Friday, 6 August 2010

डोको


बोकी कैले थाक्ने छैन, पधेँराको पानी
जन्मिन्छु म गाँउघर, जन्मे भित्रै नानी
बाल, वृद्ध,सुत्केरीको सहयोगी साथी
झर्छु,  पुग्छु बेसी सहर् कैले तल माथि

उपत्यका घुम बन्छु, हिमालमा मीत
सेवा गर्ने मन मेरो,माया तिमी सित
लेक बेसी बाजा-बजे, नाचुँ-लाग्ने गीत
संसारले बिर्से-पनि नेपालीको प्रित!

माछा मार्ने, दाउरा बोक्ने,छोप्लान् कुखुरा
घाम-पानी रुझेको छु, म दु:खी टुहुरा
पैरो जाँदा धेरै चोटि भीर खसेको छु
गरीव छु, धर्म-कर्म पीर बोकेको छु

डोको हाम्रो संपत्ती हो, पूरानाको ब्यथा
प्राचीनको, सभ्यताको,ज्युँदो-सीप, कथा
लोक-गाँउ, तराईको, पहाडको भारी  
जंगलमा बिते रात,सुनकोसे झाडी

कति टाढा मैदानमा तराईको बोको
खसी,बाख्रा,पाठा बोकेँ पटुकीले डोको
घाँस बारी परालले, कठै गाह्रो भो कि?  
गोबर र गुँईठाले भिजे राम्रा धोती?

छोरी जन्मे मेरै काख, सारेँ आमा सरी
बोकेँ रोईन् छोरी बाबा, आमा साह्रै परी
नून घोट्ने सिलौटो र धान पिन्ने जाँतो
ढिकि बोकेँ आँगनको, खाजा न्यानो तातो

स्याउला,  झार, साल्को पात, टिपेँ टाकुरा गै
गोर्खालीको सिर्को शान, भिर्छु गहना झैँ
कोईला र सुर्की, धान बोकेँ टम्म बाँधी    
दुध-दही,पानी अमृत् ,पहिरो र आँधी

हतियार मतियार, कति बोकेँ मैँले
सेवक हुँ देश मेरो,गाह्रो भयो ऐले
परिवार घरवार, देखेँ, होलान् मेरै
माटो, ढुँगा, पानी बोक्छु,आँखा रछन् धेरै

हाट, बजार् , घाट, तीर्थ, निकै घुमेको छु
तल्ला घरे काका बाजे,सब्लाई चिनेको छु
दु:ख पर्दा सँझिन्छन् क्वै,मर्दा बोकीदिन्छु       
'टुरिष्ट'ले हिमाल चड्दा,बाटै रोकिदिन्छु  

कैले काँही साथ दिन्छन् गाई-याक चौँरी
हाँसिदिन्छिन् मुसुक्कले हिमालकी  गौरी
डोकै सरी मेरी छोरी,प्यारी गोरी मोरी
कोरी-बाटी चिटिक्ककी, सीधा, छैनौ फोरी

गाईको सेवा दाम्लो गर्छ, डोको-नाम्लोले
हर्या-बारी खोला पानी,आली कान्लोले
चामल र चिनी बोकेँ, बाटो कुरी कुरी
गरेको छु नेपालीको, सेवा मूरी मूरी


- अनन्तगोपाल रिसाल [August 6th 2010]





Disclaimer: All the images used in this poem are from Google Images reference. 

No comments:

Post a Comment