Thursday 15 December 2016

गोपी विरह गीत

गोपी विरह गीत



लगन हे प्रभू ज्ञान भक्तिमा 
स्वरूप बिर्सँदा चिन्तना मा 
जलन, शान्तिको साधना गरेँ
कति कुरौँ विभो पाऊमा परेँ
 १।
विविध चित्त यो फूत्त चर्दछ
अबुझ दृढता माद भर्दछ
सबल शक्तिका छौ सुदर्शन 
निमिष देउ है कृष्ण दर्शन
 २।
अनिद संझना प्रेममा पर्यौँ
विकट रातमा लाज ली झर्यौँ
मिलन योगको प्यासले गली
अकल गुम् भयो कृष्ण छौ छली
 ३।
परम जन्मले व्रज लौ स्तुत्य भो 
विरह गानमा जननी स्तव्ध भो 
शरणमा पर्यौँ गोप संगीनी
मन हराऊँदै खोज्दछौँ तिमी !
 ४।
विगुल गानले पूर्णता भर्यो 
मृदुल मोहिनी दिव्यता छर्यो
नयन सुन्दरी स्वर्ग झैं सजे
श्रवण तृप्त भै बाँसुरी बजे ! 
 ५।
शहर छोडदै जंगलै पनि 
गहन शोकमा व्याकुलै बनी
सघन साधना प्राणमा भरूँ
मदन ईशको दर्शनै गरूँ
 ६।
हृदय दास छौँ शून्य मोलका
शरद चाँदनी पूर्ण नेत्रमा
कतल गर्दछौ तीर ओजले
सरल भावको प्रेम क्षेत्रमा !
 ७।
पुरुष हे तिमी शत्रु मर्दन
अडिक धर्ममा शुक्ष्म दर्शन
सफल मित्रता इन्द्र व्योमका
अमर ज्योति हौ सौर्य सोमका
 ८।
परम हा ! सखा विश्वरूप छौ
शितलता सदा प्रेम कूप हौ
सुमन भावको पुष्प मंजरी
हृदय कुन्जमा बल्छ झल्झली !
 ९।
अभय चाहना जन्म-मृत्युको
शरण द्यौ प्रभू नित्य भक्तको 
यदु सु-वंशमा छौ शिरोमणी
चरण रोज्दछौँ कृष्ण हर्घडी 
 १०।
प्रहर रातमा शान्त अंवर
कमल हे सखा श्याम सुंदर
भनन हे प्रिऐ दृश्य लोकमा 
झलक दी गयौ लुक्दछौ कहाँ
 ११।
मिलन भावमा आतुरै बनी
चरण द्यौ प्रभो राख्दछौँ पनि
निडर भै सदा भझ्दछौँ भु-मा
हृदय तालमा स्वच्छ सम्झना
 १२।
नयन दिव्यता दृष्टि व्यापक
सबल गर्दछौ न्याय स्थापक
अमृत छन् घडा शास्त्र ज्ञानमा
मधुर जीवनी देउ दानमा
 १३।
श्रवण मात्रले शुद्ध गर्दछौ
शरणमा विभो पूर्ण भर्दछौ
परम शान्तिमा, छैन दोष के?
विरह गानमा शंखघोस रे !
 १४।
लुकिछिपी अझै प्रेम गर्दछौ
हृदयमा मिठो स्वाद भर्दछौ
लहर शोख आनन्दमा परी 
प्रकृति प्यारले झर्दछिन् झरी 
 १५।
सुमन हर्षले फूल्दछौ तिमी
कमल स्पर्ष झैँ कोमलै पनि
मकन साथ ली दुष्टता हटोस्
मखन पाऊको दर्शनै मिलोस्
 १६।
मिलन साँझमा पूर्णिमा सरी
कनक माथमा झल्लरी झरी
गगन मुग्ध छन् दृष्टिमा परी
ललित ल्याइद्यौ सृष्टि-माधुरी 
 १७।
शरणमा छू दुख्ख नासिद्यौ
समय साथ ली काल मासिद्यौ
उचित के गरे मुक्ति मिल्दछ
गरन हे प्रभू भक्ति खुल्दछ ! 
 १८।
रस बढाऊँदै प्रेम सागर
असल संग, श्रद्धा आदर
मन मनोहरी बज्छ बांसुरी
मधुर गीत संगीत माधुरी
 १९।
समय जान्छ काँ साँझ फर्कियौ 
युग युगौँ सरी शून्य छर्कियौ
पल कता गयो कष्ट झेल्दछौँ
मन विवेकमा मस्त खेल्दछौँ
२०।
परम वेदना त्याग वास्तव
पति पिता सखी बन्धु बान्धव
मधुर गानको मोहमा परी
कपटि कृष्ण हे नाटकै गरी
 २१।
मिलन भाव ती गर्दथ्यौ पुरा
सपथ बिर्सियौ खै मिठा कुरा?
कति हसाऊँथ्यौ चोटमा पर्यौँ
शितल थ्यौ तिमी निर्दयी बन्यौ
 २२।
बन बनै कुदी मस्तमा थिएँ
मन मनै कतै को हुँ बिर्सिएँ
जगत नाश निर्मूल गर्दिनु
हृदय रोगको औषधी दिनु
 २३।
अकल छोडदै शोकमा डुबेँ
पथिक प्यार को खोजमा हिडेँ
चरण माथमा राख्छु अंग
नरम छन् सफा पाद पंकज
२४।
मद देऊ है मोक्ष मिल्दछ
नजिक रीसमा काम क्रोध
पवन लग्दछौ के विकार यो ?
सफल चित्तमा सत्यसार जो !
२५।
परम मार्गमा योग्यता भरी
जगत बिर्सिएँ मोहमा परी
सरल जीवनी रातमा झरी
लग साथमा कृष्ण निर्दयी
२६।
परम धामको कल्पना गरें
चरण-योगको मोहमा परें
लगन मार्गमा गर्छु अर्पण
जलन भो गरूँ श्याम दर्शन
२७।
हृदयकुन्जमा छिप्दछौ रमी
शिव बुद्धमा लुक्दछौ तिमी
प्रलय स्वप्नमा लूप्त बन्द छौ 
अपर भावले दृष्य बन्दछौ !
२८।
शरद पूर्णिमा वृक्षमा लुकी
मधुर शब्दको सूर मालिनी

मिलन धून-वंशी मिठासले
गगन देवता मूर्छितै बने !
२९।
अचल भो नदी जीव झैँ अडे
वट वृक्ष ती जंगली चले
विषय शून्य भो बन्द आसुरी
चित सत्य आनन्द बाँसुरी !
३०।

III SIS SIS IS
नगर गौ सबै मस्त ली झुमे
प्रकृति हर्षमा व्योमले चुमे
झलल ज्योतिको साथ चन्द्रमा 
सगुण व्यक्त-आकार नन्दमा ! 
३१।
परम दिव्य आल्हाद भावना
चरण पूज्य लक्ष्मी, चाहना
पुरूष देवको दृष्टि सुन्दर 
भन अलौकिकै रूप कुन्छ ?
३२।


No comments:

Post a Comment