आफ्नै मान्छे र बनस्पती!
हाम्रा आफ्नै बाजे बन्धु दिदी प्यारी सीता
जनककी छोरी बनी आयौ देश यता |
बुद्ध जन्मे शान्ति दिन विश्वलाई मति
शिव-हाम्रा ज्वाईँ नारान् पार्वतीकी पति!
हामी हाम्रै पन्मा अब रमाउन सक्ने
समानता सिकाउने,छ है आँखा देख्ने!
गरीवको सुख-धर्म,सेवा गरी रम्छ!
तराई र पहाडमा,हिमालमा जम्छ!
राम जस्ता दिग्विजयी हाम्रै चेली ज्वाईँ
अरनिको कला-निधी शक्ति-पीठ माई!
कवि,योगी महात्मा छन्,छिटो आरोहण
जडिबुटी सँजिवनी,खोज कोण कोण!
मंगलाचरण
सावित्री भवकी विधान सबकी,संसारकी रक्षिका
गायत्री अजपा महान सबकी श्री संपती दिक्षिका!
लक्ष्मी प्राण मिली निधान गर लौ,तिम्रै दया रोज्दछु
माता देउ सरस्वती सरलता बाटो नयाँ खोज्दछु!
नारी रत्न सधैँ रहे अधरमा देवी महा भावना
शिक्षा सज्जनता दिलाउ जनमा अंबे उमा अर्चना!
आत्मीय नाता
वाचा यौटा अबिरल सदा धर्तीमा देख्न पाउँ
साझा नाता अमर गहना सोखले त्यो लगाउँ !
मोती पन्ना कति छ घरमा?खर्चिए ती सकिन्छन्
ज्यूँदो माया अजर धन यी,प्रेमका मोल हुन्नन्!
जैविक जीवन
नबाँध बाँधले धर्ती मन बाँध समाजको
प्रकृति स्वच्छता राख,धन-साँच सुधारको!
बिजुली शक्ति बाहान घरका यी सुहाग हुन्
प्रेम छैन भने व्यर्थ विकास अन्धकार हुन्!
सम-योजन
समता ममता अब योजनले
नव जीवनमा सहयोग गरे!
मन शान्त गरी शहरी नगरी
सत-संगतले बन-भोज गरी!
जनता मिल हे!धन-द्वार छ यो
जब एक सरोबरि-फुल्दछ जो!
जन्मियौँ हिमशिला बन-पाखा
संझना झन मीठा जन-भाका!
बित्दछन् समय संग जवानी
फर्क हे!नव युवा मन-मानी!
संसारी भोग
सँसारको भोग सधैँ रहन्न
संसार यो भोग,सधैँ रहन्न!
संसार यो छैन,रहेछ भोग
संसार यो छैन-रहे नभोग!
संसार माया सब छोड्नु पर्छ!
संसार यो आस निखर्नु पर्छ!
यन्त्र मानव हौँ भगवानका
शरिर साथका अजर दासता
जनमानसमा असमान नसा
अमर भावमा अपर योजना!
एकता भाव
स्थल संगम धेर जातका
रमणीय स्वभाव साथका
स्फूरण भावमा उदारता
अविवर्तमा र छ सारता
दिल स्वच्छ अहा! समभावमा
प्रखर ज्ञान विशाल प्रभावमा!
मुलुक देखिन गो मिलिकमा
संझना कति मीठा विलिनमा!
समाधान गरेका छौ विधान सबमा मिली
सत्यता जगका एक,अखण्ड योग भावली!
उपासना छ साथमा,समस्त जीवको उही
दिएर एक स्वर्णता,समान आत्ममा रही!
देश-शान्त-नगरी कन के छ?
सूर्य-चन्द्र सबको छ नछेक!
प्रेमले बन दयालु महान
त्याग आदर मिलेर समान!
दैवी-संबंध
नाता यो भवरोग हो नसकिने,त्यागौँ विवेकी बनी
तानातान गरी बिते अब जूनी,धिक्कारको जीवनी!
लागौँ मार्ग सफा नयाँ सफरको चिन्दिन है क्वै पनि
योटै ध्येय रहोस् असार भवमा छोडेर जानु छ नि!
मित्रै हो तर भित्रको अझ बुझे रोजेर तादात्मता
झर्ना-झैँ-झर शोखले हरघडी मिल्ने छ एकात्मता!
श्रद्धाको धन-संपती मिलनमा स्वादै छ मीठो,कला
मिल्दैनन् अनमोल छन् भन कति?आत्मीय यो एकता!
गैर-विदेशी जीवन
आयौँ वर्ष बित्यो विशाल नगरी,आफ्ना पना बिर्सियौँ
आस्था छैन,चटक्क विस्मृत बनी अस्तित्व खै?तर्सियौँ!
विद्या आर्जन गर्नुथ्यो सब गर्यौँ, जागीर भो मस्तको
ईच्छ्या पूर्ण भए?अझै रहिरहे? विस्थापना विश्वको !
प्रेमी छन् जगमा,अनेक रङ्गमा लूकेर लुकिन्न जो
माया-सुमितका अखण्ड रहने,छोपेर छोपिन्न त्यो!
राजी भैकन घुम्दछन् 'वर-बधु' यै सृष्टिको माझमा
वर्षोँ वर्ष बिते समान मनले,आजै-सरी साथमा!
सीधा सज्जन साथमा मिलिजुली रोपौँ नयाँ सिर्जना
व्यूझौँ सीप संगाली विश्व बिचमा स्वर्गीय संभावना!
आफ्ना वान्धव-वन्धु छैन अब क्यै?गुठी,पूजा गोठमा?
फर्कौँ नक्कल जीवनी कति जिवौँ? डाँडा र काँडा घना!
ढुँगा छन् अझ खोँचका वरिपरि सौगात यो मिल्दछ
आस्थाका घर-मन्दिरै सजनका मुस्कानले खुल्दछ!
ईच्छ्या के छ?पस्यौ,लूट्यौ शिखरमा बे-देश भण्डार रे!
लोभी छौ? जन हे! नजाउ घरमा फर्केर पाँईन्छ के?
खोक्रा छन् बन जंगलै सब गए,आगो पस्यो भीरमा
गोर्खाली सब भाग है?झिटिमिटी-संहाल क्यै साथमा
फर्कन्छौ?अब छैन है सफर यो टाढा भयौ सोध्छ क्वै?
सामन्ती सरकारले सब लूट्यो-फर्केर पाईन्न क्यै!
यस्तो सोच गरी सफा हृदयको संयोजना सिर्जनु
भोका छन् दुनियाँ,गरीब बिचरा शिक्षा नयाँ भर्दिनु
दासी बन्न पुग्यो,उठौँ निडर भै-पर्खेर पाइँन्छ के?
पाईँनन् सुख ती विदेश घरमा, फर्केर पाईन्छ जे!
रोकौँ भीँड भयो अहो!नसकिने बैरागको गर्जना
फर्कौँ सभ्य समाज हे!नमिटिने खै त्यो नेपाली पना?
- अनन्तगोपाल रिसाल [09/29/1999]
Wednesday, 29 September 1999
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment