Sunday, 26 May 1985

आखीर श्रीकृष्ण रहेछ एक!

आखीर श्रीकृष्ण रहेछ एक!

ती रुप् हुँदामा कतिको ॠँगार
छ शक्ति तिम्रा?कतिको पुकार!
निस्तेज सारा सब बिर्सिँदैछु
करोड गोता अब सिर्जिदैँछु!

यो बैँस मैले सुखमा बिताएँ
गला हुँदामा कति राग गाँए!
धेरै कुदँ लौ खदिँला ती चित्र,
ठिटो छँदामा,गरियो बिचित्र!

मन्मा थिए चित्त-इक्षा दबेका
अथाह पूरा गर तम्सिएका!
लाउँ र खाउँ जड-जोडदामा
स्वभाव मेरो रहँदा जगत्मा!

खेल्ने र कुद्ने अति चाख लिन्थेँ
कुरै कुरामा पनि साथ दिन्थेँ!
कैले म घुम्थेँ कति बीर,बोक्थेँ
दरो छँदामा कति भीर चड्थेँ !

स्वार्थी बनी घर् न त काम छुन्थेँ,
दुखीहरुको दुखमा न रुन्थेँ?
गर्थेँ बरा तर्क-वितर्क-वाद
गरीवको साथ दिँदा छ याद?

दुखे कतै मन्,कति धन् लुकाएँ
निडर् छु भन्दै कति झुट् भनाएँ!
जुक्ती छँदा जादु-कला दिखाँए
छ जोस स्फुर्ति कति सुर्ती खाएँ !

हुन्थे सबै धर्म,म पाप गर्थेँ
बिनास दण्डै, सब पाप टर्थे!
धेरै बनाएँ घर खूब धाइ
पापै कमाएँ,कति जन्म आई!

बूढो ल दारी अब ता फुलेछन्
ति पाप सारा जनले भुलेछन्!
सक्दिँन भुल्नै म बरु,कहाँ छु?
आँशु बगाई कति रात रून्छु|

आयो गयो रोग म हड्बडाँए
मुटू छ काँप्दा,अब छट्पटाएँ!
सँझे मनैमा जब पीर पर्दा
'अत्यन्त गाह्रो-ल हुनेछ मर्दा'!

पालो छ आयो-अब बल्ल बुझ्छु
बितेछ सम्झी घटना म उङँछु !
आजै,हिजो झैँ अब सक्ति छैन,
छ प्राण रोक्ने?अब जादु खैन?

आयो गयो होस निसास्सिँदामा
नशा र तन्तू सब खुँस्किदामा
लागेँ पहीले अघि आफु अन्त
हुँदा पछुतो, बनिएछ सन्त!

धोती समाएँ अरु सब् बिकार !
धुनी जगाँए त्यहि गाँउ मन्तिर!
नाता जती मान सबै गुमाएँ
आखीरमा भस्म खरानी लाएँ!

जोगी बनेको तर सार के भो?
'हे!सन्त-बाबा'-जगको सुनियो!
भोकै परेँ खै-न छ द्धार अर्को
उद्धार के भो? अब गर्छ कस्को?

बिग्रेर बुद्धी रहदाँ जगत्मा
फुलेछ दारी सहदाँ फगत्मा!
गीतै कराँए,कवि स्वर् सुनाएँ
गृहस्थ भन्दा अझ दुख्ख पाएँ!

ज्यादा थियो मान,सबै भरैमा
अझै बसी दान दिएँ घरैमा
खाएँ दु:खै पीर अमान मर्का
गए सबै ती गुरु,मित्र अर्का !

मेरो त भैगो अब यो दसा भो!
परेँ शरण्-मा अब ता ईसैको!
त्यागेँ भुलैले किन? गार्ह्य-जोवन्!
ठूलै महीमा रछ दिव्य-यौवन्!

सोच्नु बखत्मा अरु साधु सन्त
बनिन्न त्यागी घर-त्याग मात्र!
स्वप्नासरी व्युँझ, उठे जवान
रहन्छ आत्मा मनमा छ जान!

यो जीवनी होस् प्रण,ताज यस्तो
सधैँ,सबै-अर्पण आज जस्तो!
छ भक्ति भो?ज्ञान भयो विवेक?
आखीर श्री-कृष्ण रहेछ एक!

- अनन्तगोपाल रिसाल [2042/5/10]

इन्द्रवज्रा(ततजगुगु) र उपेन्द्रवज्रा(जतजगुगु) छन्दहरु मिलेर उपजाती बन्छ! कवि भन्नुहुन्छ-'यी कविता आफूले लेखेका पूराना मद्धे पर्दछन्| कर्म मात्र त्यागेको छ तर त्यसको वासना र फल त्यागेको छैन भने-बरु ढोँग बिनाको प्रब्रित्ति मार्गनै राम्रो हो! निब्रित्तमार्गी साधु-सन्तका सत्सँगतले दया, क्षमा, निर्लोभ, त्याग र समाज सेवा जस्ता मानवीय मूल्य; जीवनका विभिन्न मार्ग-दर्शन र मापदण्ड निर्धारण गर्न सहज र सरल बन्दछ! उहाँ भन्नुहुन्छ यो कबिता स्व. महाकवि लक्ष्मीप्रसाद देवकोटाका अन्तिम समयका शब्दहरुबाट प्रभावित भएका छन्!'