किन म मन बिगारुँ? लूप्त झैँ बस्छ क्रोध
विषयरस निकालुँ
झट्ट फालेर लोभ
लगन लग बढारी
कामना चट्ट पार
निखर हृदय ज्योती
दीप, खै अन्धकार ?
||1||
दुख र सुख सहेरै
ईशमा गर्छु याद
परमगति बुझेमा
हुन्न केही विषाद
सुमन सरल बोली
कर्म चोखो मिठास
सलल नरम नौनी
स्वच्छ प्यारो मिजास||2||
अविरल मधु
दिन्छिन् गाई गर्छिन् भलाई
जडिबुटि बन खाई
औषधी बन्छ भाई
नगर भर छ कोही? सज्जनै मिल्छ रोजी
तरपनि दुख
दिन्छन् राक्षसी मूर्ख, खोजी ||3||
असल बखत के हो? कुर्नु पर्ने छ कोही?
भन त सहज चिन्ता
चित्तमा फूर्छ केही?
अनिद दिन चहारी
फेरि मिल्छन् दुरुस्तै
अविरल सुख के मा? देखिने स्वप्न जस्तै ||4||
शरिर वशु सघाई आठ
बस्छन् अपूर्व
अनल पवन पाँचै
तत्व चन्द्रादि सूर्य
सहज दश छ इन्द्रै
ज्ञान आदित्य खोपी
झलमल दिल पारी
भक्ति सौन्दर्य चोपी||5||
रगत असल वायू
रुद्र बस्छन् निरोगी
सफल भगत पाई
देवता बस्छ भोगी
शिव रहु शिर माथी
विष्णु छन् मध्य छाती
हृदय कमल फुल्छन्
पावनी शिग्धशाली ||6||
नगर रिस र डाहा, लाज हा लाग्छ, हुन्न
अगणित सुख के हो ? सुन्नु पर्नेछ बुझ्न
सफर सजग बन्दै
योगले नित्य बन्न
रसिक, उचित बाँकी छैन क्यै मन्त्र भन्न||7||
किन बुझ मद बाँकी
मोह भित्ता र गारो
ज्वर छ अधिक तातो
निभ्न पो हुन्छ गाह्रो
शुभ दिन कहिले हो
जान्छ कालो निखारी
पुन पुन घर
जान्छन् माग्न के यो भिकारी?
||8||
दन दन बन सल्के
ज्वार सक्छौ निभाऊ
निरस अरुचि
लाग्दा विश्व बिर्सी निदाऊ
शहर नजर भिन्दै हुन्छ यो देह फेर्दा ?
कुन कुन सत
मान्ने ? ब्युझिएँ छैन हेर्दा||9||
जप तप गर साथी
साधु जस्तै तटस्थ
कल कल झर पानी
सोच राखेर व्यस्त
स्मरण नमन गर्दै
तालमा जम्न जाऊ
सरल, नगर चिन्ता ज्ञानमा शोख
लाऊ||10||
गन गन कति गर्छौ कामले
फत्ते गर्नु
अनसन कति बस्छौ बोझ
बन्दै नबन्नु
दुख दलितहरुको
कामना सिद्ध गर्नु
गरिव दिन दयालू
ज्ञानको वीज छर्नु ||11||
तलतल न छ खोजी
कल्पना छैन निन्द्रा
अवगुण न त राखी
च्यापी सम्मान निन्दा
अविषय बन साक्षी
बुद्धि चोखो गराऊ
शरण गर चनाखो
बुद्धकै मार्ग आऊ||12||
अब पनि कति
रुन्छौ? चिन्तनामा डुबेर
समय नजिक आयो
हुन्छ होला अबेर
डुबन सजल गङ्गा
ज्ञानमा लौ रुझेर
बुझ बुझ बुझ साथी
बुझ्नु पर्ने बुझेर||13||
बचन चमक ल्याई
कर्म सौन्दर्य भाव
अधम गरिव देख्दा
छैन केही अभाव
मुनि ऋषि हृदयै
झैँ स्वार्थमा छैन लक्ष्य
शम दम तप राखे
ज्ञानले मिल्छ मोक्ष||14||
अभय निडर बन्दै
प्राप्ति गर्नुछ धेय
सम छ विरह माया
मोह भन्दैन श्रेय
सुगम पथ बिचारी
हिँड्न सक्छन् विवेकी
असत विगत बिर्सी
दूर दृष्टि, नहेरी||15||
हिम शिखर पखाली
बग्दछिन् श्वेत गंगा
बस कि उड विवेकी
साक्षी संझेर चंगा
कठिन छ तर सक्छौ वीर
भै स्वाद चाख
अमर बनन साथी
शुद्ध संकल्प राख ||16||
-अनन्तगोपाल रिसाल [४/९/२०१५, मालिनी छन्द]