Tuesday, 17 March 2015

पुष्पक विमान यात्रा संस्मरण: मित्र प्रतिको सम्मान, स्वागत र सम्वाद



पुष्पक विमान यात्रा संस्मरण: मित्र प्रतिको सम्मान, स्वागत र सम्वाद  


(
रावण र तिनका सेनालाई मारेर श्रीराम परिवार सहित अयोध्या फर्किनु हुन्छ! प्रविधिले सम्बृद्ध लंकामा प्राविधिक प्रचूरता त्यति बेला नै भैसकेको र त्यसको सम्मान र स्वागत गर्नका लागि त्यहींको आविष्कार पुष्पक विमान चढेर अयोध्या फर्किएको प्रसँग रामायणमा छ! सीतामाताका पुनर्मिलन प्राप्तिका हेतु श्रीरामका लागि समस्त प्राणीद्वारा बनाइएको पुल (सेतु) देखाउंदै आकाश मार्गबाट फर्किंदा भगवान श्रीरामले सीतामातालाई आफ्ना को को सहयोगी थिए भन्ने वयान कसरी गर्नु भयो त?)
पुष्पक विमान यात्रा संस्मरण : मित्र प्रतिको सम्मान, स्वागत र सम्वाद 

विभिषण -
राम, प्रेम रसिलो, दिल-प्यासी
सूर्य अस्त नहुने रघु दासी
कीन भो? नगरमा अलमस्त?
हे प्रभो उडि नबिर्सनु व्यस्त
भक्ति बाँड प्रभु है मन मस्त
राख ईश अभिमान समस्त 
राख देव, छ विमान छ मस्त
दाश हूँ चरणको सब लेऊ
पूष्प यो शरण, आशिष देऊ ||

राम-
वीर-आभुषणका सह प्यारा  
आत्म हे भर परें जन नारा
पर्खंदै भरत राजन कुर्छन्
राज्यमा अडिक भै पथ हेर्छन्    

युद्ध मात्र न कि योग्य-लडाका 
प्रेम आदर गरी बन प्यारा
न्याय-राज्य मिलने सब भोलि
व्यवधान नबनी मन खोली

दानवीर बन योग्य प्रजाका
पुज्दछन् नगर मस्त ध्वजाका
राक्षसै अब बनुन् प्रिय प्यारा
सभ्यता असल द्वीप छ नारा 
छैन है कुटिलता अब शंका
उच्च छन् सहजता नव लंका ||

काम भो अब पुरा म त जान्छु
सम्झना, मिलन भो अब लान्छु
वाह्र वर्ष बिति गो बनमा ता
राष्ट्र हेरुँ, ममता, तिन-माता ||

साधुकै सरल भूषण लाई
त्यागमै विलिन सात्विक खाई
पास गै भरत मिल्न म पाउँ  
साथमा मिलि गला म लगाउँ

जान देऊ उडनै मन मेरो
रत्ति भर् पनि अबेर यो भो,        
कैकयी हृदयमा छ सुमित्रा
मातृभाव, न छ चैन- चित्त ||

[पुष्पक विमान उडेर माथि पुगे पछि श्री रामचन्द्र भगवान सीतामातालाई सम्बोधन गर्दै भन्नुहुन्छ]

जानकी सुन कथा, शुभ-प्रीथा
प्राण, भारत छ सुन्दर, सीता
साथछन् नि धरती जग भर्ने,
खै वयान म कसोगरि गर्ने?
राजयोग गरने सुख त्याग्यौ
चन्द्र झैँ परि तिमी दुख पायौ ||

ती चरा र पुतली सब आए
पूल बान्न सहयोग गराए
एक एक गरिँदै तह राखी
बालु-काठ सजिलै, बल काफी||

गिद्द, बाज, चिल, सोखले चढी
प्वाँखमा पवन, झीर ली उडी
हर्षले चमक भै फूल फ्याँके,
मस्त गोमनले जल ढाके ।।

हे जटायु मनका प्रिय साझा
जान्ववान् निडर सूग्रिव राजा,
लोकका अझ कती जन प्राणी,
योजना नल गरे पुल-तानी ||

रामसेतु बनदै गति गङ्गा,
सागरै पनि उठाएर लंका
योग्य छन् प्रिय विभीषण साथी,
भक्त हे हनुमते शिर माथी ||

राखिद्यौ अनुजको नव प्राण,
जन्तु छन् सबल त्याग प्रणाम
जङ्गली पशु मिलेर बथान,
प्राकृतिक् सहज बन्दछ यान ||

पुष्पका लहर लाम पताका
सम्झने कतिकुरा बनगाथा
खोजदै कति रुनू मन थाके
कीट, खोज गरनै पनि लागे
रात चिन्तन सहोदर जागे
सोचमा प्रहर कैं निँद भागे ||

मित्रका जति कुरा गर भूमा
हुन्न पूर्ण, कठिनै न त भन्न
जान हेर सबले बुझ ऋण
प्राण ती दिन तयार छ कीन?

लूट,पीट असहाय छ नारी,
मुक्त छौ, डर? अशोक छ बारी
आर्य धर्म सहयोग गराई,
जो जती निडर साथ पुर्याई
युद्धले धरम राखनु नाता,
हे सिते, विवश यो म छु, माता ||

भालु बाँदर सखा बन यात्रा
स्वागतै कति गरे, सुन माता
अन्न योग्य फलफूल अघाए
दुख्ख लेर मनमा सब आए

विश्वकर्मि र छ, पर्वत सीप  
हेर क्या ! स-जल सुन्दर द्वीप
योजना, धन कुबेर छ लंका
लूट-दूर्जन गरे, तर शङ्का ।।

त्यागदै घर-विहार दयालु
धर्म ली जन बनेर कृपालु
ईश्वरै शिव-अहा सहयोगी
चित्त यो कति खुसी प्रिय पाई !

धैर्यता, सहनशील छ, पर्खी
सत्यमा खुस बनेर नअल्झी
धर्म भक्ति दम योग्य तपश्वी
ज्ञानको उदय हुन्छ अवश्यै ||

अग्नि-कूण्ड पथमा, बन डढ्छन्,
ज्ञान योग सुखमा जन चढ्छन्
फर्कि जाउँ शुभ राज्य अयोध्या,
धन्यवाद गरदै सब योद्धा ||

सम्झदैं दशरथी गुण दासी
सूर्यवंशज पितामह त्यागी
मातृ-भूमि छ, विदेह छ राज
हे सीते ! कति खुशी छु म आज 


हंस-यो छ गति लोचन पूर्ण
आतुरै किन छ यो मन पुग्न?
स्वर्ग छैन बरु चाह विलासी     
अङ्कमाल गरने प्रिय प्यासी

आइगो, भरतको अब याद     
सम्झना, मिलन हट्छ विषाद
जिन्दगीभर कुरी कन आज
मिल्दछू प्रिय सखे तन साँझ ||

पुग्नु पर्छ रघुवंश छ मान्य
आज साँझ मिलने अब धन्य 
गर्नपाइ रहुँ दर्शन माता 
हे,कठोर किन बन्छ विधाता?

सीता-
तामसी मन भए जग डर्छन्
जङ्गलीहरु सबै अब तर्छन्,
स्त्री, सती, सरल सुन्दर धर्म,
देख्न काँहि नपरोस् दुख कर्म||

हा ! म पो रहछु भाग्य विधाता
प्राण यो स्वजन दिव्य छ नाता
कामना नरकद्वार छ साथ्मा ?
लोभ क्रोध नगरे - परमात्मा ||

आत्मदाह सजिलै नहुनेको
रामकै जप गरी बितने भो
राक्षसै थिइ उ ता तर के भो?
त्रीजटा प्रिय थिइन्, बुझने जो
रामनाम सजिलो, भज थेगो
जीवनी सहज भो जपनेको
साधना कमल झैँ जब फूल्छ,
सोचले अमरता तब मिल्छ ||

राम नाम भव सागर तर्दै,
पाप-मोक्ष, छ उजागर गर्दै
ज्ञानका नगरमा बस छानी,
राम नै छ सबको शुभ नामी||

रामकै चरणमा भव-सिन्धु
रामकै शरणमा मन दिन्छु
सम्झिएं, समय मिल्छ, चरित्र
भक्ति, पूर्ण अब होस्, प्रभु ! भित्र!
- अनन्तगोपाल रिसाल [स्वागता छन्द - र न भ गु गु, ७ मा यति ]
reference: http://www.valmikiramayan.net/utf8/yuddha/sarga121/yuddha_121_frame.htm