एलर्जी॔को मौसम छ,कहिँ जान हुन्न
पालूवाले आँखा पोल्छ,देख्दा थाहा हुन्न!
आफैँलाई पर्यो जब बुझैँ-सकैँ भन्न
ओहो!डाहा!चिढ़-चिढाहा!गाह्रो हुन्छ सहन!
रहस्यको कुरा रै छ,एलर्जी॔को व्यथा!
पैले-पैले भन्थे याहाँ,लाग्थ्यो-'हैन कथा !',
छोरा भन्छ एलर्जी॔ छ,आमा रुन्छे बरै!
आखाँ झिकी,खाग्सी दलुँ लाग्छ,कठै कठै !
नाक-भरी सिँगान छ,छातीभरी कफ
एक्लो कुना छिरेँ म त,छैन गर्नु 'गफ'!
'टिस्सु'-पनि रित्ती सक्यो,आखाँबाट पानी
बर्षै पिछ्छे फर्किदिने,फेरि रुन्चे बानी!
छिउँ छिउँ र घ्यार्-घ्यारले,राती निन्द्रा भाग्छ!
छाती घाँटी कोरेसोले कोरुँ जस्तै लाग्छ!
आरा-चिर्दा याद आउँछ,करौँतीको चित्र!
चुनेसीको धार पारी,सिधा नाक भित्र !
'ब्लेस्स्यू-ब्लेस्स्यू'-थाकीसकेँ साथी कोठाभित्र
'एकैचोटी दिन्छु अब,दिनभरीलाई मित्र '!
औषधी नै छैन अरे,के हो यस्तो रोग?
दुबै नाक बन्द,खाना,मन छैन भोक!
आँखा कैले नमिच्नु है!पानी हाली धुनु
हात मुख धोइवरी धर भित्र पस्नु!
झ्याल-ढोका थुनिकन-घाँस कैले काँट्ने?
आज मलाई सन्चो छैन,हैन कति ढाँट्ने?
दुखीसके जीउ पनि,बिहानीमै गल्छ,
मौसमको 'पील्' खायो,पीलो जस्तो दुक्छ!
राती भन्यो,बिहानमा,दिउँसोको घाम
जता गयो उतै रैछ,एलरजीको ठाम!
नेपालकै फोहर्मा बरु,कैले रोइएन
मुखमा सेतो बाँधे तर आखाँ मिचिएन!
छ-सात बर्ष भयो,बल्ल देखेँ यसको हावी!
अमेरिकी नगरमा विकाशको दावी!
किन यस्तो हुदोँ रहेछ त?
रुखहरु यहाँ-वहाँ,जता हेर्यो त्यहाँ
पराग र पुष्प-कण,ऋतु-बसंतमा,
भाले-रुख सजिलो रे,सफागर्दा रोप्दा!
किशोरको उमेर झैँ,रुप राम्रा देख्दा!
हेर्दा देख्दा राम्रा-राम्री,भित्र-भित्र ज्वर!
रुख भन्नु मात्रैको रे! छैन केही फल!
बहु शैली,प्रतिभाले देश माथी चढोस्
जन-जाती-समानता,प्रेम-पराग बढोस्!
हामी पनि रुख जस्तै,जमी बसेका छौँ
जाडो,गर्मी,बसन्तमा झुकी झरेका छौँ!
कसैलाई झिझोँ,झन्टो नहोस् वरपर
फुल्नसक्ने खुबी छ है-बास्ना हर हर!
ढाकिदिन्छ परागको-हरीयोले गाडी
रुखबाट बिहानैमा कोठा,बारी भरी
'एसी'-भित्र बस्दा अलि सँन्चो हुन्छ,कैले
खाएँ मह औषधी रे!जानिएन पैले!
झारपात घाँसबाट-हावा सवारले
प्रजनन ईछ्या राखी उड्छन् परागले
उपाय छ केही,बच्ने? के हो लक्षण?
नाक,आखाँ,घाँटी हुँदै,फोक्सो पुग्छ कण!
शरीरले संक्रमण रक्षा परजीवी
गर्नलाई पठाउँछ अणु-सेना-जीवी!
वातावरण परागमै भूली,ठान्छ शत्रु
उपकरण बटुलिन्छ नचाहिदोँ-पत्रु!
आफ्नैलाई ठानिदिन्छ,देख्छ अर्कै रुप
संग्राम र विग्रहमा, युद्ध-जंग खूब!
संवेदनशील कोही साना-साना कुरा
बाधा,विरोध,संघर्षका,अवरोध-नारा!
यस्तै हुन्छ भन्छन् बढ्यो,एलर्जी॔को मात्रा?
लाउनेकुरा,खानेकुरा फलफुल्को जात्रा!
हिजोसम्म खाका थियौ,अब खानु हुन्न?
'कुकुर र बिरालोको नजिक बस्नु हुन्न'
एलर्जी॔ नै भई सक्यो कति झर्को,झुठा
नेपालीको भाषण र 'टाउन्-हल्'-को कुरा!
राजनीति गन्हाउने खेल खेल्थे पैले
समाज्-सेवा अब त्यस्तै भैसक्यो अहीले!
तेरो,मेरो 'कन्भेन्सन'-मा,आउनु पर्छ बाबै
प्राबिधिग्य भन्छ किन? हाम्रै, आउ आजै!
संपर्क-जन-भेला,भैसक्यो गको हप्ता
पत्रकार भन्छ हैन? हाम्रो भिन्नै बार्ता!
कुरै सुन्दा अपचको,मेरै योग्य गोरु
आगो बाल्ने कालु,बरा ! तातो चाहिँ चोरुँ!
जन-जाति,फुटाएर भाँड भैलो गर्यो!
रँग-लिँग-अँग-भँग-'रेड-वाइन्' फेर्यो!
भोज्-भतेर अब देखि नक़ाब लाउने गर्छु!
चुच्चो कान काटिवरी नाक-सानो पार्छु !
रुमालले छोपी वरी जनै,गाँठो,टूपी!
नाम-थर भन्दिन क्यै!हिँड्छु लूकी-लूकी!
आवरण,पर्दा लाग्यो साँचो छैन कोही!
आफ्नो स्वार्थ मिली हाल्यो,खाँचो छैन कोही!
एलर्जी॔ खै?कता गयो?छैन केही पनि!
चिन्दैनन्,सोधैनन् है,को हो 'मिस्टर' तिमी?
डाक्टर भन्छन् इन्जेक्सन र स्वास्थ हेर्नु पर्छ,
प्रतिरक्षा,मुक्ति-लिन, ठाँउ फेर्नु पर्छ!
माकुराको जालो,किरा-किन?फाल्नु हुन्न?
धूलो,कण,सड़ने कुरा घरमा पाल्नु हुन्न!
खाइसकेँ 'जर्टेक','क्लारिटन्'-'आलेग्रा'
'बेनेडल'को कुरा गर्छु,तिमी चाँही गाग्रा?
'सुडाफेड्' त उहीले सकेँ,नाकमा झोल हाल्छु
साह्रै गाह्रो भयो टाल्न-नेपाल जान थाल्छु!
जीउभरी चिलाउँछ,आँखा हुन्छ रातो
स्वाँ-स्वाँ बड्छ शरीरमा,स्वाश हुन्छ तातो!
कहीले छोडुँ जस्तो हुन्छ पार्टी,कुराकानी
छिँ:छिँ:-बुद्धी-भाकाहरु,किन खिँचातानी?
- अनन्तगोपाल रिसाल [17th April, 2010]
No comments:
Post a Comment