skip to main |
skip to sidebar
रुखको प्रार्थना
नकाट रुख हुँ सानो, चौतारी भनी पस्दछन्!
जिउंदो घरको छानो-मिलेर जीव बस्दछन्!
म यौटा देश हुँ प्यारो,सबैको हीत सोच्दछु!
घाम,पानी,हुरीबाट, सयौँ जीवन पोस्दछु!
मेरो जीवन हो सेवा, सयौँ वर्ष जिएपनी,
आश्रय प्राणीको ठान,कस्तै कष्ठ परेपनी!
बिषाक्त सास म लिन्छु,जीवको प्राण भर्दछु!
फल दिन्छु,फूलिदिन्छु, हावा भैकन उड्दछु !
पानी हाले विरुवामा, पानी पार्न समर्थ छु
नछाड जन्तुले खान्छन्,सानैमा म त मर्दछु!
इतिहास म हुँ तिम्रो, भविश्य- त्यो म कोर्दछु
धर्तीसंग म मागेर शक्ति,खाद्यान्न जोर्दछु !
सोर्य शक्ति मिलाएर,मज़बूत बनाउंछु
बुटी हुँ औषधी,रोग म तिम्रो श्वस्थ गर्दछु!
छाता छु मार्गको छायाँ,चिसो प्यारो बतास हुँ
रातको ठण्डीमा मीत न्यानो,तातो आभास हुँ!
मलाई काट्दछन् मान्छे,घर काठ बनाउँछन्
कोठा भित्ता भरेकाछन्, हातखुट्टा छिनाउँछन्!
कला मूर्ती बनाएर, कोर्छन् कागत-पत्रमा,
कार्खाना-कलमा लान्छन्,फ्याल्छन् कैँ अलपत्रमा!
गोडमेल गरी देउ, झार पात उखालन
म आँफैँ गर्न काँ सक्छु? बिन्ती छ बीज-पालन!
वेद शास्त्र लिपी तिम्रा सुरक्षित छ पातमा
रक्षा सहायता माग्छु, तिम्रै छ अब हातमा !
हिमाली गण्डकी कोशी शुद्ध वायु प्रशादले
कर्णाली मेची माकाली स्वर्गीय-धर्ती यादले,
विनयी प्रार्थना मेरो, सानो बुद्धी विबेक जो-
प्रक्रिती पूर्ण विस्तार, निर्माण, अनुरोध यो!
-अनन्तगोपाल रिसाल [3/15/2013]
अन्धोको ईछ्या -
अन्धो आफू मन्दिर बाट फर्कीँदैथें साझँ,
मुहारमा चमकथ्यो, हेरिरहेँ आज !
'सिढीँ उक्ली, सबैले झैँ भगवानलाई ढोगेँ !'
'दर्शन भो ?' जिस्काएर साथीहरुले सोधे-
नाति थियो डोर्याउने, सानो झोला पोको
अक्षेता र अबीर यो लगाउने धोको,
त्यत्तिकैमा हूलबाट, पोको खोस्यो तानी
'बाबू किन लग्यो तेल्ले? मैले बिराँए कि?'
'हैन आमा मान्छे हैन, बाँदर हो त्यो'- देख्छु,
सँस्कारको, धर्म, नीति जान्दैन त्यो पशु
लुटेर वा पिटेर नै, मन्दिरमा बस्छ-
सज्जन र भक्तलाई रातदिन डर छ!
मेरा हात देख्छन् सीप देख्न पाउँन्न म
कस्ले लान्छ पैसा तिरि हेर्न पाउँन्न म
ईश्वरले दिएको छ कला कालीगढी
एकदिन त दर्शन् देला, मर्छु यसैगरी
जती कर्म गरुँ यहाँ तिम्रै लागि पूगोस्
बाँकी जती समय छ सेवा निम्ती बितोस्
'मेरो मन बिचारले सँसारलाई हेर्छु'
'कस्ता होलान् ईश्वर ती आफैं चित्र केर्छु '
आँखा खोस्यो, बुद्धि दियो, निधारमा लेख्यो,
मैले देख्न सकिन त, के भो? उसले देख्यो !
दाँज्दिन म कोहि सँग, आफ्नो दर्द ब्यथा
दुखी-गरीबीका मीठा, भिन्दाभिन्दै कथा,
धनी भन्नु के नै र छ? मन-खुसियाली
लोभ, मोह हट्यो, सुखी-बन, रीस फाली!
लट्ठी मेरो सहारा छ, माग्नु पर्दैन तै,
ईष्ट-मित्र, ईश्वर छन्,चल्छ बिश्वाश मै-
आँखा भाका अन्धा भन्दा, यस्तै निको,जाति
आफ्नै नीति नियम छन्, आफ्नै दिउँसो राती!
मन्दिर छ घर मेरो, मन मन्दिरमा
श री र यो रहिरहोस्, ईश भजन मा
कालै कालो बर्तमान,ज्योति भविस्यमा
क्षमा गरी देउ प्रभु,गल्ति अन्जानमा
लाटो कानो सुन्दिन क्यै,बोल्ने बुद्धी छैन
शरीर यो चित्तबृत्ती म त्यो हुँदै हैन!
सुर्य चन्द्र छैन त्यहाँ बिजुली न आगो
प्राण बाटै माला बुन्छु सानो छ यो धागो
तिम्रो कृपा भयो केही अ-संभव हैन
आत्मा बनी भित्र बस म क्यै माग्ने छैन
'लोड सेडिङ्' भन्छ देश,गयो आधा दिन
झन् झन् तल भासिँदैछ गरीबीको ॠण
फलफूल, पानी, दुध, पुजारीले मागे -
‘भगवानले त देख्नु भो नि’, सबै ईक्षा भागे !
-अनन्तगोपाल रिसाल ३/१३/२०१३