Saturday, 14 November 2009

लाहूरेको भाइटिका


आमा छोरी,घर दिन बसे सँम्झी तिम्रो निवास
बग्दा खोला कलकल गरी,सँझनाको सुबाश !
बाटा राम्रा बनिदिनु भनी,गर्छु सत्कार भाई
कान्ला,बारी फुलहरु फुलुन् गद्गदीले रमाइ ||
प्यारो भाई,नबसन कतै,आउ जाँदै नजाउ
भुल्दै,झुल्दै नफस जगमा,फर्कनु पर्छ गाँउ!
आमा तिम्री कहिले?भनदै हेर्दछिन् झ्यालबाट
टोपी धर्के,सजग दिलको दिव्य तिम्रो ललाट|
देवी जस्ती दिदी छ मनकी, गर्दछिन् देखभार
आमा तिम्री तनय रसिली प्रेमकी प्यार-हार!
तिम्रै हो यो मुलुक बलियो, दास बन्दै नबन्नु
पानी खाई अँजुली हिमको,आश तिर्खा निखर्नु|
चौँरी-गाई बनभरी पसे,चाँचरी मग्मगायो
डाँफे नाचे,सुमधुर कतै, कोयली गीत गायो !
जान्छौ बाबु कति छ दिनको?छोडी आयौ लडाँइ?
साक्षी तिम्रा कदर गरने,दैव तिम्रो भलाई|
आउ भाई, गगन भरका, छोड बन्दूक-नाल
पर्खी-फर्खी सरस दिनको,संझना त्यो नफाल|
तिम्री प्यारी नयन-रुपकी,दिब्य माला लियेकी
बैनी सानी सरल गुणकी,हैम-धारा भरेकी|
मृत्‍यु तिम्रा नजिक नपरुन्,योजना साथ लागुन्
मिल्दै जाउन् रहर मनका,रोग सन्ताप भागुन्!
सँपत्तीले घर घर बसुन्,शत्रुता क्यै नआवस्
बस्दा यात्रा हरघडी नयाँ,सुख्ख संब्ऋद्धी पावस्!
पुर्खा तिम्रा अबिरल कतै हौसला बन्दिनेछन्
संम्झी तिम्रा विवश-कथना गाँउमा भन्दिनेछन्
गर्दा वार्ता,सजग जगमा,गोप्य भित्री नखोल्नु
आस्था आफ्ना कदर गरनु, दोष धेरै नबोल्नु!
दुबो सरी हुन् भरिलो जवानी
सँधै बनुन् जीवन भाग्यमानी
श्री सुर्य तिम्रा प्रतिबिँम्ब भैदिउन्
खुल्ला दिलैका कर-हात फैलिउन् ||
उदारको मँगल धाम-भित्र
जहाँ पुगे मिल्दछ साथ मित्र
फुलै फुलुन् मख्मल ती विचित्र
पत्री-सयौँ झल्मल पाई चित्र |
अजम्बरी पुष्प लगाइ दिन्छु
चिरन्जिबी साथ लगाइ दिन्छु||
सधैँ नयाँ उत्सबले नुहावोस्
दया,सुभाका शुभ गान पावोस्
स्वदेशको भेष,लियेर जाऊ
सँसारको सार लिएर आउ||
तिम्रा सबै काम मिलेर जाऊन्
अन्याय ती निर्मूल पार्न आउन्
आकाश-धर्ती सब दाहिना हुन्
सँस्कार आफ्नो सब झल्मलाउन्||
आस्था सधैँको अब लौ उघार
भाई तिमी होश गरे सुधार!
आउ तिमी जाँगरमा डटेर
बाधा नहुन् विघ्न सबै हटेर||
भुल्दै नभुल्नु, प्रभु एक राज
श्रध्दा उनैको, बलियो बिराज
यो जिन्दगी एक लडाँई भैसक्यो
विदेश सारा सब-देश गैसक्यो
रम्दै सधैं चित्त फिराइ आउ
बैनी-दिदी छन्,मनमा बसाऊ||
हे!शान्तिका दूत बनेर आयौ
खुशी बिहानी घरसम्म ल्यायौ
बारी बगैँचा ढकमक्क भै फुलुन्
पाखा,पधेँरा सब मक्ख भै रहुन्||
राष्ट्रीयताका तिमी हौ पूजारी
निष्पक्षतामा लड भाग्यशाली
दासी कसैको नबनेर भाई
निस्वार्थतामा सबको भलाई||
ईमानको हिम्मत मान गाऊ
सम्मानले देश ससाथ लाऊ
हारी कसै दाग नलेऊ माथ
सोचेर साथी,सब साथ राख||
ऊदारको जीवन बाँच्नुपर्छ
आचारले यौवन साँच्नु पर्छ!

आयौ विदेशी घरबार छाडी
दैलो रुँदै आँगन त्यो पछाडी
आशा सबैको घर गोठ-बार
लिन्छन् मनैमा जन बार-बार||

भाई विवश्मा तिमी जानुपर्छ
छाती-भरी तस्बीर लानुपर्छ


खर्ची नबस्नु बन होसीयार
विदेश त्यो जीवन भाग्य-भार||
छायाँ तिम्रा अबिरल सदा धर्तीमा देख्न पाँउ
नाता यौटा,अमर गहना,सोखले त्यो लगाँउ|
मोती-पन्ना, कति छ घरमा? खर्चिए ती सकिन्छन्
ज्युँदो माया अमर-धन यी,प्रेमका मोल हुन्नन्||
-अनन्तगोपाल रिसाल (14th Nov '09)

Wednesday, 11 November 2009

सैनिकको सेवामय जीवन !


स्वतन्त्रता सजिलो छ?कति ज्यान हर्यो?
आभारीको मौनताले,संझना त्यो गर्‍यो!

देशको झण्डा सम्मानले बोक्छ,ठूलो छाती
आफु गोली थापी मर्छ, बचाँउछ साथी !
कतै देश जल्दो बल्दो कतै ओझेलमा
रातो निलो झण्डा उही, पुग्ने शिखरमा
सम्मान् तिम्रो कति कति कैले सँकिदैन
जित तिम्रो यहाँ,वहाँ जित्न सँकिदैन
ज्यान दिन तयार छौ !जान,बुझ,किन?
ज्यान लिन्छौ कसको तिमी?आफ्नो रुप चीन!
ईश्वरको सँझना ली, मृत्‍यु हेर्न सक्छौ
शरीर यो लूगा ठानी, कठै! फेर्न सक्छौ|
पापी साथी नजिक भन्दा,टाढा शत्रु जाति
शुत्र,नियम हुन्छ उस्को-डर दिन्न राती!

सूचना-दि आउछँ लड्न,बस तम्तयार
भित्रै-भित्र मारिसक्छ तिम्रो आफ्नै यार !

शरीरको मरण छ, आत्मा मर्ने छैनौ
मृत्‍यु हुन्छ स्थुल-जीव, 'तिमी' मर्ने होइनौ|
हेर्दा उस्तै उस्ता छन् यी,दुई भाई-छोरा
खैरो भए यौटा हुने,आर्को भयो गोरा !
सिपाही जो दिग्गज हुन्,जीवन बाजी गर्छ
यही जीवन स्वर्ग-द्वार,सधैं जीत हुन्छ!
जप-ध्यान गर्दागर्दै जीवनको अन्त
भ-जन र सेवा-सँगीत,खुश-आफन्त |
आफू भन्दा घर माथि,घर भन्दा गाउँ
गाउँ भन्दा निक्कै माथि, हिमालको ठाउँ !
धर्म भन्दा ईश ठूलो, विश्व हाम्रो देश
ईश भन्दा सेवा ठूलो, छैन केही शेष !
चाहिन्छन् यी देश प्यारा, वीर-शाली जाति
फुल्वारीमा फुल फुल्यो, पानी हाल्ने माली !
घर भन्दा देश ठुलो, देश भन्दा धर्म
सबै भन्दा ठूलो रैछ निश्कामको-कर्म !
उसको ब्यग्लै जागिर छ, हाकिम हुन्छ अर्को
निश्कामले कर्म गर्दा लाग्ने छैन झर्को !
आफ्नै आश्रम ठूलो भन्छन्,आडम्बरी जाली
आवश्यकता थोरै हुन्छ, सद्गुरु ज्ञानी |
जो जो हेर्छु आफ्नै आश्रम,बन्यो तिनको घर
नेपाल हेर्छु आफ्नै आमा,सबै मेरो थर !
दुखी रैछ अजिँगर, दरिद्र छ गोही
जति भोग भोगे पनि,पुग्यो भन्छ कोहि?
मृत्‍यु आयो जान्छौ कहाँ? कसको आश्रय लियौ?
समाजमा कति लियौ? कति चाँही दियौ?
आखाँ चिम्लेँ, छैन केही, सपना हो बुझेँ
पानी देख्छु-मरुभुमी,पसीनाले भिझेँ |



त्याग प्रेम उदारता धर्म कर्म गाथा,
विवशको जिन्दगानी छैन कोहि साथ!   
परिवार साथी संगी समाजको ब्यथा; 
सैनिकको सेवामय जीवनको कथा !
 
- अनन्‍तगोपाल रिसाल (11th Nov'09,12:01AM)

Tuesday, 10 November 2009

सच्चा मित्र - मृत्‍यु !

[सारा सँसारका साथीहरुले त्यागे पनि,बन्धु-बान्धबले छोडे पनि,आफन्तले घ्रिडाँ गरे पनि,सरकारले तिरस्कार गरे पनि - म्रुत्यु एक परमप्रिय मित्र हो,जो अन्तिम समयमा पनि सबैको सधैँ साथ दिन्छ! चाहे ईस्वरीय स्वरुपमा वा अन्धकार कृष्णमय-लीला रुपमा - शरीरको म्रुत्यु निश्चित छ है!]

मान्छे भित्र छ यो लूकेर बसने, निस्कन्छ यौटा दिन
मूर्दा झैँ कति बस्दछौ ह्रिदयमा? मान्छे छ द्यौता चिन|
आजै बित्दछ,छैन है सफर यो, बासै बसौँला भनी
भोग्नै पर्दछ दुखमा विवशले गिन्ती सकिए पनि |

आयौँ,भोग गर्यौँ,रह्यौँ, अब कता? जाने भनी सोचद्छौँ ?
हाम्रा तर्क-वितर्कले नसकिने, प्यासी बनी घुम्दछौँ |
धेरै होश गरौँ,असूर मदको बास्ना न हो झर्दछ
नाशै छैन,निवाश यो भन कता? मृत्‍यु त्यहाँ मर्दछ|

मर्ने निश्चित छौँ, अबश्य रहने छैनौँ यहाँ क्यैपनि
कैले हो?अब हा! बुझौँ,सजगले,मर्नै नपर्ने गरी
भोग्ने भोग्दछ, सत्य-शान-रसले, थाकेर थाकिन्न जो
जानेँ,जान्न अझै?पुग्यो रहरले,जानेर जानिन्न यो |

मौका यी कति मिल्दछन्? जीवनमा हाँसी बिते जीवनी
आत्मा-भावन, जीवमा गर तिमी दुइचार मैना बढी
हिँड्दैछौँ तर जान हे! अमरता,हेर्दैछ मृत्‍यु-छ-कैँ !
पर्खन्छौ? डर के छ सोध मनमा? बाँकी रहे प्रश्न क्यै?

सम्झन्छौँ अन्तमा जस्तो, लिन्छौँ त्यस्तै नयाँ जुनी
घाम लाग्यो उठे सारा रातमा बित्छ जीवनी !
मृत्‍यु हो, रातको निन्द्रा, सुत्यौ? आनन्दले हिजो?
आजको जीवनी बेग्लै, हिजैको चिन्तना न हो !

- अनन्‍तगोपाल रिसाल (10th Nov'09)

Wednesday, 7 October 2009

गगन भरमा झल्मल बन


लक्ष्मीप्रसाद देवकोटाको सत वार्षिकी: 
गगन भरमा झल्मल बन
 
मूना ती विचरी मरिन्,मदन त्यो, मर्दैन तिम्रो छवी
नेपाली अब सोच है अमरता, भाषा छ यो सूरभी |
पागल् झैँ,पुतली,लुनी,सुन-विहान्,सीता-हरण्,कुन्जिनी
शाकुन्तल् र सुलोचना,बन-कुसुम्,राणा-प्रतापी तिमी |१|
 
 
शावित्री तर सत्यवान्,कसमले-चम्पा-प्रभा,गाइने
बिर्सिन्नौँ सुन-यो छ है 'डलरमा',लक्ष्मी सधैँ चाहिने 
भश्मै रै छ त यो,प्रसाद,जग खै? बाँकी रह्यो छैन ती?
धूवाँ झैँ,सब मैलियो दश-दिशा एकै बुझेँ कृष्णजी|२|
 
 
लक्ष्मी छन् कणमा,विदेश घरमा,लूकेर बस्छन् कति!
यौटै वीज थियौ,कहाँ शिखरमा,देख्यौ नजिकै यति?
तिम्रा भाव र सम्पदा नगरमा,बढ्नेछ आशा यहाँ
साझा छौ जनका,अगाध धनका,लक्ष्मी तिमी छौ जहाँ|३|
 
 
छाती चर्चर गर्दथ्यो,अमरता,खै त्यो कता?साधना?
छोड्यौ तल्तल ती नशा,कसर झैँ, छैनन् कुनै वाशना
धर्ती पूजन गर्दछौँ  मिलिवरी,सुन्का अनर्सा फले
बन्ने भो,नव-पाइला मुलुकको, थाली-पुजा-दीपले|४|
 
 
त्यागी बन्न सक्यौ!अहा!ऋदयले,वाणी मिठा भर्दियौ
सेवा नै जनको,उदार मनले,घाऊ सफा गर्दियौ|
आत्मा पूजन गर्दछौ,इश-भनी,ढुँगा न की देवता
लक्ष्मीका परसाद हौ,जन-कवि बस्छिन् त्यहिँ शारदा|५|
 
 
औँसीका,अझ रातका प्रहरमा,ज्योति बनी बल्दछौ
श्रस्टा हे!अब देशमा सरलता,शिक्षा नयाँ भर्दछौ|
देखौँ सज्जन आज,विश्व-जनमा, सम्मानको आँगन
हाम्रा शुद्ध बनुन्,सबै मतिहरु,भैलेनीको माँगन |६|
 
गोठैमा किन बस्दछौ? शरण ली, तिम्रा प्रशँसा कति?
धर्तीमा अझ झर्दछौ,धन-कवि,द्यौता सरी सम्पत्ती !
खाई घाँस रुखो,अम्रित बनी,उद्धार सबको गर
भक्ती भावन गर्दछौँ बस तिमी, नेपाल तिम्रो घर|७|
 

दैवी खेल छ यो,अवश्य रहने छैनन् यहाँ क्यै पनि!
द्वी-चारै महिना निवाश गरियो, मीठा कहानी भनी
बर्षौँ वर्ष बिते सताब्दी गईगो, खै के भयो सँझ त ?
भाषा रैछ समाजमा गतिदिने,प्यारो,मीठो,दुर्लभ |८| 
 
 
जसै लक्ष्मी उक्ले,स्वरग तलमा,ईन्द्र पहिले
कुरा नेपालीमा,सहज गरियो,देव जनले |
सुनाए धर्तीका-मदन,कविले,विह्वर कथा
अहा!मीठा गाये,गजल रसिला,छन्द कविता|९| 
 
 
बनायौ बाटा ती,अमर रहने,धर्म-मूरती
छ भाषा नेपाली सरल बहने, स्वर्ग-धरती|
बिते बर्सौँ,ताजा-तर छ अहिले सुन्दर-पन
उदाएका तारा,गगन भरमा झल्मल बन |१०|
 
 
अनन्तगोपाल रिसाल - ७ अक्टोबर २००९, बुधवार