Saturday, 14 November 2009

लाहूरेको भाइटिका


आमा छोरी,घर दिन बसे सँम्झी तिम्रो निवास
बग्दा खोला कलकल गरी,सँझनाको सुबाश !
बाटा राम्रा बनिदिनु भनी,गर्छु सत्कार भाई
कान्ला,बारी फुलहरु फुलुन् गद्गदीले रमाइ ||
प्यारो भाई,नबसन कतै,आउ जाँदै नजाउ
भुल्दै,झुल्दै नफस जगमा,फर्कनु पर्छ गाँउ!
आमा तिम्री कहिले?भनदै हेर्दछिन् झ्यालबाट
टोपी धर्के,सजग दिलको दिव्य तिम्रो ललाट|
देवी जस्ती दिदी छ मनकी, गर्दछिन् देखभार
आमा तिम्री तनय रसिली प्रेमकी प्यार-हार!
तिम्रै हो यो मुलुक बलियो, दास बन्दै नबन्नु
पानी खाई अँजुली हिमको,आश तिर्खा निखर्नु|
चौँरी-गाई बनभरी पसे,चाँचरी मग्मगायो
डाँफे नाचे,सुमधुर कतै, कोयली गीत गायो !
जान्छौ बाबु कति छ दिनको?छोडी आयौ लडाँइ?
साक्षी तिम्रा कदर गरने,दैव तिम्रो भलाई|
आउ भाई, गगन भरका, छोड बन्दूक-नाल
पर्खी-फर्खी सरस दिनको,संझना त्यो नफाल|
तिम्री प्यारी नयन-रुपकी,दिब्य माला लियेकी
बैनी सानी सरल गुणकी,हैम-धारा भरेकी|
मृत्‍यु तिम्रा नजिक नपरुन्,योजना साथ लागुन्
मिल्दै जाउन् रहर मनका,रोग सन्ताप भागुन्!
सँपत्तीले घर घर बसुन्,शत्रुता क्यै नआवस्
बस्दा यात्रा हरघडी नयाँ,सुख्ख संब्ऋद्धी पावस्!
पुर्खा तिम्रा अबिरल कतै हौसला बन्दिनेछन्
संम्झी तिम्रा विवश-कथना गाँउमा भन्दिनेछन्
गर्दा वार्ता,सजग जगमा,गोप्य भित्री नखोल्नु
आस्था आफ्ना कदर गरनु, दोष धेरै नबोल्नु!
दुबो सरी हुन् भरिलो जवानी
सँधै बनुन् जीवन भाग्यमानी
श्री सुर्य तिम्रा प्रतिबिँम्ब भैदिउन्
खुल्ला दिलैका कर-हात फैलिउन् ||
उदारको मँगल धाम-भित्र
जहाँ पुगे मिल्दछ साथ मित्र
फुलै फुलुन् मख्मल ती विचित्र
पत्री-सयौँ झल्मल पाई चित्र |
अजम्बरी पुष्प लगाइ दिन्छु
चिरन्जिबी साथ लगाइ दिन्छु||
सधैँ नयाँ उत्सबले नुहावोस्
दया,सुभाका शुभ गान पावोस्
स्वदेशको भेष,लियेर जाऊ
सँसारको सार लिएर आउ||
तिम्रा सबै काम मिलेर जाऊन्
अन्याय ती निर्मूल पार्न आउन्
आकाश-धर्ती सब दाहिना हुन्
सँस्कार आफ्नो सब झल्मलाउन्||
आस्था सधैँको अब लौ उघार
भाई तिमी होश गरे सुधार!
आउ तिमी जाँगरमा डटेर
बाधा नहुन् विघ्न सबै हटेर||
भुल्दै नभुल्नु, प्रभु एक राज
श्रध्दा उनैको, बलियो बिराज
यो जिन्दगी एक लडाँई भैसक्यो
विदेश सारा सब-देश गैसक्यो
रम्दै सधैं चित्त फिराइ आउ
बैनी-दिदी छन्,मनमा बसाऊ||
हे!शान्तिका दूत बनेर आयौ
खुशी बिहानी घरसम्म ल्यायौ
बारी बगैँचा ढकमक्क भै फुलुन्
पाखा,पधेँरा सब मक्ख भै रहुन्||
राष्ट्रीयताका तिमी हौ पूजारी
निष्पक्षतामा लड भाग्यशाली
दासी कसैको नबनेर भाई
निस्वार्थतामा सबको भलाई||
ईमानको हिम्मत मान गाऊ
सम्मानले देश ससाथ लाऊ
हारी कसै दाग नलेऊ माथ
सोचेर साथी,सब साथ राख||
ऊदारको जीवन बाँच्नुपर्छ
आचारले यौवन साँच्नु पर्छ!

आयौ विदेशी घरबार छाडी
दैलो रुँदै आँगन त्यो पछाडी
आशा सबैको घर गोठ-बार
लिन्छन् मनैमा जन बार-बार||

भाई विवश्मा तिमी जानुपर्छ
छाती-भरी तस्बीर लानुपर्छ


खर्ची नबस्नु बन होसीयार
विदेश त्यो जीवन भाग्य-भार||
छायाँ तिम्रा अबिरल सदा धर्तीमा देख्न पाँउ
नाता यौटा,अमर गहना,सोखले त्यो लगाँउ|
मोती-पन्ना, कति छ घरमा? खर्चिए ती सकिन्छन्
ज्युँदो माया अमर-धन यी,प्रेमका मोल हुन्नन्||
-अनन्तगोपाल रिसाल (14th Nov '09)

No comments:

Post a Comment