Monday, 1 September 2014

करेसा बारी र दश फाइदाहरु

करेसा बारी र दश फाइदाहरु


यो पटकको करेसा बारी, प्रकृति र मौसमले धेरै कुरा सिकायो ! मैले अमेरिकाको आफ्नै करेसा बारी बाट सिकेका केही मार्मिक शिक्षाहरु -

१. जति किसान हुनुमा रमाईलो छ, त्यति जमिनदार हुनुमा रहेनछ ! जीवनमा कति कमाई भयो भन्दा पनि प्रकृतिमा उत्पादन कसरी, किन र कैले - भन्ने प्रश्नका उत्तर किसानलाई थाहा हुन्छ र तिनीहरुको परिश्रमको सम्मान गर्न सिकिन्छ !

२. कति बिरुवा, फूल, जडिबुटी प्रकृतिमा आफैँ उम्रिन्छन् । तिनका बारेमा अनभिज्ञ हुनु नै अज्ञान रहेछ ! हाम्रो करेसा बारीमा यौटा झार प्रसस्त आउने गर्थ्यो ! यो पटक त्यो बिरुवाको बारे निक्कै अनुसन्धान गरियो ! हुँदा हुँदा त त्यो त - साह्रै मिठो बेथेको साग पो रहेछ ! कम्तिमा पनि तीन छाक खाईयो !


३. घरका फालिएका खानेकुरा, तरकारीका बोक्रा र घर बाहिरका घाँस, पात र हाँगा हरु नै १००% - पुन प्रयोगका लागि काम लाग्दा रहेछन् ! मल, थाङ्क्रा या जाडोका लागि दाउरा बन्ने भएकाले प्रकृतिका यी उपहार हरुको उपयोग गर्न सक्नु पनि - राम्रो समयको परिचालन रहेछ !

४. फूल, तरकारी, बोट बिरुवा विउको संरक्षण गर्नु, स्याहार सुसार, मलजल, गोडनु भनेको केटाकेटीलाई स्याहारेको जत्तिकै महत्वपूर्ण रहेछ! यो पटक तुलसी सम्बन्धी रोचक कथा र प्रसङ्ग छ ! पोहोर सालको विउलाई 'अलुमुनियम tray ' मा १ महिना अघि नै पूजा गरेर घरैभित्र राखियो ! पानी हालेपनि, घाम लागेपनि समय नपुगुन्जेल सम्म केहि आएन ! पछि निर्जला एकादशीमा पो रोप्नु पर्ने थाहा पाएँ ! समय पुगेपछि हरर्र योगिनी एकादशीमा त राम्रै गरी देखियो ! प्रकृतिको समय भनेको आमाले बनाउनु भएको हातको मीठो भान्छाघर र प्रसाद रहेछ !

५. बारी या बोट सानो हुँदैमा थोरै फल्ने भन्ने होइन रहेछ ! यो पटक लालीगुँरास, हरियो पेपर, गोदावरी, मूला र त्यसको साग, भन्टा, बेथे, जिनिंयाँको फूल, सयपत्री, ५ प्रकारका जडिबुटी, ब्रोकाउली, फर्स्री, गोलभेंडा, रायोको साग, धनिंया, झन्डै १०० बोट तुलसी रोपियो, चढाइयो, खाइयो र बाँढियो पनि !

६. करकलो तीन पटक पटक गरि लगाइयो र सबै भन्दा स्यार्नका लागि सजिलो तरकारी रहेछ ! पिण्डालूको टुसाउन लागेको मुन्टो माथी फर्काएर माटो भित्र राखिदिए दिएपछि, महिना दिन भित्र भान्छा घरका लागि तयार! हेर्दा राम्रो हरियो, पात र जरा दुवै खान मिल्ने - र मीठो पनि ! हुँदा हुँदा - अमेरिकामा पहिलो पल्ट मासमा पिनेर मस्यौरा बनाएर पनि १/२ छाक खाईयो !

७. पहिले पहिले छिमेकोको रुखका पातहरुको फोहोर सोर्दा सरापिन्थ्यो, खर्च गरेर पोका किनेर गाँठो पारेर बाहिर फ्याकिन्थ्यो अब ती त आफ्नै करेसा बारीका लागि धन, सम्पत्ती पो रहेछन् ! जाडो हिउँ पर्नु अघि सोहोरेर राखिदिएपछि त आर्को बालीलाई राम्रो मल तयार !

८. बारीमा बिउ र तरकारीले माहुरी, चराहरु, बारुला, लोखर्के, 'ग्राउण्ड-हग'- ठूलो मूसा र बिरालाहरु पनि देख्न पाइयो !

९. घरमा खानलाई शुद्ध तरकारी, भगवानलाई चढाउन बारीको फूल, देख्दा रंगीचंगी हरियो राम्रो, प्यारो र सस्तोमा सस्तो डाक्टर कहाँ जान नपर्ने, किसान योग - मानसिक चिकित्सा आदिको कति हो कति फाइदा ! तर अलि अलि झिंगा र लामखुट्टेलाई कसरी पुरै निराकरण गर्ने भनेर अर्को वर्षलाई राखेको छु !

१०. यो वर्ष शौखका रुपमा भएपनि धेरै मन मिल्ने साथीहरु बने ! प्रमोद भिनाज्यू र नम्रता दिदीहरुको धेरै देखासिकीले बारीमा प्रेरणा मिल्यो ! उज्जल भट्टराईले पठाई दिएको तुलसी दलले बारीमा ढकमक्क झुल्ने मौका पायो ! जनार्दन ढुंगाना ज्यूको जडिबुटी सम्बन्धी ज्ञानले पनि धेरै जागरुकता गरायो! बिना दिज्यूले बनाउन सिकाउनु भएको करकलाले अब कति समय सम्म त्यसको मिठास झुण्डिने हो !! ल, यो प्रकियालाई गतिशीलता दिन तपाईहरुको पनि साथ चाहिन्छ है, यहाँ हरुको अनुभव पनि सामूहिक गर्नोस्, हामीलाई पनि सिक्ने' मौका दिनोस् !!     

No comments:

Post a Comment