वानको ठूलो आदर छ
उपत्यका, राष्ट्र-धन तिम्रै आधार छ!

हिमाल र तराईको केन्द्र-विन्दू शिला
विचारमा धनी छौ रे!ब्यापारको किल्ला
पहाडको उन तातो समतल खेती
सबैलाई काम भेला, मेला चेली-बेटी

'न्वारन्',पास्नी,'जङ्कु'गर्‍यौँ सयौँ वर्ष बाँच्यौ
सन्तानको उन्नती भो डाँडै-भाका ढाक्यौ     
ईही, रथारोहण् कर्म तीर्थ-ब्रत गर्यौ
नयाँ जीवन्-म्रित्यु सँगै, संस्कार त्यो भर्यौ

काठ-घर मूर्तिकार छाना मिलेका छन्
टूँडाल र झ्याल ढोका,राम्रा कुँदेका छन्
मारवाडी, तिब्बती र देश विदेशका        
कोहि पैसा जागिरमा,काम गलैँचाका!  
'जङ्कु'-रथारोहण
छठ पर्व शिवरात्री गाइजात्रा होली
जनै पूर्णे क्वाटिँ खाने घण्टाकर्ण हो कि?
विश्वभरी संस्कारले सम्मान यो पायो
जाति-धर्म-अतिथी भै उपत्यका आयो

उपत्यका बन तिमी संसारको ताज
भित्रै भित्र जगाएर संस्कारको राज
मन आत्मा समाजमा परोपकार् छैन?
बाहिरको सफा मात्रै सुग्घरता हैन

प्रवासी जीवनको होडबाजी
संतानले देश विदेश नयाँ सभ्यता ली
सिके जाने पढे गरे नेपाली कै बानी
प्रिय सोझा खर्च काम मेहनत गर्छन्
पसिना यो कमाएर जन्मभूमी छर्छन्

छोड्न मन लागे पनि नाता वारीपारी    
शरीर यो संसारमा,आत्मा वरिपरि
परिवार कुटुम्बको प्रेम रहिरह्यो
सँझना र विवशता, चिन्ता गढिरह्यो

आफू बस्न नसक्दामा आत्मा बस्छ किन?
कैले चूक्ता होला कुन्नी देव-पित्री-ऋण
जन्मिएको-हुर्किएको मातृभूमी थलो
जता बसे रमे पनि,तिम्रै गर्छु भलो
गुण-स्तर
ठूलो भाँडो गहिरो छ जे जे हाले पनि
खिचडी र क्याँटी जाउलो मीठो मनमानी
स्वाद जिब्रो भावना छ?भोक लाग्यो भने
अन्नपूर्णा कामधेनु धर्तीलाई खने

मीठा मकै साग डुकु काउली र लौका
सक्दिनौ क्यै फलाउन-कुरुँ कति मौका?
विदेशको आनी बानी कस्ले दुन्छ दुध?
खूवा नौनी कुरौनी खै?छैन घिउ सुद्ध?

टुँडिखेल धरहरा खेती हराभरा
मोटरको धुवाँ-घुईँचो,ठूला घरै-घर
चाउरिएछौ दुब्लाएछौ, जीर्ण डाडाँ रुख
ब्यस्थ देख्छु-स्वस्थ छैन,तिम्रो भित्री दु:ख

गुठी घर मूली आमा संस्कारमा जाग्छ
टिका-ढोग आशिर्वाद सदा सदा लाग्छ
सानो घेरो हिमालको कान्तिपूरी नगर्
गीत-संगित् कला वास्तु-सयौँ सीप अमर्

बाग्मती छि: कुरुप झैँ निस्सासेर मरिन्
मल मूत्र फोहोरले ढलिन् डुबी-हालीन्
उपत्यका तिम्रा दिन गनी बस्छु जब
ईश्वरको प्रार्थनामा क्यै हुन्छ की अब?

नयाँ संस्कारको उद्भव होस्

राजनीति केन्द्रलाई विभाजित पार
सरकारी सेवा क्षेत्र जिल्ला जिल्ला सार
आदेश र अदालत स्वास्थ बाटो तानी
आकाशको हिमालको जमिनको पानी

नवद्वार सफा राख सीमा-सूरक्षा नी
नियम र आतँकमा कडा निगरानी
ब्यापारमा शुद्धता र खाना औषधीमा     
योग्य ब्यक्ति सीप साँधी कला जागिरमा

गुण हेर मिसावट गर्नु दिनु हुन्न
सत्यताका बोली बचन् जन-सेवी चुन्न
भावना र चरित्रको बयान सम्मान
विद्वानको कदर है संसारमा जान  
स्वच्छ हरियाली बनुन् सहर र ग्राम
उपत्यका सँसारकै बनुन् चारै धाम

स्वयम्भू र गुहेश्वरी प्राचीनका कथा
मञ्जुश्रीले ध्यान गरिन् किनार मै कता
प्रदूषण बढ्यो ज्यादा पाप त्यसै गरी
बृक्ष रोप जडिबुटी त्यहिँ घरी घरी
फुल फुलुन् पारिजात गोदावरी जाइ
नदी वरपर चरुन् म्रिग हाँस गाई
रुद्राक्ष र श्रीखण्डको सुमधुर गीत  
उपत्यका लौन जाग,प्रेम तिमी सित

सन्तानले डाँडा काँडा ढाके फैलिएर
नजाउ है मौलिएर कठै! मैलिएर
प्रवासीले नारा लाए आए खै के लेर?   
रोग ब्याधी नीको गर्न जाउँला मै लिएर

उपत्यका बूढी भयौ?चिन्छौ मेरो नाउँ?
निसास्सिने अताल्लिने अब कता जाउँ?
विकाशमा गर्न बाँकी सुधारको धारो  
आमा तिम्रो स्वास्थ बिग्र्यो,छाती-सास गाह्रो?

मृत्‍यु संस्कार
ईश्वरको अँश तिमी कुमारीमा छदाँ
वयश्कमा तरुनीमा अब बुढी हुँदा!
पूर्वजन्म स्वर्ग मेरो नेपालैमा पावोस्!    
जीवन यो उमंग ली हाँसी खेली जावोस्!

शरीर यो छोड्न आउँन् वीर धीर ज्ञानी
आत्मा शुद्ध पूनर्जन्म शैव-बुद्ध मानी
सनातन धर्म हेर सत्य-युग-जानी   
सूर्य देवी गणेश र बुद्ध शिव मानी

सेवा मिल्छ धन्य जन उपत्यका बासी
विश्व संग हालेमालो सचेतन गाँसी
बाहिरको फोहर्लाई पन्छाएर 
आउ !  
ईश्वरको चमत्कार!जिउँदो स्वर्ग जाउ!

अन्तिमको प्रलय यो चम्क झिलिमिली
नयाँ श्रिष्टी संस्कारको-धप्प मिलिमिली
सोच निकै उमेर भो-छोड आर्यघाट
काष्ठमन्डप उपत्यका - ईश्वर छ साथ!

-अनन्तगोपाल रिसाल [12th Nov, 2010 - छठ पर्वको दिनमा उपत्यका संझेर लेखिएको]
*Disclaimer: All the images are referenced from the Google Images*

No comments:

Post a Comment