Thursday 14 July 2011

सत्य-स्वरुप् चिन्तनको निमन्त्रणा छ है


निम्तो आयो बोलाउँदैमा, जानै पर्ने के छ?
राखेका ती परिकार, खानै पर्ने जे छ?
नबोलाए, ब्यर्थ चिन्ता? किन बोलाएनन्?
गाडी छैन भने जस्तो, छ्या! लिन आएनन्!

दिनै रात साँझ बिहान् चाड तीर्थ-आदि
मामा छोरा भान्जा फूपु गाउँले संस्थादि!
हिजै निम्तो मान्दा हरे! कहाँ पुग्यौँ आज
के के खायौँ,बोल्यौँ कुरा भैसकेछ साँझ!

बालकको जीवनी झैँ जवानीमा उर्जा
ब्रिद्ध बन्दा रोग ईछ्या सुस्त अँग पूर्जा
यौटै दिन सत्य त्रेता द्वापर् कली हुन्छ
बिहानको शान्त सुद्ध दिन रात छुन्छ
मन्त्र फरक् हुनु हुन्न अर्थ बुझ्नु पर्छ 
धर्म परिभाषा गर्नु सुन्नु बुझ्नु पर्छ

हेर्दै हेर्दा दिन बिते,रात बिते चक्र
शरीर-थ्यो सीधा,साधा उमेरले बक्र
धेरै टाढा पुगी सक्यौँ, जाउँ गाँउ फर्कुँ 
ढिलो भयो चाँडै गरौँ, कसलाई पर्खुँ?  

आजभोलि किन किन गाउँले बोलाएछ
बोल्ने मुख कान आखाँ त्यसै टोलाएछ
प्रवाशियो जिन्दगी यो,खै कैले आउँछु?
एकान्तमा संझी संझी आशुँ बहाउँछु! 

बुढेस्काल संझनाले ठाउँ छाडिसके
मुटु दुख्छ?आफन्तले छाडे?बिर्सिसके?
आफ्नै बाटो लागेँ किन बगैँ खोलै खोला
आमा मेरी कस्ती होलिन् निद्रालाग्छ होला!

फर्की जाउँ माया लाग्छ सपनाको बारी
टाढा रात भैसकेछ समून्द्रको पारी
आकाशका परी आउ,लग मेरो मन
डाँफे मुनाल् गाई चौरी नेपालको बन

ईश्वरनै गुरु हाम्रा गुरु ईश एक 
'चैतन्य छ शान्त प्रिय,आफू जस्तै देख'
परमात्मा छुट्टियेर भिन्दा भिन्दै आत्मा 
लुकिछिपी बसेका छन्,छन् है हाम्रै साथ्मा   

विवेकी र शिक्षित भै सोध खोज गरौँ 
प्रज्ञा प्रवोधमा उठी समाजमा सरौँ 
संसारको जात्रा हो यो यात्री साथी छ क्वै?  
सत्य-स्वरुप् चिन्तनको निमन्त्रणा छ है

-अनन्तगोपाल रिसाल [गुरुपूर्णिमा,14th July 2011] 

No comments:

Post a Comment