द्रौपदीको बस्त्र हर्ने दूर्योधन पापी,
लाचारले हेरी रहे,दुखी-लोग्ने,साथी?
काम, क्रोध, लोभ सबै असूरको कर्म
कृष्ण, प्यारा साथले नै बचाउँछ धर्म!
मनै रेछ द्रौपदी झैँ, ईन्द्रिय यो पांच
बुद्धी दिन्छन् ईश्वरले, आत्मासंग माग!
तम-रज,भोग,आशा,माया-मोह किन?
बस्त्र हाम्रो शरीर हो,आत्म, प्राण चिन!
नेपाल हो द्रौपदी झैँ, नेता वस्त्र तान्ने -
थूक्क राजा, शासक हो, कसलाई मात्र मान्ने ?
शिव, बुद्ध मन्दिर बाट उठी जुटि आउ
दुश्हासन दूर्योधन मरुन शहर-गाउँ !!
प्यारी राम्री सीता रानी नेपालकी ज्योति
नदीनाला, पहाड र हिमालकी मोति,
कहिले सम्म सहने हो? रावणको राज
जनता हो उठ जाग, ढाक मातृ-लाज!!
गरिबी र भ्रष्टाचारी बढदो छ रे अझ
बत्ती पानी बिद्यालय, बाटो सानै र छ!
समुन्द्रको मन्थनमा, विष शिव खाने
हिमालको विभत्स यो, अब कता जाने?
हिमालकी छोरी तिमी पार्वती हो नाउँ
गणेशकी आमा,सक्ति,सिर्जी धर्ती गाउँ!
देवी माता सन्तानको हेतु कृपा फर्क
हिमालको विष लगी समून्द्रमै छर्क !
कति चेलीबेटीहरु- लूटियेर रोए,
अन्यायका बिरोध ती, रगतले धोए!
नपुम्सक नेताहरु फर्काउछन् पीठ,
अझै न्याय लिन सक्छौ, जनता हो उठ!!
अनन्तगोपाल रिसाल - 2/20/2013
No comments:
Post a Comment