आध्यात्मिक गुरु प्रा श्री शिवगोपाल रिसालज्यू द्वारा लिखित 'वेदान्त वाटिका' आध्यात्मिक महाकाव्य भर्खरै पढ्ने मौका पाएँ! नेपाल हिमालयहरुले आभूषित शिखरै शिखरको राष्ट्र त विश्वले भौतिक तरहले, यात्रुहरुले बयान गरेझैँ विशिष्ट ताज रुपमा छंदैछ! नेपालमा यस्ता दैविक र आध्यात्मिक अलौकिकता, उत्कर्षताहरु पनि छन् जसले साँच्चि नै ब्रह्माण्डमा अद्वितीय भूमिका खेल्दछ! यहाँका पहाड,नदी,शालिग्राम,रुद्राक्ष, अनि लाखौँ जडिबुटी प्रसिद्द छन् नै, अझ चिनिनै बाँकी छन् ! घर-घरमा,तलाव र डाँडामा फूल्ने फूलहरुको त स्वर्गीय स्वभाव छ! यिनै बगैंचामा फूल्ने दैवी र आध्यात्मिक फूलहरुको समन्वय यसै महाकाव्य द्वारा ब्यक्त गर्न खोजिएको छ! नेपाललाई नै भगवान शिवको शिवभूमि भने पनि, विदेहराज ज्ञानी जनकको तपोभूमी भने पनि, मर्यादा पुरुषोत्तम राजारामको शशुराली अथवा श्री सितामहारानीको माईती भूमि भने पनि, सिद्दार्थ गौतमको जन्म भूमि, भगवान बुद्धको धाम, संघ या कर्म भूमि जे भने पनि - यो भूमि पावन भूमि हो! यहाँ गरीएका धर्म जसरी दुइ गुनाले फल बर्द्धक हुन्छ भने यस पावन पवित्र स्थानमा गरिएको पाप पनि दुगुनाले भोग्नु पर्ने हुन्छ!
सयपत्री, पारिजात, गोदावरी, चमेली, बेली, मखमली, लालीगुँरास र कमल नेपालका बास्नादार घर मन्दिरमा चढाईने पुष्पहरु हुन् ! काव्यमा हरेक खण्डहरु तिनै शान्त रसलाई लिएर गङ्गा सरी बगेका छन्, नक्षत्र सरी झल्केका छन्, चन्द्र-सूर्य सरी फूलेका पनि ! काव्यको रस अक्षर अक्षरमा, लेखाइ शब्द शब्दमा र लेखन शैली छन्द छन्दबाट प्रस्फूटित छ! जीव बाट आत्मा,आत्माबाट ईश्वर र ईश्वरबाट ब्रह्म हुने उपाय त हाम्रा घर-आँगनका षट-सम्पती हुन् ! यस काव्यमा बैदिक परम्परा, वर्ण, आश्रम, गुण, अबस्था, युग, र जीवनको अन्तिम लक्ष साहित्यिक लयद्वारा गाइएको छ! हिन्दू सनातन धर्मको सार मूखरित छ! शाँख्य, योग, न्याय ,बैसेशिक,मिमांषा र वेदान्त यो काब्य-बृक्षको विभिन्न हाँगा हुन् ! कर्मयोग, भक्ति ज्ञान योग मूल जरा हुन् - जसमा यो बाटिका अटेका छन् ! यो अश्वस्थ बृक्ष भएर पनि कल्प-वृक्ष बनेको छ ! यसमा करीब सहस्र पातहरु छन् जस्मा आफ्नै प्रकारको सुवाश छ,मिठास छ !
बुझ्नेको क्रम हुन्छ! पहिले राम भक्त हनुमानलाई बुझ्न सक्यो भने जप नाम भक्तिद्वारा राम बुझ्न सजिलो हुन्छ! हनुमानले गरेको तीब्र तपस्या,बाटिकाको उपद्र र राम-सेवा ब्रह्माण्ड प्रसिद्ध छ! त्यस पछि मर्यादा पुरुषोत्तम रामको ईश्वरज्ञान र शिव अस्तित्व बुझ्न सजिलो हुन्छ ! सगुण साकार शिवद्वारा निर्गूण निराकार शिव बुझिन्छ! कल्याणकारी शिवले स्वयम्भू बुद्ध तत्वको रहस्य बताई दिन्छ! बुद्धमा कृष्ण तत्व स्पष्ट झल्किन्छ र सिद्ध गराउँछ! शिवको आत्मरूप, कृष्णको विश्वरुपले र बुद्धको ईश्वर रुपले - ब्रह्म चिनाई दिन्छ! जसले शून्य समाधिमा अबस्थित बुद्ध चिन्तन गर्न सिकाउँछ र अन्तमा स्थित-प्राग्यताको बैज्ञानिक साक्षात्कार पनि! सम्पूर्ण पक्षको उद्बोधन र जीवनको रहस्योद्घाटन गराउँछ!
रिसालजी बाटिकामा नाङ्गो या शूक्ष्म भएर लुक्नु भएको जस्तो देखिनु भएता पनि उहाँका उद्गारमा हरेक श्लोकमा ज्ञानका अभिव्यक्ति र ब्रह्मका शास्त्रीय शूत्रहरु लुकेका छैनन्! मैले पनि वेदान्त बाटिकाबाट तिनै पुष्पको सुगन्ध लिएँ र तिन बाटै केहि पुन: साना पुष्पहरु रोप्ने,गोडमेल गर्ने धृष्टता गरेको छु !
चन्द्राकार हँसिया (बैराग्य)
वेदान्त बाटिका खाली, पुष्प फूल्दैन चोटमा
असङ्ग शस्त्रले हान्यौ? के नै उम्रन्छ बोटमा?
नफांड पुष्पका वृक्ष, क्षेत्र -क्षेत्रज्ञ हौ तिमी
आमाको हृदय जान,पितृ ईश्वरको भूमि !
ब्रह्म हो शास्त्रको भव्य,पात्र-पारेर सुम्पनु
वेद यो मंत्र हो, पत्र, भक्ति-ईश्वरको लिनु !
क्षेत्र-क्षेत्रज्ञको सनातन अस्तित्व
कल्पवृक्ष म हुँ ब्रह्म, पानी माटो छ गोड्दिने
मार्न पर्दैन संसार, मायाजाल यो झाँगिने -
चलायौ चित्त, चैतन्य? किन छौ द्वेतमा, रुने ?
आनन्द, सत्यमा ईश, ब्रह्म, अद्वैतमा छूने !
योग-क्षेमको सनातन अस्तित्व
[जसरी चन्द्रमामा सूर्यको ज्योतिले ऐनाको काम गर्दछ त्यसरी नै बुद्धिले शास्त्रीय ज्ञान बैराग्य अनुभव द्वारा आत्माको आभास मनमा गर्दछ! ]
म जादूबाट जन्मिन्छु, माया ईशले गर्नु भो
ज्ञान-बैराग्यले प्रेम, अन्धकार निखर्नु भो
नभएको छँदै छैन,तर देखिन्छ टल्कने
कला यो ईशको धन्य,मनै भित्र छ,पग्लने !
[गीता-ज्ञानको दोस्रो अध्यायबाट नै सिद्धार्थ - बुद्धमार्गी बन्नु भो ! भगवान प्राप्तिको मार्गमा लाग्नु भो ! शाक्यमुनी सिद्दार्थ ,शाङ्ख्य दर्शन - ज्ञान योगको मार्गतिर लाग्नु भयो, अर्जुन कर्मयोग तिर लागे ! ]
संयमी, बुद्धिमान्, ज्ञानी, बुद्धमार्गी बने बन !
बुद्धको चित्र या मूर्ति, ल्याई संस्कारमा मन
अज्ञानी, बुद्धु बन्लाउ, बुद्धिजीवी पसी बन
तिमी बद्ध हुदैँ हैनौ, स्वतन्त्र, मुक्त है बन !
बाटिका भित्रको शिव-मन्दिर
समाधिमा शंकर बस्नु हुन्छ
शरीर छानी कन पस्नु हुन्छ
हे! ब्रह्मचारी, मन-द्वार भित्र
ल्याएर राखौँ, शिवको छ चित्र?
शक्तिरुपा माया
तिमी बाटिकाका फलफूल माली
हजारी छ पानी दिए, झार फाली
सुसारी मुसारी ढकमक्क फूल्छन्
चढाउँ सबै ती,लटरम्म झूल्छन् !
शिव-शक्ति, प्रकृति पुरुष समन्वय
बारीका मलिलो माटो, वीज ईश्वरले दिए
मन बुद्धि लगाएर, मौसम् छानेर गोड्दिए-
अहंकार छ? के गर्छौ ? वेद छन् सब भन्दिने
आमा-धर्ती,कृपा-वृष्टि,धन-धान्य छ भर्दिने !
शिव-मन्दिर भित्रको ज्योतिर्लिङ्ग
अणु अणुमा शिव-नाट्यशाला
चढ्छन् चरणमा, गुथीं, बाग-माला
यो नाटकी बन्द गरी,उघार!
जादू हटाई झलमल्ल पार
बिना भक्ति र शमर्पण ज्ञान असम्भव
भक्तका भित्र जो बस्छन्, प्रेमले मुटु भित्र नि
राम बन्नु अघि सोच, हनुमान बन्यौ तिमी?
‘नजान्दै जान्दछु’-भन्छन्, संसारी जन बड्बडी -
राम हुन् धर्मका मूर्ति, मर्यादा-ईशको मणि !
ब्रह्मको प्रज्ञा-वाद बाट होसियार
हावा रैछ त्यो ब्रह्म ता फूसकिने, बेलुन् सरी फुक्दछौ?
ढल्पल-ढल्पल गर्दथ्यो गगनमा, झर्छन् भनी ढुक्दछौ?
धागो राखन शूत्र झैं नटुटने, चाहे ‘म’ तान्छु भन,
ती ब्रह्मा-शिव-कृष्ण मिल्छ सहजै, बुद्धि चढाउ मन !
No comments:
Post a Comment