Monday 4 October 2010

अम्रिकाको सुख,घर उधारोको तर


घरैबाट के के गर्न सकिन्छ त?

घरै बसी डिग्री लिनुस् घरै पसी खाने?
घरै बसी ट्याक्सी खोज्नुस्,तपाइँ कहाँ जाने?
घरैबाट काम गर्ने? घरै होटेल भो
आउने-जाने मान्छे धेरै,हाम्रै मोटेल हो

घरै बाट सिनेमा रे! बारी तरकारी
सरकारी समाज् सेवा चल्ने सहकारी
घरै हाम्रो मन्दिर हो पूजा साधनामा
पुस्तक र लेख पढ घरै कारखाना

जनावर पाल्दा रक्षा चिडियाको घर
जाडो गर्मी 'एसि-हिटर्'-बत्ती कम्पूटर
घरै भित्र पार्टी पेवा ब्यापारको तन्त्री
राजदूत स्वामीहरु भेट्न आउँछन् मन्त्री

घरैबाट सामान् किन घर्मै पूर्याउँछ
साथीहरु लेराउँछन् 'च्याट्ले' चलाउँछ
घरैबाट रगत् देउ,रोग बताउँछ
अर्थ-मन्दी झन्झटमा तेल बचाउँछ!

कवि गोष्ठी कलाकार कम्पूटर्कै छेउ
शिष्य चेला-चेलीलाई प्रवचन देउ
काम परे आउँछन् सबै,भन हो की हैन?
घरै तिम्रो मन्दिर हो कहिँ जानु छैन
    
अस्थायी बसोबास

घरै भित्र जन्म हुन्छ मर्छन् घर भित्र
शत्रु पनि भित्रै बाट बन्छ आफ्नै मित्र
निवाश यो भिन्ना भिन्नै आश्रयको द्वार
बास-स्थान कुटुँबका नाता परिवार

साना ठूला लामा अग्ला पर्खाल र चौर
संगीत र वाद्य कला मीठा गला स्वर
भोग गरी जान्छ यौटा अर्को पालो बस्छ  
सेता भित्ता राता निला दलिन् झ्याल पुस्छ
सुख की सुविधा?

सुविधा की सुख: भन? उधारको दुख
ऋण तिरी मिठो खाउ? पाल पेट मुख?
सुविधा र सुख भन्नु ह्वैन योटै कुरा
हिरा मोती फरक हुन् टिका पोते चूरा

देश विदेश् धर्म रिति आयो गयो होला
चारै भित्ता छानो छ यो नदी रुख खोला
करै कर्ले कर तिर भनेको झैँ गर
योग्य शिक्षा सूरक्षाको आफ्नै भर पर

सर्कारले स्वास्थ सेवा अलिअली गर्छ
कानूनको कुरा गर्दा पर पर सर्छ
घर्को वरिपरि सफा? जरिवाना तिर    
उस्तै घर, झुक्किएला अर्कैतिर छिर!
घर हाम्रो मन्दिर हो

दिनरात यौटै थलो घरै भयो शाला
धर्म अर्थ काम मोक्ष, गए जोबन् जाला
पूजा पाठ न्याश ध्यान योग समाधिले
भजन र भाव भक्ति जप तप मिले
राम बुद्ध शिव हरि श्याम-चेतनले
सोखी जोगी भोगी रोगी बस फेसनले

घर हाम्रो मन्दिर हो,मन्दिर हो घर
मुटु-घर हृदयको गुफा वरपर
सुख शान्ति मिल्छ त्यहिँ किन वर पर?
स्वार्थ छाडी समाजमा बस मिल तर  

मन मिले झुपडी मै साग सिस्नु स्वच्छ
त्याग सेवा नभएको भोजन के पच्छ?
दर्वारको सुविधा त आउने जाने गर्छ
परिवार आत्मियता ल्याउने तिम्रो घर्छ

घर  भित्रका सुविधा

घण्टी तल बझ्छ माथि ढोका खोल्ने 'स्वीच'
मुनि माथि हल्ला होला, हाम्रो घर बीच
नाच गान रमाईलो तिथी चाड पर्व
किस्ता किस्ता घर तिर्छोँ गर्नु के को गर्व?

घर मोटर् गराज छ,भान्छा घर ठिक्क
छैन कान्छा-कान्छी लूगा भाँडा माझ्ने दिक्क
'वासर्नी र ड्रायर्नीले' लूगा तताइ दिन्छे
'डिश-वाशर्'-भान्छे कान्छी,सफा गरी दिन्छे
'भ्याकुम्'-दाई घर्का फोर फालिदिन्छ 'ट्र्याश्मा'
हप्तादिन्मा दुई चोटि, आउँछ 'सिटी','ट्रक्मा'
हिउँदमा घर तातो गर्मी भए चिसो
काठै काठ हुरी आगो बच्ने जसो तसो

घर्मा कोही आयो चोर,आगो पानी लागे
पुलिस त्यो आइहाल्छ,'अलार्मले'-डाके
यन्त्रै यन्त्र पाक्ने राख्ने 'माईक्रो-मिनी'-'फ्रिज'
मैनौँ मैना टिक्ने खाना कस्तो यो बिचित्र?

'बार्बाक्यू'छे जाति माइली हिउँदमा सुत्छे
हरियाली चउरमा गर्मी भरी तात्छे
सफा गर्‍यो ग्रीष्म भरी बर्ष दिन पुग्यो
कुम्भकर्ण जस्तै खाई,छ मैनालाई सुत्यो

ग्याँस भर्यो कोईलाकी तातो पोल्यो खायो
अस्ति मात्रै गर्मी थियो,आजै जाडो आयो
सुविधाले स्वावलम्बी स्वार्थी बनाउँछ?
समयको कदर र मूल्य बताउँछ

सानै घर भए पनि सुविधाले युक्त
विसौँ तीसौँ बर्षौँ बर्ष ऋणबाट मुक्त
बुइगेल्लाई'याय्टिक्' भन्छन् तल 'बेसह्मेन्ट'
घाँस सफा,रुख काट्न अग्रिम् 'अग्रिमेन्ट'

सलाइका बाकस झैँ काठै-काठ धेरै
यता उता जता तता 'टाउन्'-घर,डेरै
कोइ भन्छन् 'सिँगल' रे कोही 'कण्डो' किन?
कहाँ? के के? कैले सर्ने? सबै पैले छिन

पढ बुझ सोध हेर हस्ताक्षर पछि
वकिलको सल्लाहमा ढुक्क घर बसी
जमिन्दार यहाँ पनि वहाँ जस्तै हुन्छन्
लेप्चे लाउँदा साना साना अक्षरमा बुन्छन्
ब्याँक दिन्छ धरौटिमा किन्न पायौ घर
जागिर् जस्तो त्यस्तै दिन्छ उधारो रे तर!
घरका विभिन्न प्रकार

घर पनि ब्यग्लाबेग्लै बूढा बालकको
समाजका ब्यापारका कृषि चालकको
छाना हरु गजूर झैँ हिँउ खसाउने
पानी पात धेरै पर्छ छैन बसाउने

'बङगलो' रे 'केपकड' 'मनोर्' 'कटेज' रे
'कोलोनियल्, डच, फ्रेन्च' दिन्छ 'नलेज'ले?
'म्यान्सन्मा' बस्छन् कोही 'य्रान्च' सानो तला
जति खायो पियो ढल्यो,नेपालीको हल्ला

'डुप्लेक्स'-'सेमी','भिक्टोरिया',कस्को साथ जाने?
विचार् गर जागिर् खाँदा, जादाँ के पो खाने?
ढल,'केवल्-इन्टर्नेट' के छ रुचाउने?
पानी बत्ती विजुली र आगो निभाउने
चिठ्ठी पत्र घरै बाट लिने वसारने  
किन बेच 'कम्पूटर्मा' मन पराउने

घुम्न जाँदा बस्यो 'कटेज्',आफ्नै अपार्ट्मेन्ट?
रमाइलो आगो बाली सुत्दा 'टेन्टै-टेन्ट'
मन मिले जहाँ पनि आराम् हुने रैछ
नयाँ जोडुँ नेपालमा, घर बेच्ने क्वै छ?
आकाशको फल होकी आखाँ तरी मर
अम्रिकामा सस्तो बरु,महँगो त्यहाँ घर!

घर भित्रका दर्द
घरै हुन्छ कैले धोका, घरै समाधान
आमा छोरी सासू ब्वारी प्रेम खिचाँतान
बाबु छोरा दाई भाई काका बाजे फूटे
आफू मिल्न नसक्दामा, पराइले लूटे

झलमल बत्तीमा खै? घर अन्धकार
अँध्यारोमै मिलापको खुल्छ मन द्वार
यौटा खुशी भयो भने अर्को दुखी हुने
दिन रात औँसी-पूर्णे नरक् स्वर्ग हुने
संगतले भोग्नै पर्छ छिमेकको द्वन्द
झन्झट र आलशमा घर दैलो बन्द

आत्मा शरीरको घर
शरीर् बस्छ मन, बुद्धी, चित्त, अहंकार
आत्मा भित्र मन बस्छ कत्रो चमत्कार
घर गाउँ,शहर् देश, देश महाद्विप
संसारमा बस्छन् सबै छानेर समीप

ज्ञानवान दिन्नन् क्षण घर भवनमा
गूफा ओढारको मुनी,मुनि मननमा
घरै बसी ईश्वरमा शुभ-समाचार
पुगोस् सेवा जनतामा आदर् सदाचार

सुविधा त आँउछ जान्छ आज भोली पर्सी
घर छैन? के भयो त? आउँछ सुख बर्सी
सानो कुटी उदारको विचारमा ज्ञानी
मिलिजुली बसुँ घर किन खिँचातानी?
जति सुकै दु:ख गर,वर-पर सर
अम्रिकाको सुख,घर,उधारोको तर
Disclaimer:All the images used in this poem are from Google Images

- अनन्तगोपाल रिसाल [4th Oct, 2010]

1 comment:

  1. हैन एस्तो राम्रो कबिता तपैलाई कसरी फुर्छा भन्या ?
    त्वाक्का त्वाक्का मिल्याछ जून लाइन पढयो तेई लाइन !

    अरुण

    ReplyDelete