Thursday 1 April 2010

आध्यात्मिक लेख:योगको चमत्कार - चरित्र, चिन्तन र चैतन्यता!

योगको चमत्कार: चरित्र, चिन्तन र चैतन्यता!

योगले बिभिन्न सांसारिक प्रदेश, क्षेत्र, विचार-सीमा र तर्कशील धरातललाई पनि जोड्न सक्छ! योगद्वारा स्थूल भौतिक-शरीरको शारीरिक अभ्यास, मनन-ध्यानद्वारा मानसिक सूक्ष्म-शरीरको नियन्त्रण र आध्यात्मिक चिन्तन र चेतनाद्वारा अज्ञान-शरीरको रोग निवारण गर्न सकिन्छ| योगको पद्दतिको,प्रक्रियाको र
परिणामको परिचर्चा गर्नु सान्दर्भिग ठान्दछु|जसरी राजनैतिक गति र अग्रगमनका लागि कानूनी तरहको राष्ट्रिय संबिधान लेखिने प्रक्रिया जरुरी छ त्यसै गरी जन-मानसमा सबैलाई स्वस्थ,शान्त, समृद्ध र ऐश्वर्यशाली जीवनको महत्वपूर्ण व्यबस्था गरिन अत्यन्त आवश्यक छ|त्यसै क्रममा राष्ट्रिय भूभाग, वातावरण, बन्य-जन्तू र बनस्पतिको स्वास्थको पनि बिचार विमर्ष गर्नु तर्क संगत होला नै!

शारीरिक चरित्र:

साधारण कसरत र प्राणायामले दिने समस्या समाधान शक्ति, चिकित्सकले गरिने रोग-निदानका प्रक्रिया र योगले दिने जैविक तन्दूरुस्तीको मूल्यांकन करीव करीव शारिरिक प्रणालीका हिसाबले एकै जस्तो देखिएता पनि, परिणाम भिन्ना भिन्दै प्रकारका हुन्छन्! पाचन शक्ति बडाउने, उमेर घटाउने, नशा नशामा उत्साह पुष्ठी गराउने, कोषहरुमा सुधार गर्ने, मोटोपन कम गरिदिने आदि अंग-विन्यास, मुद्रा, आसन, प्राणायाम पतन्जली योगका केवल एउटा पक्ष मात्र हुन्! अर्को उत्तिकै महत्वपूर्ण पक्ष आयूर्वेदले आहार र विहार अर्थात् पाक शिक्षा र पाचन पद्दतीको पनि विश्लेशण गर्दछ | शरीरमा मांसपेशीका गाँठै-गांठा मात्रै भएर पनि पूर्ण स्वस्थ होइँदैन | ब्यक्तिगत रुपले हेर्दा चरित्रता,नियमितता,तन्दूरुस्तता नै हाम्रा आंकड़ा हुन् भने, अझ गहिरियेर समस्टी रुपमा हेर्दा समाजमा भएका मन्दिरमा गरिने बलिप्रथा,फोहरी पन,वायू-ध्वनि-वनस्पती-जल प्रदूषण जस्ता दूर्गुण,दूराचार सदाका लागि निर्मूल हुन सक्नु पर्दछ! शारीरिक जीवनमा चमत्कार हुनु, सौभाग्यशाली समाजको गुप्त-भेद भन्नु नै त्यसको सम्पूर्ण-स्वस्थता हो! सहकार्यता त सबै संकायहरु मिलेर गरिदिनाले हुन्छ| आपसी मेल-मिलापबाट मात्रै भौतिक सु-संरचनाको सम्भव छ | योग नगर्दा मात्रै स्वास्थ-स्थिति नाजुक बन्ने होइनकी समाजमा रहेको गन्ध-फोहर, धूँवा, दुषित पानी, गति रोकिएका नदी-नाला,विनियमित बनाईयेका घर-घडेरी,लगाईयेका बनस्पतीले ठूलो भूमिका खेल्दछ! रोग मुक्त समाजको चुनौतिलाई पूरागर्न अझ वैज्ञानिक अनवेषण गर्न बाँकी छ! निस्वार्थ सेवाबाट मिल्ने सामाजिक उपलब्धी हेर्न बाँकी छ! निरामिश जीवन चर्याको पराकास्ठालाई आत्मसात गर्न बाँकी छ! सार्वजनिक स्थलहरुमा धूम्रपान निषेध,नशामा बाहन चलाउनुमा निषेध आदि सामान्य नियम हरु हुन्|

मानसिक चिन्तन:

आत्मा,परमात्माको-चिन्तन,सर्व-धर्म समन्वय, सत्सँग,विचार-विवाद,प्रेम-नियममा उत्सर्गका बारेमा सर-सल्लाह हुनु नै शान्ति समुन्नतीको समीप हुनु हो| मनो-वैज्ञानिक धरातलमा आत्म विश्वाशको दीर्घ सन्तुलन हुनु जरुरी देखिन्छ| गुलामी मानसिकता, परनिभर्रता, आत्म-विश्वासको कमि, दलाल-संस्कृति, खोक्रा भाषण, सोझा-सीधा जनताको अवमूल्यन, हिँसाको समर्थन आदि यी सबै मानसिकताको कमी हो! देखावटीपन, असीमित आकांक्षाबाट हुने नैतिक दबाव र तनावलाई ध्यान र एकान्तताले निक्कै मद्घत गर्दछ! समय, ब्यबहार र परिस्थिती अनुसारका योग-साधनाहरुमा नियमितता हुनु आबश्यक छ| जसले गर्दा मनमा प्रसन्नता, बुद्धिमा संतुलन, ठीक-बेठिकको तादात्म्य स्थापित गर्न सक्ने शक्ति स्वत: स्फूर्त हुँदै आउछन् | फर्केर हेर्दा पुन: यिनैलाई संयमित गर्न नसक्नुका कारण शरीरमा रक्त-श्रावको असन्तुलन, मानसिक पीडा अनी पारिवारिक-सामाजिक गड़बड़ी बढी देखिने गर्छ|

आत्मिय चैतन्यता:

क्रमश:जुनकुराको विश्वाश हुन्छ, खोजी हुन्छ,सत्त्यताको रस मिल्दछ त्यही विषयमा,विश्लेषणमा मन-बुद्धी विस्तापित हुन्छ! वास्तविक,प्रत्यक्ष र स्पष्ट अनुभव पनि मिल्दछ! जीवनको सार,सार्थकताले मार्गदर्शन गर्छ र नेतृत्व पनि| समाजमा द्वेष भन्दा आत्मियताको फूल-फूल्न शुरु हुन्छ! प्रेमले संसारलाई एकै मालामा उनिदिन्छ! नियमले ब्रह्मान्डलाई आश्रित अनि संचारित र प्रसारित गरिदिन्छ| विश्वलाई 'वशुधैव कुटुम्बकम्'-को साक्षात दिग-दर्शन गराइदिन्छ! चराचर प्राणीमा समानता, समभाव, सम्मान अनि समाजको अंतःविषय समुन्नतिका लागि समर्पण पनि! जादुगरी र मायामा छिपेका अनगिन्ती समस्याका रोग-भोग-शोक,अज्ञानका अडचन् र जंजाललाई भष्म गराउन सक्ने उत्साह, ताप र शक्ति छ,यी योगमा! कण, परमाणु, आत्म-ज्योति,शिव-तत्व देखि लिएर संपूर्ण जगत दर्शन,तारक-पुंज स्वर्गगंगा सम्म अवलोकन गराउने पूर्ण शक्ति, कृष्ण-तत्व छ यो योगमा! क्षणिक,शारीरिक बन्धनबाट मुक्त गराउने गुप्त अनी गुह्य विद्या छ यस्मा! कहिल्यै ननाशिने ध्रूवलोक र ब्रह्म-सत्यताको साक्षात्कार गराउने स्वरुप छ| आध्यात्मिक श्रेष्ठता र पारमार्थिक उच्चता छ| ईश्वरका-ब्रह्माण्डमा लूकेर रहेका चमत्कार र रहस्योद्घाटन गराइदिने क्षमता छ यस्मा!

- अनन्‍तगोपाल रिसाल (1st April 2010)

No comments:

Post a Comment