Sunday 9 January 2011

हिमालको आध्यात्मिक मुस्कान !



गुफा कन्दराका धन ईतिहास वंश
टाढा टाढा जाऔँ तर आफ्नै घर संझ
नबिर्सिनु मानवता शुद्ध कहानी यो
स्वर्ग धर्ती हिमालय साधु जीवनीको!

खोजी गर्न निक्कै बाँकी बल्ल सानो धरो
सनातन वेद-वृक्ष पढौँ ज्ञान-जरो
अध्यात्मको शिखर हो नेपाल यो खानी
प्रवासियौँ कस्तुरी झैँ गन्ध जानी जानी

पाण्डवले धर्म-राज साथलिई चढे
हिमालको दर्शनले जिउँदै-स्वर्ग पुगे       
जमिदिन्छ सुरक्षित सित-काल हिउँ
गाउँघर अमृतको बुँद बुँद पिउँ !

बगरको शालिग्राम खन्डरमा के छ?
ईश्वरको नजरमा हेर धन्य जे छ!
न्याय धर्म स्वास्थ रक्षा शिक्षा पानी पक्ष्य
पुग्नु पर्छ घर घर सेवा शुद्ध लक्ष्य

संसारकै सुन्दरी छिन् पर्वतकी छोरी
रंगी चँगी नाना राम्रा रुमाल् कपाल् कोरी
छरिएका शान्ति चिन्ह विश्वभरी झन्डा
तीनकुने हिमाल् राम्रो-नेपाल्,सबै भन्दा

सामयिक ब्यवस्था यो सामूहिक नारा
संजीवनी जडिबूटी ज्युँका त्युँ छन् सारा   
अमृतले सिँचिएकी धर्ती वशुधैव  
कल्प-वृक्ष कामधेनु कोटी श्रोत-देव



सिद्ध ज्ञानी अवतारी हिमालय पुग्छन्
संसारको पवित्रता गुफा भित्र लुक्छन्
खोजी गर्नु उत्खनन सभ्यताको पाना
ज्योतिषी र मनिषीको उत्कर्षको ज्ञान

काला पत्थर् अन्ध-गुफा पावन् धर्म-पूर
साधक को? जप-तप,चिन्यौ? वीर, शूर?
मनाङ र मुस्ताङको खप्तडको ताल
हाम्रै शक्ति आस्था धन,हुन्छौँ मालामाल

सिद्ध क्षेत्र-बराह र स्वर्गद्वारी कुन्ज
देवघाट मुक्तिनाथ गोसाईँको पून्ज
रिद्धी-सिद्धी तारा सारा घरघरमा छिन्
सनातन दीर्घकाल तनमन लक्षिन्

स्वर्ग जाऔँ तर हामी सिक्न पाउँदैनौँ  
कर्म फल भोग्छौँ तर धर्म कमाउँदैनौ
आफ्नै आँगन् मन्दिर छन् मोक्ष कर्म दैलो
धर्म गर्ने सज्जन हो सेवा भाव पैलो

दानव्-देव झै-झगडा भेट उपलब्धी          
समुन्द्रको मन्थन् गर्दा बल्ल मिल्यो आधी
ब्रह्मा विष्णु महेषले यौटै प्रिय ठाने
पानी भित्र-बाहिर् जम्छन् अमृत यो जाने

गौरी शंकर् गंगाजीकी चन्द्रमाकी रानी
धैर्य ध्वज हिमालय सप्तरंङ्गी पानी
बगिदिन्छौ स्वभावमा द्वार मूल खोली     
त्रिशुली र गन्डक्कोसी कर्ण-महाकाली

धर्म,अर्थ,काम,मोक्ष-पूर्ण बताउँछ  
सनातन सृष्टि धन्य बिर्से संझाउँछ!
हराएको अध्यात्म यो पुन: ब्युँताउँछ    
हिमालको मुस्कानले विश्व ब्युँझाउँछ !

-अनन्तगोपाल रिसाल [8th Jan, 2011, NRN Inspirational ]
** Disclaimer: All the images used here are referenced from the Google Images

No comments:

Post a Comment